नेफ्स्कुनमा कस्तो नेतृत्व चाहन्छ सहकारी अभियान ?



काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)ले पुस ७ र ८ गते वार्षिक साधारणसभा बोलाएको छ । सभाले आगामी कार्यकालका लागि सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति निर्वाचन गर्नेछ ।

सभा नजिकिँदै गर्दा आगामी कार्यकालका लागि नेफ्स्कुनले कस्तो नेतृत्व चाहेको छ भन्ने विषयमा सबैको चासो देखिएको छ । विश्वव्यापी रुपमा अर्थतन्त्रमा देखिएको समस्या, कोरोना तथा नेपालको अर्थतन्त्रमा छाएको सुस्तताको प्रभाव सहकारी संस्थामा पनि परेको छ ।

बचत तथा ऋण सहकारी संस्थाहरु बचतकर्ताको रकम फिर्ता गर्न नसकेर भाग्ने क्रम बढ्दो छ । कार्यालय बन्द नगरेर नभागेका र सम्पर्कमा नरहेका सहकारीबाट पीडित हुने बचतकर्ताको पनि कमी छैन ।

सहकारीका सञ्चालकले बचतकर्ताबाट संकलन गरेको पैसा जम्मा गरेर निजी स्वार्थ पूरा गर्ने, घर, जग्गा र गाडी खरिद गर्ने, सेयर बजारमा लगानी गर्ने, निजी कम्पनी खोल्ने जस्ता गैरव्यावसायिक गतिविधिका कारण लाखौँ बचतकर्ता पीडित बनेका छन् ।

यस्तो अवस्थामा बचत तथा ऋण सहकारीको छाता संगठन नेफ्स्कुन नयाँ नेतृत्व चयनको तयारीमा जुटेको छ । अब आउने नेतृत्वले सबैभन्दा पहिला आफ्नो संस्था बलियो बनाएको व्यक्ति हुनुपर्ने पूर्वअध्यक्षहरुको भनाइ छ ।

आफ्नो संस्था बलियो नबनाएको व्यक्तिले साझा संस्थालाई बलियो बनाउन नसक्ने उनीहरुको बुझाइ छ । जो व्यक्तिले आफ्नो प्रारम्भिक संस्था राम्रोसँग सञ्चालन गर्न सक्दैन, उसले नेफ्स्कुनको नेतृत्व गर्न नसक्ने पूर्वअध्यक्ष ऋषिराज घिमिरेको बुझाइ छ ।

नेफ्स्कुनमा आउनेले आफ्नो संस्था राम्रोसँग चलाएको, इमानदार, समुदाय तथा अभियानमा राम्रो छवि बनाएको र अभियान बुझेका मान्छे आवश्यक पर्ने उनले बताए ।

‘इमानदार, समुदाय तथा अभियानमा राम्रो छवि बनाएको, अभियान बुझेको मान्छे, सञ्चालक समितिलाई एक बनाएर लैजान सक्ने, सहकारीमा गाँजिएको राजनीति न्यून गर्दै लैजान सक्ने, सदस्य संस्थाको समस्या बुझ्ने खालका व्यक्ति नेफ्स्कुनलाई आवश्यक छ,’ पूर्वअध्यक्ष घिमिरेले भने, ‘त्यस्ता व्यक्ति नेफ्स्कुनका आएको खण्डमा संस्थाको गरिमा बढ्छ ।’

नेफ्स्कुनमा नेतृत्व लिनेले तत्काल बचत तथा ऋण सहकारी संस्थाको छुटै ऐन ल्याउन पहल गर्नुपर्ने वा तत्काल छुट्टै ऐन ल्याउन नसके पनि अहिले भएको सहकारी ऐनमा नै बचत तथा ऋण सहकारीका लागि थप व्यवस्था थप्न सक्ने खालको हुनुपर्ने उनको सुझाव छ ।

सहकारी ऐन आएको धेरै समय भए पनि स्थिरीकरण कोषले अहिलेसम्म पूर्णरुपमा काम गर्न सकेको छैन । नेफ्स्कुनमा आउने नयाँ नेतृत्वले स्थिरीकरण कोष सञ्चालनमा राष्ट्र बैंक, सहकारी विभाग र अर्थ मन्त्रालयका अधिकारीलाई राखेर आवश्यक संशोधन गरेर जानुपर्ने उनको तर्क छ ।

