गण्डकी प्रदेशको कृषि, वन तथा माछापालनमा बैंक वित्तीय संस्थाको साढे ३१ अर्ब कर्जा प्रवाह



काठमाडौं । गण्डकी प्रदेशको कृषि, वन तथा माछापालनमा मात्रै बैंक तथा वित्तीय संस्थाले साढे ३१ अर्ब कर्जा प्रवाह गरेका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययनअनुसार बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्ममा कृषि, वन र माछापालनमा क्षेत्रमा मात्रै ३१ अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रवाह गरेका हुन् ।

यी तीन क्षेत्रमा प्रवाह भएको कर्जा प्रदेशको कुल कर्जाको ८.८ प्रतिशत भएको राष्ट्र बैंकको प्रतिवदेनमा उल्लेख छ । अघिल्लो वर्ष यस्तो कर्जा ११.७ प्रतिशतले वृद्धि भएको थियो ।

तथ्यांकअनुसार प्रदेशको कुल कृषि कर्जाको ६० प्रतिशत रकम कास्की र नवलपुरमा सीमित छ । त्यसमध्ये पनि कास्कीमा मात्रै १३ अर्बभन्दा बढी अर्थात् ४१.४ प्रतिशत कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।

कृषि उत्पादनको स्थिति

आर्थिक वर्ष २०७९/८० मा गण्डकी प्रदेशका ११ जिल्लामा प्रमुख कृषि बालीले ढाकेको क्षेत्रफल अघिल्लो वर्षको तुलनामा करिब २.६८ प्रतिशतले ह्रास आई ४ लाख ७५ हजार ६३३ हेक्टरमा झरेको छ ।

मसलाले ढाकेको क्षेत्रफलमा वृद्धि भए पनि खाद्य, नगदे तथा अन्य बाली, तरकारी र फलफूल खेती गरिएको क्षेत्रफल घटेकाले समग्रतामा प्रमुख कृषि बालीले ढाकेको क्षेत्रफल २.६८ प्रतिशतले ह्रास आएको हो ।

तरकारीले ढाकेको क्षेत्रफल ०.७६ प्रतिशतले र फलफूलले ढाकेको क्षेत्रफल १.१६ प्रतिशतले घटेको छ भने मसलाबालीले ढाकेको क्षेत्रफल ४.५५ प्रतिशतले बढेको छ । समीक्षा वर्षमा फलफूलको उत्पादन ०.६९ प्रतिशतले र मसलाको उत्पादन ३४.३३ प्रतिशतले वृद्धि भएको छ ।

यसमध्ये स्याउ र सुन्तलाको उत्पादन क्रमशः १३.१९ प्रतिशत र १.४९  प्रतिशतले बढेको छ भने आँप र केराको उत्पादन क्रमशः ६.६५ र २.७७ प्रतिशतले ह्रास आएको छ ।

समीक्षा वर्षमा खाद्य तथा अन्य बालीको उत्पादन समग्रमा ०.७५ प्रतिशतले ह्रास आएको छ । यसमध्ये मकै (२.३१ प्रतिशत), गहुँ (४.५१ प्रतिशत), उखु (२.४१ प्रतिशत) र दलहन (२.०१ प्रतिशत) को उत्पादन भने बढेको छ ।

धान, कोदो, जौ, फापर, आलु, भटमास र तेलहनको उत्पादन पनि क्रमशः ३.७ प्रतिशत, ४.१४ प्रतिशत, १९.५५ प्रतिशत, ५.४७ प्रतिशत, १.३३ प्रतिशत, १.१७ प्रतिशत र ९.९३ प्रतिशतले घटेको छ ।

पशुजन्य उत्पादनतर्फ दुध २.८९ प्रतिशत, अण्डा १.९१ प्रतिशत र मासुको उत्पादनमा १.२६ प्रतिशतले ह्रास आएको छ । वनजन्य उत्पादनतर्फ काठको उत्पादन ६७ प्रतिशतले वृद्धि भएको छ भने दाउरा उत्पादन २४.३१ प्रतिशतले बढेको छ ।

कृषि कार्यमा उपयोग भएको भूभागको जिल्लागत विश्लेषण गर्दा गण्डकी प्रदेशको कुल खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफलमध्ये सबैभन्दा वढी (१५.३ प्रतिशत) स्याङ्जा जिल्लामा छ भने सबैभन्दा कम मनाङ (०.३ प्रतिशत) जिल्लामा छ ।

गण्डकी प्रदेशका ११ जिल्लामध्ये कास्की, तनहुँ, लमजुङ, गोरखा, नवलपुर, बागलुङ र स्याङ्जा गरी ७ जिल्लाको प्रमुख खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफल ८५ प्रतिशत छ । हिमाली जिल्ला मनाङ र मुस्ताङमा यस्तो भूभाग अन्य जिल्लाहरुको तुलनामा नगन्य छ ।

तरकारीखेती भएको कुल क्षेत्रफलमध्ये करिब ८९ प्रतिशत भूभाग कास्की, तनहुँ, लमजुङ, गोरखा, नवलपुर, बागलुङ र स्याङ्जामा मात्रै छ भने फलफूल र मसला खेतीमा पनि तिनै जिल्लाको बाहुल्य छ ।


क्लिकमान्डु