बैंक सञ्चालकमा पूर्वबैंकरको बाक्लो उपस्थिति, को कहाँ ?



काठमाडौं । गत पुस २६ गते सम्पन्न एनएमबि बैंकको वार्षिक साधारणसभाले मनोज गोयललाई अध्यक्ष चयन गर्‍यो । एनएमबि फाइनान्सको संस्थापक प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका गोयलपछि उक्त फाइनान्समै सञ्चालक पनि बने । त्यसपछि बैंक अफ काठमाण्डू र क्लिन इनर्जी डेभलपमेन्ट बैंकमा सीईओ भए ।

डेभलपमेन्ट बैंकर्स एशोसिएशनका अध्यक्षसमेत भइसकेका गोयल असल बैंकर मानिन्छन् ।

क्लिन इनर्जीबाट बाहिरिएपछि गोयल लामो समय बैंकिङ क्षेत्रबाट टाढै बसे । लामो समयपछि उनी बैंकिङ क्षेत्रमा फर्किएका छन् । तर, सीईओको रुपमा होइन, सञ्चालक समिति अध्यक्षको भूमिकामा । ३१ वर्षको उमेरमा तत्कालीन एनएमबि फाइनानसको सीईओ बनेका गोयल अहिले त्यही फाइनान्स स्तरोन्नति हुँदै बनेको एनएमबि बैंकको अध्यक्ष बनेका छन् ।

गोयल पछिल्लो उदाहरण मात्रै हुन् । बैंकको उच्च व्यवस्थापन छोडेर सञ्चालक समिति सदस्य तथा अध्यक्ष हुने बैंकर्सको संख्या बढ्दो छ । यो क्रम यसैगरी बढिरहे बैंकिङ तथा वित्तीय संस्थाहरुको सञ्चालक समितिमा प्रोफेशनल भएनन् भन्ने गुनासो आगामी वर्षहरुमा सुन्नुपर्ने छैन ।

हालैमात्र बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफीन)का अध्यक्ष बनेका उपेन्द्र पौडेल नबिल बैंकका अध्यक्ष मात्रै होइनन्, कहलिएका बैंकर पनि हुन् । पौडेल एनएमबि बैंकमा सीईओ रहँदा वाणिज्य बैंकका सीईओहरुको संस्था नेपाल बैंकर्स संघका अध्यक्ष पनि भएका थिए ।

एनएमबि बैंकमा सीईओको कार्यकाल सकिएपछि पौडेल २०७४ मंसिर १५ गते सञ्चालकका रुपमा नविल बैंक प्रवेश गरेका हुन्। उनी २०७७ असोज २० गतेदेखि नविल बैंकमा अध्यक्ष छन् । पौडेल नेपाल व्यवस्थापन संघ (म्यान) कासमेत अध्यक्ष हुन् । पौडेलसँग १६ वर्ष सीईओ भएर काम गरेको अनुभव छ ।

त्यस्तै, प्रभु बैंकका अध्यक्ष लिलाप्रकाश सिटौला पनि पूर्वसीईओ हुन् । नियामक नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकास पाएका सिटौलाले त्यसपछि कृषि विकास बैंकमा सीईओ भएर काम गरेका थिए । २०७७ चैत २३ गते सञ्चालक चयन भएका सिटौला २०७८ वैशाख ३ गतेदेखि प्रभु बैंकका अध्यक्ष छन् । सिटौला २०७१ मंसिरदेखि २०७५ मंसिरसम्म कृषि विकास बैंककमा सीईओको रुपमा कार्यरत थिए ।

सिटिजन्स बैंकका अध्यक्ष राजनसिंह भण्डारीले २०८० असोज २६ गतेदेखि बैंकको अध्यक्ष पद छाडे । सिटिजन्स बैंकको स्थापनाकालदेखि सीईओ रहेका भण्डारी अध्यक्ष बनेर काम गरे । भण्डारी नेपाल बैंकर्स संघका पूर्वअध्यक्षसमेत हुन् । अहिले उनी सामाजिक सुरक्षा कोषको सञ्चालक छन् ।

