गाउँको तिहार सम्झिएर न्यास्रो मान्दै सहरिया



काठमाडौं । ‘आहै झिलीमिली झिलिझिली

के को झिलिमिली

आहै बत्तिको झिलिमिली

सिमल बारुलै सिमल बारुलै…

गायक नवीनकुमार खड्का र पुस्तका खड्काका मात्रै होइन, धेरै लोकप्रिय गायक र कलाकारका स्वरमा हरेक तिहारमा टेलिभिजन, रेडियो र सामाजिक सञ्जालमा देउसी-भैलोका गीत गुञ्जिएका हुन्छन् ।

मौलिक नेपाली संस्कृतिका रुपमा रहेको यो देउसी-भैलोको परम्परा प्रत्यक्ष खेलेरै संस्कृति संरक्षण गर्ने कार्यमा कमी आएको छ । तिहारको रौनकसँगै गाउँ-सहरमा भिलिमिली बत्तीको उज्यालो छाउँछ । घरका ढोका र आँगनदेखि ढोकासम्म सयपत्री र मखमली फूलका माला र रङ्गोलीले सजिएका हुन्छन् ।

पहिला-पहिला गाउँघरको दैउसी-भैलीको रौनक बेग्लै हुन्थ्यो । राँको, टर्च लाइट, लालटिन वा मैनटोल बालेर कात्तिक कृष्णपक्षका रातमा परबाट देउसी-भैलीको टोली गाउँदै हिँडेका हुन्छन् ।

कुनै घर नजिकै पुग्न लागेपछि कुकुर भुक्न थाल्छ । घरका बा-आमाले आँखा तन्काउँदै हेर्छन् । ‘ओहो ! देउसी-भैलो टोली आएछ है’ भन्दै स्वागतको तयारीमा जुट्छन् ।

‘हरियो गोबरले लिपेको, लक्ष्मी पूजा गरेको, ए… औँशी बारो गाईतिहारो भैलो’ गाउँदै विभिन्न भाकामा बूढाबुढी, बालबालिका र युवा एकसाथ नाचगान गरेर जाने बेलामा घरधनीले खुसी मनले नांग्लामा चामल, दियो बत्ती, सेल, फलफूल, मिठाइ र दक्षिणा ठीक पार्छन् ।

देउसी भैलो खेल्नेले ‘ढुङ्गा छुँदा अन्न होओस्, यो घरमा सुनको छाना होओस्’ आदि भनेर आशिष पनि दिने गर्छन् ।

नेपाली मौलिक संस्कृतिका रुपमा रहेको यो परम्परा पछिल्ला वर्षमा हराउनुमा सहरिया जीवनशैली, युवाको विदेश पलायन, आर्थिक मन्दी, कोभिड १९ पछिको अवस्था, समय-समयमा आइपर्ने विपदका घटना आदि कारण देखिएका छन् ।

देउसी-भैलो तिहारको मौलिक गहना हो । तिहार भन्नासाथ देउसी-भैलोको झझल्को हरेकलाई आउने गर्छ । समय क्रमसँगै सांस्कृतिक रहनसहनमा परिवर्तन आएकाले तिहारको रौनक क्रमिक रुपमा घट्दै गएको छ ।

यो वर्ष पनि तिहारको चहलपहल निकै घटेको छ । विगतका वर्षहरुमा गाउँघरदेखि सहरमा देउसी-भैलो खेल्ने हुलका हुल रातभर हिँड्थे । तिहारलाई थप उल्लासमय बनाउँथ्यो । तर, यसपटक तिहारमा विगतका वर्षमा जस्तो उल्लासमय देखिँदैन ।

विदेशमा रहने नेपालीले आफू बसेका ठाउँमा पनि चाडपर्व मनाएका हुन्छन् । उनीहरुले त्यहाँ नेपाल र नेपालीको संस्कृतिप्रतिको माया दर्शाउँदै नाचगान गरेका भिडियो सामाजिक सञ्जालमा देखिन्छन् ।

काठमाडौँ उपत्यकालगायत मुख्य सहरदेखि भित्री गल्लीहरुमा पनि देउसी-भैलोको चहलपहल देखिँदैन । कतिपय घरटोलमा त बत्तीको झिलिमिली पनि छैन । अति व्यस्त बजार असन, नयाँ सडक, वसन्तपुरतिर त्यत्ति चहलपहल छैन ।

वसन्तपुर क्षेत्रमा केही विदेशी पर्यटक घुमिरहेका भेटिए पनि बजारमा किनमेल खासै बढेको छैन । पहिला पहिला खैजडी, मादल, मजुरा, गितार, बाँसुरीका तालमा भट्याउँदै देउसी र भैलो खेल्ने परम्परा नै हाम्रो संस्कृतिको वैभव हो ।

देउसी-भैलोबाट जम्मा भएको रकम विद्यार्थीको पठनपाठन, मठ, मन्दिर, चौतारी, पँधेरा, कुवा निर्माण तथा दीनदुःखीलाई दान दिने जस्ता सामाजिक पवित्र काम गरिने असल परम्परा पनि हुने गर्थ्यो ।

