भारतले गर्छ दैनिक इन्धनको मूल्य समायोजन, नेपालमा १५ दिनमा पनि आलटाल

निगमले पालना गरेन स्वचालित मूल्य प्रणाली कार्यविधि २०८०



काठमाडौं । अन्तर्राष्ट्रिय मूल्यको आधारमा दक्षिणी छिमेकी मुलुक भारतले दैनिक बिहान ६ बजे इन्धनको मूल्य समायोजन गर्ने गरेको छ । नेपालमा भने विभिन्न बहानामा १५ दिनमा पनि मूल्य समायोजन हुने गरेको छैन ।

कहिले सरकारको ‘निर्देशन’ मा मूल्य समायोजन हुँदैन भने कहिले निगमको ‘आन्तरिक घाटा पूर्ति’ को नाममा आफ्नै कार्यविधिको धज्जी उडाउँदै मूल्य समायोजन हुने गरेको छैन ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दा घट्नुपर्ने र बढ्दा बढ्नु पर्ने कार्यविधिको मापदण्ड भए पनि निगमले आफैं उक्त कार्यविधिको अक्षरशः पालना गर्दैन ।

‘निगमले तयार पारेको कार्यविधि उसले आफूखुसी प्रयोग गर्दैआएको छ,’ उपभोक्तावादी प्रेमलाल महर्जनले भने, ‘कार्यविधिअनुसार घटेको बेला घट्नु पर्ने र बढेको बेला बढाउनु पर्ने हो, तर हाम्रोमा बढेको बेला बढाउने काम मात्रै भइरहेको छ । घटेको बेला नघटाउने पुरानै रोगबाट निगम ग्रसित छ ।’

पछिल्लो समयमा कात्तिक २९ गते (नोभेम्बर १५) मा इण्डियन आयल कर्पोरेशन(आईओसी) ले अन्तर्राष्ट्रिय मूल्यको आधारमा नेपाललाई नयाँ मूल्य सूची पठाएको थियो । भारतले डिजेलमा प्रतिलिटर ७ रुपैयाँ र पेट्रोलमा ८० पैसा मूल्य घटाएर नेपाललाई मूल्य सूची पठाएको थियो ।

यो मूल्य सूचीको आधारमा निगमले मूल्य समायोजन गरी नयाँ उपभोक्ता मूल्य तोक्नुपर्ने थियो । अर्को मूल्य सूची आउने समय नजिक आइसक्दा पनि निगमले आफ्नै कार्यविधिलाई लत्याउँदै मूल्य समायोजन गरेन ।

निगम अहिले ६ करोड घाटामा भएकाले उक्त घाटा पूर्ति गर्नका लागि मूल्य समायोजन नगरिएको स्रोतले जनाएको छ ।

‘अहिले १५ दिनमै हाम्रो घाटा ६ करोड पुगेको छ,’ निगमका एक अधिकारीले भने,‘अघिल्लो पटक मूल्य समायोजनको निर्णय फिर्ता हुँदा ठूलो परिमाणमा घाटा व्यहोर्नु पर्यो । त्यसपछि एक पटक पेट्रोल र ग्यासको मूल्य समायोजन नहुँदा झनै घाटा दर चुलिएका कारण घाटा दर कम नहुँदासम्म मूल्य समायोजन नगर्ने पक्षमा छौं ।’

यसबाहेक सरकारबाट लिएको ऋण वापतको रकम समेत तिर्न बाँकी रहेकाले मूल्य समायोजन गर्न निगमले चासो नदेखाएको हो । सरकारलाई ७० करोड रुपैयाँ ऋण तिर्न बाँकी रहेको छ । अहिले सबैभन्दा बढी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २ सय ८० रुपैयाँ घाटा छ ।

निगमले अहिले पेट्रोल प्रतिलिटर १६९ रुपैया, डिजेल १६३ र खाना पकाउने सिलिण्डर १८९५ रुपैयाँमा बिक्री गरिरहेको छ । पछिल्लो समयमा आएको नयाँ मूल्य सूचीअनुसार मूल्य समायोजन भएको भए पेट्रोलमा १ रुपैयाँसम्म र डिजेलमा ७ रुपैयाँसम्म मूल्य घट्ने सम्भावना हुन्थ्यो ।

असार ३१ देखि कार्यान्वयनमा आएको पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि २०८० मार्फत निगमले एलपीजी ग्याँसमा नाफा नलिने व्यवस्था गरेको छ । निगमले एलपीजी ग्याँसको मूल्य निर्धारण गर्दा घरायसी, औद्योगिक र व्यापारिक प्रयोजनको हकमा छुट्टाछुट्टै मूल्य निर्धारण गर्न सक्ने व्यवस्था गरेको छ ।

पेट्रोलतर्फ परल मूल्यमा २.५ प्रतिशतसम्म र डिजेलमा २ प्रतिशतसम्म नाफा लिन पाउने व्यवस्था गरेको छ । यस्तै हवाई इन्धनको सवालमा सञ्चालन समितिले निर्धारण गरेअनुसार मूल्य कायम गरिने व्यवस्था गरिएको छ ।

पेट्रोलियम तथा ग्याँसको खरिद मूल्यमा ढुवानी भाडा, सरकारी राजस्व तथा शुल्क, ऋणको ब्याज खर्च, प्राविधिक नोक्सानी, प्रशासनिक खर्च, ह्रास खर्च, डिलर कमिसन, बीमा खर्च, शृंकेज तथा वर्किङ लस र डिलरको बीमा खर्च जोडेर परल मूल्य निकाल्ने नयाँ कार्यविधिमार्फत व्यवस्था गरेको छ ।

डिजेलबाट १५ दिनमा ३५ करोड नाफा

पछिल्लो समयमा प्रति लिटर डिजेलमा ७ रुपैयाँ मूल्य घटेर आएको छ । यो मूल्यअनुसार मुल्य समायोजन नहुँदा डिजेलबाट मात्रै निगमले प्रति लिटर ७ रुपैयाँका दरले १५ दिनमा ३५ करोड रुपैयाँ नाफा कमाउने सुनिश्चित भएको छ ।


क्लिकमान्डु