होटलले पाए विदेशी मुद्राको लेनदेन सुविधा



काठमाडौं । नेपाल राष्ट्र बैंकले होटलहरुलाई तोकेको सीमाभित्र रहेर विदेशी मुद्राको लेनदेन गर्न सक्ने सुविधा उपलब्ध गराएको छ । राष्ट्र बैंकले विदेशी विनियम कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली २०७७ संशोधन गर्दै होटलहरुलाई नगद परिवर्त्य विदेशी मुद्राको सटही सुविधा उपलब्ध गराएको हो ।

यसअघि होटलहरुलाई विदेशी मुद्रा लिन पाउने सुविधा भए पनि दिन पाउने सुविधा भने थिएन । अब होटल, रिसोर्ट, ट्राभल एजेन्सी, एयरलाइन्स, कार्गो कम्पनी, ट्रेकिङ एजेन्सीलगायतका फर्म, कम्पनी वा संस्थाहरूले वा अन्य सेवाप्रदायक कम्पनी तथा संस्थाहरूले विदेशी पर्यटक तथा ऐनबमोजिम विदेशी विनिमयमा भुक्तानी गर्न सक्ने व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई वस्तु तथा सेवा बिक्री गरेबापत विदेशी विनिमयमा हुने भुक्तानी स्वीकार गर्न सक्नेछन् ।

डिपार्टमेन्टल स्टोर/सुपर मार्केट, एयरलाइन्स र तीन तारे तथा सोभन्दा माथिल्लो स्तरका होटलले विदेशी मुद्राको कारोबार गर्ने इजाजतपत्र प्राप्त गर्न प्रतिकारोबार स्थानका लागि एक लाख रुपैयाँ र अन्य जुनसुकै होटल, रिसोर्ट, फर्म, कम्पनी वा संस्थाहरूले विदेशी मुद्राको कारोबार गर्ने इजाजतपत्र प्राप्त गर्न प्रतिकारोबार स्थानका लागि ५० हजार रुपैयाँबराबरको इजाजतपत्र बहाल रहने मितिभन्दा कम्तीमा १५ महिना बढी अवधिको बैंक जमानत पेस गर्नुपर्नेछ ।

बैंक जमानतको सट्टामा सोही रकमबराबरको नगद धरौटी राष्ट्र बैंकमा जम्मा गर्न पनि सकिनेछ । सरकारी निकाय, सरकारी विश्वविद्यालय एवं सरकारी शैक्षिक प्रतिष्ठान र नाफा आर्जन गर्ने उद्देश्य नभएका सामाजिक संघसंस्थाले विदेशी विनिमय कारोबारको इजाजतपत्र प्राप्त गर्न यस्तो जमानत/नगद धरौटी पेस गर्नुपर्ने छैन ।

डपार्टमेन्टल स्टोर/सुपर मार्केट, एयरलाइन्स र तीन तारे तथा सोभन्दा माथिल्लो स्तरका होटलले विदेशी मुद्राको कारोबार गर्ने इजाजतपत्र प्राप्त गर्न प्रत्येक कारोबार स्थानका लागि प्रतिवर्ष चार हजार रूपैयाँका दरले तथा अन्य जुनसुकै होटल, रिसोर्ट, फर्म, कम्पनी वा संस्था एवं सरकारी निकायले प्रत्येक स्थानका लागि प्रतिवर्ष दुई हजार रूपैयाँका दरले इजाजतपत्रको शुल्क एकमुष्ट रुपमा राष्ट्र बैंकमा बुझाउनुपर्नेछ ।

डिपार्टमेन्टल स्टोर/सुपर मार्केट, एयरलाइन्स र तीन तारे तथा सोभन्दा माथिल्लो स्तरका होटलले विदेशी मुद्राको कारोबार गर्ने इजाजतपत्रको म्याद समाप्त हुनुअगावै प्रत्येक स्थानका लागि प्रतिवर्ष ४ हजार रूपैयाँका दरले तथा अन्य जुनसुकै होटल, रिसोर्ट, फर्म, कम्पनी वा संस्था एवं सरकारी निकायले प्रत्येक स्थानका लागि प्रतिवर्ष २ हजार रूपैयाँका दरले एकमुष्ट शुल्क राष्ट्र बैंकमा बुझाउनुपर्नेछ ।

कुनै कारणवश इजाजतपत्रप्राप्त संस्थाले म्याद समाप्त हुनुअगावै नवीकरणका लागि निवेदन पेस गर्न नसकेको कुरामा राष्ट्र बैंक विश्वस्त भएमा म्याद समाप्त भएको मितिले ९० दिन भित्रसमेत सोही बमोजिमको शुल्क लिई राष्ट्र बैंकले इजाजतपत्र नवीकरण गर्न सक्नेछ ।

अवधिभित्र इजाजतपत्र नवीकरण नगराएमा इजाजतपत्रको म्याद समाप्त भएको मितिदेखि एक वर्षसम्म निवेदन दिएमा जरिवाना रकम लिई इजाजतपत्र नवीकरण गर्न सकिनेछ । जरिवाना प्रतिवर्ष २ हजार नवीकरण शुल्क हुनेको हकमा एकमुष्ठ २ हजार र प्रतिवर्ष ४ हजार नवीकरण शुल्क हुनेको हकमा एकमुष्ठ ४ हजार रुपैयाँ हुनेछ ।


क्लिकमान्डु