मलाई अझ धेरै भ्रष्टाचारी र माफियामाथि हान्न मन छः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई अझै धेरै भ्रष्टाचारी र माफियामाथिको छानबिन अघि बढाउने चाहना भएको बताएका छन् ।

मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै प्रधानमन्त्री दाहालले आफूले चाहे जस्तोगरी काम गर्न नसकेको स्वीकार गरे । सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा आफूले प्रतिवद्धता गरेअनुसार काम गर्न नसकेको उनको भनाइ छ ।

बैठकमा प्रधानमन्त्रीले यसो भने

यदि माननीय सदस्यहरुले सबै काण्ड उस्तै हुन्, सबै मान्छे उस्तै हुन्, सबै नेता उस्तै हुन् भन्नुभयो भने त सडकमा अथवा सोसल मिडियामा चाहिने नचाहिने कुरा गरेर संघीयता, गणतन्त्र, लोकतन्त्रका बिरुद्ध गालि गरेर, अराजकता श्रृष्टि गर्नेको भाषा र हाम्रो भाषा उस्तै उस्तै भयो भने त्यसले के हामी सिस्टमको पक्षमा हुन्छौँ त ? हामीले सिस्टमलाई मद्दत गरेका हुन्छौँ कि जानी, नजानी त्यही प्रवृत्तिलाई प्रोत्साहित गरेका हुन्छौँ भन्ने पनि हामी सबैले सोच्ने हो कि ? मेरो हार्दिक अनुरोध माननीय सदस्यहरुलाई ।

सबै काण्ड एउटै होइनन् । मलाई अरु केही गर्नुछैन । र मैले जति चाहेको छु त्यति गर्न अझै सकेको छैन । पाएको छैन भन्ने कुरा पनि मैले पब्लिक्ली भनेको छु । सुशासनको पक्षमा या सामाजिक न्यायको पक्षमा या समृद्धिका पक्षमा । मेरो यो पटकको आकांक्षा, मेरो प्रतिवद्धताअनुसार अझ मैले सकेको छैन । पाएको छैन भन्ने चिन्ता छ मलाई । अझ धेरै भ्रष्टाचारमाथि हान्न मन छ मलाई । अझ माफियामाथि हान्न मन छ मलाई ।

अन्तर्राष्ट्रिय रुपमा नेपालको छवि मेरो ठाउँबाट त मैले बेस्सरी पहल गरेँ भन्ने छ । म त्यसमा सन्तुष्ट पनि छु । चाहे भारत होस् । चाहे चीन होस् । चाहे इटाली, अमेरिका वा राष्ट्रसंघ । मैले नेपालको कुटनीतिक अवस्थालाई, सन्तुलनलाई र नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर नयाँ ढंगले, आक्रमक ढंगले गएकै छु म भने यो पनि उस्तै हो भनेर तपाईहरुले भनिदिनु भयो भने को चाहीँ आएर के चाहीँ हुन्छ त फेरि ? हामी पनि सबै साक्षि त छौ नि त यहीँ ।

एनसेलमा मसँग जोडेर प्रचार गरिएको छ । गिरिजाबाबुले धमिजा काण्डमा गरेको भन्दा प्रचण्डले एनसेल काण्डमा ४८० गुणाबढी भ्रष्टाचार गरेको छ भनियो । त्यो साँचो भएको भए त म बाँच्नै नसक्ने हुन्थ्यो । त्यो झुठो हो भन्ने मलाई थाहा भएपछि त म ढुक्क छु ४८०, ५००, १००० बढी भनेपनि त्यो सावित हुनेवाला छैन ।

अब मेरो परिवारका सदस्य घट्दै गएर ३ जना भएका छौँ । त्योमध्ये एउटा भरतपुर महानगरपालिकाको मेयर छ, ऊ उतै बढी व्यस्त हुन्छ । एउटा छोरी छ, विचरा त्यो कस्ती छ तपाईंहरुले थाहा पाउनुभएकै छ । उसलाई जोडेर बनाएको छ । उचालेको छ । भन्दा म के ठान्छु भने यो वास्तवमा संविधान, प्रणाली, गणतन्त्र, लोकतन्त्र विरुद्धको हमला हो । म स्पष्ट छु त्यसमा । किनकी प्रचण्डलाई नराम्रोसँग ह्युमुलेट नगरेसम्म र डिप्रेश नबनाएसम्म यो उल्टिने भएन भन्ने छ नि त एकथरीलाई ।

एनसेल प्रकरणमा अघिल्लो पटक प्रधानमन्त्री हुँदा मैले कर तिर्नैपर्छ भनेर लडेको हो । लेखा समितिमा म आफैँ गएको छु र मैले यो कर तिर्नैपर्छ भनेर लडेको हो म । यो कुरा स्मरण होस् । र तिराइएको हो । त्यही विषयमा मुद्दा पर्‍यो । र त्यो मुद्दा लड्नका लागि नेपालले जित्न सक्छ भन्ने स्थापित भयो । नेपालले जित्यो झन्डै त्यो जितबाट हाम्रो ६५ अर्ब जोगियो नेपालको । त्यो जोगाउने नेताहरु मध्ये, म मात्रै भन्दिन म । एउटा प्रमुख म हो ।

अहिले यहाँ जालझेल भएकै छ भन्ने हो मेरो । मैले हेर्दा यहाँ गडबढ नै भएको छ । पहिलो दृष्टिमै गडबढ छ । कर छल्ने पनि छ । स्वामित्व हस्तान्तरण नगर्ने नियत पनि देखिन्छ । १४३ अर्बको लाई ६ अर्बमा बिक्री गर्ने कुरा छ । मलाई विज्ञहरुले अहिले त २०० अर्ब हुनुपर्छ त्यो भ्यालुएसन त भन्नुभएको छ । अहिले ६ अर्बमा बिक्री गर्ने कुरा छ यो कहीँपनि पारदर्शी र प्राकृतिक छैन भनेको हुनाले नै आउँदा आउँदै बाटैबाट निर्देशन जारी गरेको हो ।

०७२/०७३ को १४३ अर्ब त अहिले २०० अर्बको भ्यालुएसन हुनुपर्छ । त्यसकारण त्यहाँ पनि जालझेल छ । हस्तान्तरण नगर्ने नियतले काम गरेको छ । मुख्य चाहीँ । त्यसकारण यसलाई हरहालतमा हस्तान्तरण गराउन हामी सबैले संकल्प लिऔँ । म जुनसुकै मूल्य चुकाउन पनि तयार छु । कानूनको छिद्रहरुलाई टालौँ हामी सबै मिलेर । कानूनी लडाई नलडी पनि हुँदैन । नेपालले जित्न सक्छ ।


क्लिकमान्डु