बालकुमारी घटना: मृतक परिवार र सरकारबीच सहमति



काठमाडौं । बालकुमारी आन्दोलनको क्रममा मारिएका दुई जना परिवारको सदस्यलाई रोजगारी उपलब्ध गराउने सहमति भएको छ ।

गृह मन्त्रालयका उपसचिब उमाकान्त अधिकारी र मृतकका परिवारबीच सोमबार यो सहमति भएको हो । प्रतिनिधि सभाका ५ जना सदस्यको रोहवरमा ४ बुंदे सहमति भएको हो ।

सहमतिअनुसार मृतकको परिवारलाई परिवारका सदस्यको सल्लाहमा परिवारका एक सदस्यलाई उपयुक्त प्रकारको रोजगारी यथाशीघ्र उपलब्ध गराउने बिषयमा सहमति भएको हो ।

यस्तै सरकारले उपलब्ध गराउने राहत अतिरिक्त थप राहत उपलब्ध गराउनका लागि यथाशीघ्र आवश्यक सहजीकरण गर्ने, मृतक विरेन्द्र शाह र सुजन राउतलाई शहिद घोषणाका लागि आवश्यक प्रक्रिया अघि बढाउन गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अनुरोध गर्ने र मृतकको परिवारले सोमबार नै शव बुझ्ने सहमति भएको छ । मृतकको पार्थिव शरीरलाई सम्बन्धित जिल्लामा पुर्याउने व्यवस्था गृह मन्त्रालयले मिलाउने सहमति भएको छ ।

बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने बिषयमा भएको प्रदर्शनको क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर शाह र राउतको शनिबार निधन भएको थियो ।


क्लिकमान्डु