पुसमा घरजग्गा कारोबार केही बढ्यो, व्यवसायी भन्छन्-अपेक्षाअनुसार भएन



काठमाडौं । सरकारले विभिन्न चरणमा घरजग्गा कारोबारमा लचक नीति अपनाए पनि सुधार हुन सकेको छैन । घरजग्गा कारोबारलाई सहज बनाउन त्यसअनुरुपको नीति अपनाउने भन्दै खुकुलो व्यवस्था गरे पनि कारोबार धेरै बढ्न नसकेको तथ्यांकले देखाउँछ ।

घरजग्गा कारोबारमा कित्ताकाटका कारण समस्या देखिएको भन्दै सरकारले गत साउनमा कित्ताकाट फुकुवा गर्दै सहज बनाएको थियो । त्यस्तै, घरजग्गा कारोबारलाई सहज बनाउन नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् कर्जाको सीमा बढाएको थियो । राष्ट्र बैंकले १ करोड ५० लाख रुपैयाँसम्म पाउने कर्जाको सीमा बढाएर २ करोड पुर्‍याएको थियो ।

साथै, राष्ट्र बैंकले पहिलो त्रैमासिकको मौद्रिक नीति समीक्षा गर्दै रियल स्टेट कर्जाको जोखिम भार घटाएको छ भने आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात बढाएर ६० प्रतिशत बनाएको छ । उक्त व्यवस्थाले केही कारोबारमा सहज हुने व्यवसायीहरु अपेक्षा गरे पनि सुधार हुन नसकेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाउँछ ।

विभागको तथ्यांकअनुसार गत मंसिरको तुलनामा पुसमा जग्गाको कारोबारमा केही सुधार आएको देखिन्छ । तर, व्यवसायीहरुको अपेक्षा गरेअनुसार भने हुन सकेको छैन ।

विभागको तथ्यांकअनुसार गत साउनमा ३९ हजार २६३ वटा घरजग्गा किनबेच भएको थियो । त्यसैगरी, भदौमा ३५ हजार ६८६ वटा, असोजमा ४७ हजार ३९८ वटा घरजग्गा किनबेच भएको थियो । साथै, कात्तिक महिनामा दसैं तिहारको माहोलले सरकारी कार्यालयहरु बन्द हुँदा २६ हजार मात्रै घरजग्गा किनबेच भएको थियो । मंसिर महिनामा ४१ हजार ८५१ वटा घरजग्गा किनबेच भएको थियो ।

मंसिरको तुलनामा पुस महिनामा साढे ३ हजार बढी घरजग्गा किनबेच भएको छ । पुस महिनामा ४५ हजार २७७ वटा घरजग्गा किनबेच भएको छ । जुन मंसिरको तुलनामा ३ हजार ४२६ बढी हो । पुस महिनामा ४५ हजार घरजग्गा किनबेच हुँदा ३५ हजार ४३५ वटा रोक्का र २५ हजार ७४९ वटा फुकुवा भएका छन् ।

पुस महिनामा सबैभन्दा बढी इनरुवा मालपोत कार्यालयबाट १९ सय ३७ वटा घरजग्गा किनबेच भएका छन् । त्यस्तै, भद्रपुर झापाबाट १७ हजार ४३ वटा, बेलबारी १६ सय ५० वट, धनु्षा जनकपुरधामबाट १५ सय २०, राजविराज सप्तरीबाट १२ सय ६० वटा घरजग्गा किनबेच भएको छ ।

नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले व्यवसायीहरुले अपेक्षा गरेकाअनुसारको कारोबार बढ्न नसकेको बताए । दसैं र तिहारपछि घरजग्गाको कारोबार बढ्ने अनुमान आफूहरुले गरे पनि त्यसअनुसार नभएको उनी बताउँछन् । मंसिर र पुस महिनामा व्यवसायीहरुले अनुमान गरेकोभन्दा फरक नतिजा आएको उनको भनाइ छ । जसले गर्दा व्यवसायीहरुमा निराशा छाएको छ ।

व्यवसायीहरुले नेपाल राष्ट्र बैंकले विभिन्न चरणमा रियल इस्टेट क्षेत्रमा नीति सहज बनाउँदै लगे पनि उक्त व्यवस्थाले घरजग्गा कारोबारमा सुधार नहुने बताउँदै आएका थिए ।