मुक्तिनाथ विकास बैंकमा २०६३ देखि २०७५ सालसम्म सीईओ भएर काम भरतराज ढकाल अहिले त्यही बैंकको अध्यक्ष छन् । ढकाल २०७६ मंसिर ३० गतेदेखि मुक्तिनाथ विकास बैंकको अध्यक्षका रुपमा कार्यरत छन् ।

बैंक बुझेका व्यक्ति वा व्यवस्थापनमा बसेर काम गरेका व्यक्ति सञ्चालक समितिमा पुग्दा उनीहरुले बनाउने नीति राम्रो हुने र त्यसले बैंकलाई प्रभावकारी रुपमा अघि बढाउन सजिलो हुन्छ ।

यस्तै सिभिल बैंकको सीईओ छाडेर बाहिरिएका किशोर महर्जन २०७४ चैत ११ गतेदेखि प्रोग्रेसिभ फाइनान्स कम्पनीको अध्यक्षका रुपमा कार्यरत छन् ।

कार्यकारी अध्यक्षका रुपमा व्यवस्थापन र सञ्चालक समिति दुबैको नेतृत्व गरेका तत्कालीन नेपाल इन्भेष्टमेन्ट बैंकको पृथ्बीबहादुर पाँडे पछि अध्यक्ष मात्रै भएर काम गरे । पाँडे अहिले पनि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अध्यक्षका रुपमा कार्यरत छन् । उनी राष्ट्र बैंकको निर्देशकबाट बाहिरिएर हिमालयन बैंकमा काम गर्न गएका थिए ।

तत्कालीन बैंक अफ काठमाण्डूमा प्रबन्ध निर्देशक (कार्यकारी प्रमुख) तथा कुमारी बैंकका पूर्वसीईओ रहेका राधेश पन्तपछि बैंक अफ काठमाण्डूमा सञ्चालक बने । बैंक अफ काठमाण्डू ग्लोबल आइएमई बैंकसँग मर्ज भएपछि पनि पन्त ग्लोबल आइएमईमा सञ्चालक छन्। पन्त लगानी बोर्डको सीईओ भएर पनि काम गरे । उनी बैंकर्स संघका पूर्वअध्यक्ष समेत हुन् ।

पन्तसहित बैंकका दुई र बीमा कम्पनीका एक पूर्वसीईओ अहिले पनि ग्लोबल आइएमई बैंकका सञ्चालक छन् । नेपाल बैंक र कृषि विकास बैंकका पूर्वसीईओ देवेन्द्रप्रताप शाह र प्रभु लाइफ इन्स्योरेन्सका पूर्वसीइओ नारायण पौडेल अहिले ग्लोबल आइएमईमा सञ्चालक छन् । पौडेल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकासप्राप्त कर्मचारी हुन् । शाहले कृषि विकास बैंकका सञ्चालक भएर पनि काम गरे ।

राष्ट्रिय वाणिज्य बैंकको सीईओ बनिसकेका कृष्णप्रसाद शर्मा ग्लोबल आइएमई बैंकका सञ्चालक बने । ग्लोबल आइएमई र नेपाल पूर्वाधार विकास बैंकका पूर्वसीईओ अनिल ज्ञवाली पछि सिटिजन्स बैंकमा सञ्चालक बने ।

तत्कालीन आईएफसी फाइनान्सका डीजीएम प्रतापजंग पाण्डे आईएफसी सिभिल बैंकमा मर्ज भएपछि सञ्चालकको भूमिकामा रहे । पछि उनी सिभिल बैंकको अध्यक्षसमेत भए । उनी अध्यक्ष रहँदा सिभिल हिमालयन बैंकमा मर्ज भयो र गत पुस २९ गते भएको हिमालयन बैंकको साधारणसभाबाट सञ्चालकमा निर्वाचित भए । १८ वर्ष बैंकिङमा जागिर गरेर आईएफसी फाइनान्सको उच्च व्यवस्थापनमा पुगेका पाण्डे पनि पूर्वबैंकर हुन् ।

पूर्वबैंकर अनलराज भट्टराई राष्ट्रिय वाणिज्य बैंकका सञ्चालक छन् । भट्टराई तत्कालीन कमर्ज एण्ड ट्रष्ट बैंकको सीईओ थिए।