पश्चिमा संस्कृति र आधुनिक पप-सङ्गीतको प्रभावका कारण मौलिक संस्कृतिमा प्रतिकूल असर परेको संस्कृतिविद् एवं पाका नागरिकको बुझाइ छ । संस्कृतिविद् जगमान गुरुङ मेमोरी कार्ड राखेर डिस्को बजाउँदै नाच्नेजस्ता विकृतिले मौलिक संस्कृतिलाई गाँज्दै गएको बताउँदै देउसी र भैलोको आदर्श र मर्यादा गुम्दै गएको बताउँछन् ।

‘राजनीतिक दलका भ्रातृ संगठन र संस्थाले राजनीतिक अभीष्ट र आर्थिक संकलनको स्वार्थ राखेर देउसी-भैलो खेल्न थालेका पनि देखिएको छ । सनातन कुल धर्म र परम्परालाई बजारमुखी बनाइएको छ । नयाँ पुस्तामा मौलिक संस्कृतिप्रतिको मुहान सुक्न थालेको छ,’ नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति गुरुङले भने ।

गाउँघरमा द्वन्द्वकालदेखि नै मानिस विस्थापन हुँदै गएको र सहरमा सहरिया जीवनशैलीले मानिसमा सामाजिकता हराउँदै गएको उनको भनाइ छ । ‘संस्कृतिलाई संयमित बनाउने नाममा सरकार र स्थानीय तहले यतिबजेसम्म खेल्न पाइने र नपाइने भनेर नियम बनाएको छ । यी सबैको प्रतिकुल प्रभावमा देउसी भैलो पनि परको छ,’ उनले भने ।

साहित्यकार दामोदर पुडासैनी ‘किशोर’ यमपञ्चकसहितको तिहारले काग, कुकुर, गाई, गोरु, लक्ष्मी र भाइपूजा गरेर जनावर, प्रकृति र कृषि कर्मको पूजादेखि आपसी भ्रातृत्वको संरक्षण गर्ने बताउँछन् । यस्तो असल परम्परालाई जोगाउनु सबैको दायित्व भएको पुडासैनीको आग्रह छ ।

अर्का साहित्यकार सरिता अर्याल सामाजिक अपराधका घटनको डरले सहरमा रातिसम्म हिँड्डुल गर्न असुरक्षा हुने गरेको र संस्कार-संस्कृतिमा कमी आएका कारण यस वर्ष देउसी भैलो खेल्नेहरु न्यून भएको बताउँछन् ।

भोजपुरको साल्पा सिलिछो गाउँपालिका ४ का ७० वर्षीय उद्धवबहादुर राई गाउँघरमा पनि पहिला-पहिला जस्तो उल्लासमय तिहार नभएको बताउँछन् । ‘गाउँमा तन्नेरीहरु छैनन् । बूढाबुढीले खेल्न जानु पनि भएन । पहिलाको जस्तो मजा हुनै छाडेको छ,’ उनले भने ।

संखुवासभा घर भई हाल भक्तपुरको लोकन्थली बस्ने ६८ वर्षीय लालबहादुर बुढाथोकी हिजोआज देउसी खेल्ने र मनाउनेहरु धेरै कम देखिएको जनाउँदै साना-साना बालबालिका अलि-अलि देखिए, अरु देखिएनन् । युवापुस्तामा धर्म संस्कृतिप्रतिको विश्वास र लगाव कम भएर पनि उनीहरुको रुचि घटेको हुनसक्ने उनको भनाइ छ ।

प्युठान घर भइ हाल भक्तपुर बस्दै आउनुभएका खुम केसीको अनुभवमा सरहको तिहार न्यास्रो भएको छ । कोभिडपछि धेरै व्यावसायी काठमाडौँ उपत्यकाबाट बाहिरएकाले पनि चलहपलहमा कमी आएको उनको भनाइ छ ।

पौराणिक मान्यताअनुसार दानवीर कहलिएका बलीराजालाई दमन गर्न वामनको रुप धारण गरेका भगवान विष्णुको सहारामा देवताहरु लागेका बेला तीन पाउ जमिन पाऊँ भनेर माग्दा बलीराजाले त्यति जमिन दिने संकल्प गरे । वामनको अवतार ठूलो हुँदै गएकाले उनको एउटा पाउले पृथ्वी र अर्को पाउले आकाश ढाक्न थाले ।

वामनको तेस्रो पाउ पर्नासाथ बलीराजा भासिएर पाताल पुगे । त्यसपछि राजाले विष्णुसँग वर्षमा एकपटक तिहारमा पृथ्वीलोक घुम्न पाउने वरदान लिए । तिनै बलीराजा पृथ्वीमा आउने भएपछि दीप प्रज्ज्वलनसहित देउसी भैलो खेल्ने गरिन्छ ।

सबै ठाउँमा बलिराजा जान नभ्याउने भएकाले देउसी र भैलो खेल्ने समूहले ‘हामी त्यसै आएनौँ, बली राजाले पठाए…’ भन्दै घरघरमा पुग्ने गरेका हुन् भनिएको छ ।


क्लिकमान्डु