नेफ्स्कुनमा आउने नेतृत्वले सदस्य संस्थाको योग्यता बढाउन, वित्तीय अनुशासन पालना गर्न/गराउन पहल गर्ने र संस्थाहरुको अनुगमन गर्न आवश्यक रहेको उनले बताए ।

‘नेफ्स्कुनलाई राजनीतिक दलको भर्तिकेन्द्र नबनाई काम गर्न सक्ने मान्छे ल्याउन आवश्यक छ,’ उनले भने, ‘नेफ्स्कुनमा आउनेले काम गर्न जानेका छन् तर के गर्ने भन्ने जानेका छैनन् । नेफ्स्कुनमा राजनीति हावी नगराउने र सदस्यको हितमा काम गर्ने व्यक्तिलाई नेतृत्व दिनुपर्छ ।’

नेफ्स्कुनका पूर्वअध्यक्ष डीबी बस्नेत पनि घिमिरेजस्तै प्रारम्भिक संस्था राम्रोसँग इमानदार भएर चलाएको व्यक्तिलाई मात्रै नेफ्स्कुनको नेतृत्व दिनुपर्ने धारणा राख्छन् ।

नेफ्स्कुनमा आउने आगामी नेतृत्व प्रारम्भिक संस्था राम्रोसँग चलाएको, सहकारी अभियानले विश्वास गरेको, जिल्ला संघमा काम गरेको, पारदर्शी, संस्थालाई पर्याप्त समय दिन सक्ने, सबैले विश्वास गर्न सक्ने र अभियानले विश्वास गर्न सक्ने व्यक्ति चाहिने बस्नेतको भनाइ छ ।

आगामी नेतृत्वले संस्थाको विश्वास जित्ने, नीतिगत रुपमा पहल गर्न आवश्यक रहेका धेरै काम सहज रुपमा छिटो गर्ने, सहकारी ऐन नियमले वित्तीय सहकारी सञ्चालनमा भएका समस्या समाधान गर्न पहल गर्न सक्ने र त्यसका लागि आवश्यक नियम, निर्देशिका बनाएर कार्यान्वयन गर्न सक्ने खालको नेतृत्व आवश्यक रहेको बस्नेतले बताए ।

अहिलेको अवस्थामा राजनीतिक दलको भागबन्डामा भन्दा पनि अभियानले खोजेको, अभियानले चिनेको र रुचाएको व्यक्ति नै नेफ्स्कुनका लागि उपयुक्त हुने उनको तर्क छ ।

त्यस्तै नेफ्स्कुन बचत तथा ऋण सहकारी संस्थाको केन्द्रीय संघ भएका कारण केन्द्रमा बसेर सबै संस्थाले भोगेका समस्या समाधान गर्न सक्ने खालको नेतृत्व नेफ्स्कुनलाई आवश्यक पर्ने पूर्वअध्यक्ष मीनराज कँडेलको बुझाइ छ ।

नेफ्स्कुन ठूलो नेटवर्क भएको संघ भएका कारण संस्थालाई तालिम, शिक्षा र गुणस्तरीय सेवा दिनुका साथै परिस्थिति हेरेर आर्थिक संकटलाई चिर्ने ढंगले सशक्त रुपमा अघि बढ्ने नेतृत्व आवश्यक रहेको उनले बताए ।

‘केन्द्रीय संघले कानुन निर्माण तथा सरोकारवाला निकायमा लबिङ गर्ने काम प्रभावकारी रुपमा गर्नुपर्छ,’ उनले भने, ‘समस्या भएको खण्डमा सुधार गर्ने, सदस्य संस्थालाई अनुगमन गरेर सुझाव दिने हुनुपर्छ ।’

अहिलेको वित्तीय संकटका समयमा हौसिएर काम गर्नुभन्दा पनि सदस्य संस्थाको हितमा होसियारीपूर्वक काम गर्न सक्ने व्यक्तिलाई नेफ्स्कुनको नेतृत्व दिनुपर्ने उनको सुझाव छ ।

अहिले सहकारी संस्थाले सहकारीको अन्तर्राष्ट्रिय मूल्य मान्यताअनुसार काम गर्नुपर्ने र काम गर्न नसक्ने संस्थालाई उद्देश्यअनुसार काम गराउन सक्ने व्यक्ति नेफ्स्कुनमा पठाउनुपर्ने कँडेलले बताए ।


सोभित थपलिया