तत्कालीन एस डेभलपमेन्ट बैंकका सीईओ सिद्धान्तराज पाण्डे अहिले स्टयान्डर्ड चार्टर्ड बैंकमा सञ्चालक छन् । पाण्डे विकास बैंकको सीईओ भए पनि डेभलपमेन्ट बैंकर्स एशोसिएसनमा नभई बैंकर्स संघको सदस्य थिए ।

तत्कालीन सुप्रिम डेभलपमेन्ट बैंकको सीईओ अम्बिका श्रेष्ठ अहिले महालक्ष्मी विकास बैंकमा सञ्चालक छिन् । उनी वित्तीय क्षेत्रकै पहिलो महिला सीईओ हुन् ।

तत्कालीन लुम्बीनी फाइनान्सका प्रबन्ध निर्देशक चिन्तामणि भट्टराई अहिले लुम्बीनी विकास बैंकका अध्यक्ष छन् । भिबोर विकास बैंक र लुम्बिनी फाइनान्स एन्ड लिजिङ कम्पनी मर्ज भएर लुम्बिनी विकास बैंक बनेसँगै भट्टराई सीईओसमेत भएका थिए । त्यसअघि उनी लुम्बिनी फाइनान्सका सीईओ थिए ।

ज्योति विकास बैंकका अध्यक्ष हरिशचन्द्र खड्का पनि पूर्वबैंकर हुन् ।

नेपाल एसबिआई बैंकका सञ्चालक भरतराज ओस्ती पनि पूर्वबैंकर हुन् । उनले एनआइडीसी क्यापिटल मार्केटमा सन् २०१३ देखि २०१७ सम्म सीईओ भएर काम गरे । ओस्तीसँग नेपाल बैंकको सञ्चालक र एनसीएम मर्चेन्ट बैंकिङ एन्ड फाइनान्समा अध्यक्ष भएर काम गरेको अनुभव छ ।

तत्कालीन एनसीसी बैंकको डेपुटी सीईओ बन्दना पाठक अहिले एनएमबि बैंकका सञ्चालकका रुपमा कार्यरत छिन् ।

हाल एभरेष्ट बैंकका सीईओ रहेका सुदेश खालिङसँग बैंक व्यवस्थापनको मात्रै नभएर सञ्चालक समितिमा समेत बसेर काम गरेको अनुभव पनि छ । लक्ष्मी बैंकको सीईओबाट बाहिरिएपछि खालिङ २०७६ मंसिरमा सिटिजन्स बैंकको सञ्चालक भएका थिए ।

बैंकका सीईओ बनिसकेकाहरु बैंकमा मात्रै सीमित छैनन् । बिमा कम्पनीको नेतृत्वमा समेत पुगेका छन् । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत भइसकेका उदयकृष्ण उपाध्याय पछि युनाइटेड इन्स्योरेन्सका अध्यक्ष बने । उनी नविल बैंकमा सञ्चालक पनि बनेका थिए ।

नेपाली वाणिज्य बैंकको पहिलो महिला सीईओ शिवा काफ्लेले मेगा बैंकको सञ्चालक भएर काम गरिन् । उनी राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाशप्राप्त कर्मचारी हुन् ।

पोखरा फाइनान्सका अध्यक्ष राजकुमार गुरुङले लामो समय सोही संस्थामा सीईओ भएर काम गरेका थिए ।

बैंकरहरु सञ्चालक बन्दा सीईओलाई काम गर्न सजिलो हुन्छ कि अफ्ठ्यारो ?

