मौद्रिक समीक्षाबाट घरजग्गा व्यवसायी असन्तुष्ट, भन्छन्- अहिलेको व्यवस्थाले कारोबार बढ्दैन



काठमाडौं । नेपाल राष्ट्र बैंक रियल इस्टेट क्षेत्रका लागि केही उदार देखिएको छ । राष्ट्र बैंकले रियल इस्टेट क्षेत्रलाई सम्बोधन गर्दै कर्जामा उदार नीति अपनाएको हो ।

राष्ट्र बैंकले मौद्रिक समीक्षा सार्वजनिक गर्दै रियल इस्टेट कर्जाको जोखिम भार घटाएको छ । ‘बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल इस्टेट कर्जा र ५० लाखभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाई १२५ प्रतिशत कायम गरिने छ,’ सार्वजनिक मौद्रिक नीतिमा उल्लेख छ ।

राष्ट्र बैंकले ५० लाख रुपैयाँसम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात बढाएर ६० प्रतिशत कायम गरेको छ । राष्ट्र बैंकले यसअघिको ५० प्रतिशतको अनुपातलाई बढाएर ६० प्रतिशत पुर्‍याएको हो ।

रियल इस्टेट क्षेत्रको कारोबारको सुस्ततालाई मध्यनजर गर्दै कर्जा प्रवाहमा लचकता अपनाएको छ । तर, उक्त व्यवस्थाले घरजग्गा कारोबारमा खासै प्रभाव नपर्ने व्यवसायी बताउँछन् ।

नेपाल घरजग्गा तथा आवास विकास संघका अध्यक्ष भेषराज लोहनीले राष्ट्र बैंकको मौद्रिक नीतिले कारोबारमा खासै प्रभाव नपर्ने बताए । उनका अनुसार राष्ट्र बैंकले ५० लाखसम्मको ऋणीलाई मात्रै सम्बोधन गरेको छ, जसले गर्दा कारोबार उल्लेख्य बढ्न सक्ने अवस्था छैन ।

‘राष्ट्र बैंकले ठूला ऋणीलाई सम्बोधन गरेको छैन,’ उनले क्लिकमान्डुसँग भने, ‘५० लाखसम्मको कर्जाले केही मात्रामा सहज बनाउला तर कारोबार उल्लेख्य बढ्न सक्दैन ।’ कम आम्दानी भएका ऋणीलाई भने केही सहज वातावरण सिर्जना हुने लोहनीको भनाइ छ ।

व्यवसायीले सरकारलाई लामो समयदेखि घरजग्गा कारोबारलाई सहजीकरण गर्ने विभिन्न व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । अर्थतन्त्रमा देखिएको समस्याका कारण मानिसमा लगानी गर्न आत्मविश्वास बढ्न सकेको छैन ।

संघले विभिन्न समयमा सरकारी निकायलाई भेटेर राष्ट्र बैंकले लिएको नीतिले कारोबार बढ्न नसकेको बताउँदै आएका छन् । उनीहरुले लोन टु भ्यालु रेसियो ७० प्रतिशत पुर्‍याउनुपर्ने माग गर्दै आएका छन् । त्यसैगरी, आम्दानीको स्रोतको ईएमआई शतप्रतिशत हुनुपर्ने उनीहरुको माग छ ।

अध्यक्ष लोहनीले राष्ट्र बैंकले लोन टु भ्यालु रेसियो ७० प्रतिशत र ईएमआई शतप्रतिशत नबनाएसम्म घरजग्गा कारोबार बढ्न नसक्ने स्पष्ट पारे । व्यवसायीले आगामी पुसमा बृहत् रियल इस्टेट मेला गर्ने तयारी गरिरहेका छन् । तर, बजार चलायमान हुन नसक्दा मेलाबाट सोचेजति प्रतिफल प्राप्त नहुने चिन्तामा उनीहरु छन् ।

व्यवसायीले दसैंतिहारपछि अर्थात् मंसिरबाटै कारोबार बढ्ने अपेक्षा गरेका थिए । तर मंसिर सकिँदै गर्दा बजार भने सकारात्मक हुन नसकेको अध्यक्ष लोहनीले बताए ।

बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर घटाउँदै लगेका छन् । राष्ट्र बैंकले समीक्षामार्फत बैंक दर र नीतिगत दर घटाएर ब्याजदर अझै घट्छ भन्ने स्पष्ट सन्देश दिएको छ । बैंकहरुले ब्याजदर घटाउँदै लैजाने र राष्ट्र बैंकले लचिलो नीति अबलम्बन गरेमात्रै कारोबार बढ्ने उनको भनाइ छ ।


क्लिकमान्डु