‘राष्ट्र बैंकको नीतिले ५० लाखसम्मको ऋणीलाई मात्रै सम्बोधन गरेको छ । ठूला घरजग्गा व्यवसायीहरुको हितमा भने नीति आउन सकेको छैन,’ उनले भने, ‘जबसम्म सरकारले घरजग्गा व्यवसायीले माग गरेअनुसारको नीतिमा व्यवस्था गर्दैन । तबसम्म घरजग्गा कारोबारमा सुधार आउने देखिँदैन ।’

व्यवसायीले लामो समयदेखि घरजग्गा कारोबारलाई सहजीकरण गर्ने विभिन्न व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । अर्थतन्त्रमा देखिएको समस्याका कारण मानिसमा लगानी गर्न आत्मविश्वास बढ्न सकेको छैन ।

महासंघले विभिन्न समयमा सरकारी अधिकारीहरुलाई भेटेर राष्ट्र बैंकले लिएको नीतिले कारोबार बढ्न नसकेको बताउँदै आएका छन् । उनीहरुले लोन टु भ्यालु रेसियो ७० प्रतिशत पुर्‍याउनुपर्ने माग गर्दै आएका छन् । त्यसैगरी, आम्दानीको स्रोतको ईएमआई शतप्रतिशत हुनुपर्ने उनीहरुको माग छ ।

अध्यक्ष लोहनीले राष्ट्र बैंकले लोन टु भ्यालु रेसियो ७० प्रतिशत र ईएमआई शतप्रतिशत नबनाएसम्म घरजग्गा कारोबार बढ्न नसक्ने स्पष्ट पारे । त्यस्तै, सरकारले सहज नीति अपनाएमा विस्तारै आत्मविश्वास बढेर कारोबारमा सुधार हुने उनको भनाइ छ ।

‘घरजग्गा खरिद गर्ने सर्वसाधारणहरु घरजग्गा ऋण लिनका लागि तयार छन् । तर, राष्ट्र बैंकले व्यवस्था गरेअनुसारको अनुपातमा खुलाउन नसक्ने अवस्था छ,’ उनले भने । त्यस्तै, राष्ट्र बैंकको तथ्यांकले पनि रियल इस्टेट क्षेत्रमा कर्जा प्रवाह हुन नसकेको देखाउँछ ।

अध्यक्ष लोहनीले राष्ट्र बैंकले खुकुलो नीति नअपनाएसम्म घरजग्गा कारोबारमा छाएको मन्दी कहिले सुधार हुन्छ भन्ने अनुमान गर्न नसकिने बताए ।

साढे ३ अर्ब राजस्व संकलन

पुस महिनामा घरजग्गा कारोबारमा मंसिरको तुलनामा केही सुधार आउँदा राजस्व संकलनमा पनि बढी भएको छ । गत मंसिरमा ३ अर्ब १७ करोड रुपैयाँ राजस्व संकलन गरेकोमा पुस महिनामा साढे ३ अर्ब राजस्व संकलन गरेको छ । विभागको तथ्यांकअनुसार पुस महिनमा देशभरका मालपोत कार्यालयबाट ३ अर्ब ५१ करोड ६० लाख रुपैयाँ राजस्व संकलन गरेको हो ।

पुस महिनामा देशभरका मालपोत कार्यालयले सेवा करवापत २६ करोड २० लाख रुपैयाँ, रजिष्ट्रेशन दस्तुरवापत २ अर्ब १२ करोड १२ लाख रुपैयाँ, पूँजीगत लाभकरवापत १ अर्ब १० करोड ९ लाख रुपैयाँ र अन्य विभिन्न सेवा दिएवापत राजस्व संकलन गरेको छ ।

पुस महिनामा सबैभन्दा बढी ललितपुर मालपोतबाट २७ करोड ७२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । त्यसैगरी, चावहिल मालपोतबाट २३ करोड २९ लाख रुपैयाँ, भक्तपुरबाट २२ करोड ६५ लाख रुपैयाँ, कलंकीबाट २० करोड ९९ लाख रुपैयाँ र डिल्लीबजार मालपोतबाट १५ करोड ६६ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।


क्लिकमान्डु