सञ्चालकहरुले बैंकलाई कसरी अघि बढाउने भनेर नीति बनाउँछन् । बैंक बुझेका व्यक्ति वा व्यवस्थापनमा बसेर काम गरेका व्यक्ति सञ्चालक समितिमा पुग्दा उनीहरुले बनाउने नीति राम्रो हुने र त्यसले बैंकलाई प्रभावकारी रुपमा अघि बढाउन सजिलो हुन्छ ।

बैंकमा सीईओ भएर काम गरिसकेका व्यक्ति अध्यक्ष तथा सञ्चालक हुनु बैंकिङ क्षेत्रका लागि निकै सकारात्मक विषय हुने बैंकर्स संघका पूर्वअध्यक्ष भुवन दहालको भनाइ छ ।

‘बैंकमा सीईओ भइसकेका व्यक्ति अध्यक्ष तथा सञ्चालक बन्दा केन्द्रीय बैंकको नीति नियम, ग्राहकको अपेक्षा, कर्मचारीको अपेक्षा तथा समस्या सबै थाहा पाएको हुने, बैंकका प्राविधिक पक्ष पनि थाहा हुने हुँदा बैंकलाई राम्रोसँग सञ्चालक गर्न सजिलो हुन्छ,’ दहाल भन्छन् ।

सीईओ भइसकेको व्यक्तिले बैंकबारे धेरै बुझेको हुँदा के गर्दा राम्रो हुन्छ भन्ने राम्रोसँग बुझ्दा कर्मचारीले अनावश्यक दबाब झेल्नु पर्दैन र कर्मचारीबाट राम्रो प्रतिफल पाउन सकिन्छ ।

कतिपय बैंकका अध्यक्ष तथा सञ्चालकले प्राविधिक विषय नुबुझ्दा कर्मचारीलाई काम गर्न समस्या हुने, बैंकको संस्थागत सुशासन कायम नहुने समस्या बढ्ने बैंकरहरु बताउँछन् ।

बैंकमा लाखौं निक्षेपकर्ताको पैसा हुन्छ भने लाखौं सर्वसाधारणको सेयर लगानी रहेको हुन्छ । त्यसलाई व्यवस्थितरुपमा परिचालन गर्न बैंक बुझेका अध्यक्ष तथा सञ्चालक हुँदा त्यसले सदैव सकारात्मक प्रभाव पार्ने बैंकर्सहरु बताउँछन् ।

बैंकिङ नबुझेका बैंकका सञ्चालक हुँदा सुशासनमा समस्या देखिएको भन्दै राष्ट्र बैंकले दशक अघिदेखि बैंकर र व्यवसायी छुट्याउने कोसिस गरिरहेको छ । यद्यपि, कानुनीरुपमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन गर्न भने सकिरहेको छैन । यो बहसकै क्रममा छ ।

तर, राष्ट्र बैंकको आशय बुझेकाहरुले बैंकको सञ्चालक समितिमा पूर्वबैंकर तथा प्रोफेशनलहरुलाई राख्न थालेका छन् ।जसकारण सञ्चालक समितिले राष्ट्र बैंकका नीति निर्देशन बुझ्ने र खराब बैंकिङ अभ्यास न्यूनीकरण हुँदै जाने विश्वास गरिएको छ।

तर, बैंकको अध्यक्ष तथा सञ्चालकमा पूर्वसीईओ वा व्यवस्थापनमा बसेका व्यक्ति जाँदा ‘इगो’ को समस्या देखियो भने त्यसले समस्या सिर्जना हुनेतर्फ सचेत हुनेपर्ने पूर्वबैंकर दहाल बताउँछन् ।

‘पूर्वसीईओहरु नै बैंकको अध्यक्ष भएर आउँदा अध्यक्ष र सीईओबीच इगोको समस्या हुनु भएन,’ उनी भन्छन्, ‘कुनै बेला सीईओले अध्यक्ष वा सञ्चालक पनि पहिलाको सीईओ नै त हो नि भनेर इगो लिएको खण्डमा त्यसले समस्या सिर्जना गर्छ । यो हुने सम्भावना पनि हुन्छ । यस्तो अवस्थामा इगो लिएर बस्नुभन्दा मिलेर काम गर्न सकेको खण्डमा त्यसले नतिजा राम्रो दिन्छ ।’

नेपालमा सबैभन्दा बढी प्रोफेशनल क्षेत्रका रुपमा स्थापित बैंकिङ स्थापित छ । अझ पूर्वबैंकरहरु नै सञ्चालक समितिमा आएपछि बैंकिङ क्षेत्र थप प्रोफेशनल हुने सरोकारवालाहरुको विश्वास छ ।


सोभित थपलिया