यी चार मोर्चामा अमेरिकाभन्दा बलियो छ चीन



चीनका राष्ट्रपति सी चिनपिङले अमेरिकी समकक्षी जो बाइडनलाई सान फ्रान्सिस्कोमा भइरहेको एसिया पसिफिक इकोनोमिक कोअपरेशन (एपेक) को शिखर सम्मेलनका क्रममा बुधवार (नोभेम्बर १५) मा भेटघाट गर्ने भएका छन् । त्यसको पूर्वसन्ध्यामा सीको निकट रहेका सल्लाहकारहरूले चीनको रणनीतिक अवस्थाका विषयमा अभूतपूर्व आत्मविश्वास देखाइरहेका छन् । सीसँग बाइडनका विरुद्ध चारवटा बलियो कार्डहरू छन् ।

पहिलो, रुसी सेनाका विरुद्ध युक्रेनले गर्ने भनेको प्रत्याक्रमण पूर्णतः असफल रह्यो । युक्रेनी सेनाका कमान्डरले युद्ध अहिले “गतिरोध” को स्थितिमा रहेको भनी स्वीकार गरेका छन् । त्यसले अमेरिकाको रणनीतिक अडानलाई कमजोर बनाएको छ भने चीनका लागि युक्रेन युद्ध लाभदायक बनेको छ किनकि सन् २०२२ को फेब्रुअरीयता चीनले रुसतर्फ पहिलेको भन्दा दुईगुणा बढी निर्यात गरिरहेको छ ।

दोस्रो, अमेरिकाले चीनविरुद्ध चलाएको प्रविधि युद्ध विफल भएको छ किनकि कृत्रिम बौद्धिकता (एआई) कम्पनीहरूले अमेरिकाका एनभिडिया वा अन्य उत्पादकको चिपको साटो ह्वावेको द्रुत गतिको प्रोसेशरहरू किन्न थालेका छन् ।

तेस्रो, हमासले इजरायलमाथि अक्टोबर ७ मा गरेको आक्रमणपछि शुरू भएको गजा युद्धका कारण चीनलाई अमेरिकाको साझेदार मुलुक इजरायलका विरुद्ध गैरपश्चिम (ग्लोबल साउथ) को वस्तुगत नेता बन्ने विकल्प प्राप्त भएको छ । अहिले चीनले अमेरिकातर्फ भन्दा बढी निर्यात मुस्लिम विश्वतर्फ गर्न थालेको छ ।

अनि चौथो, अमेरिकी सेना प्रशान्त क्षेत्रको उत्तरपश्चिमी भागका साथै चीनको आफ्नै क्षेत्रका रूपमा रहेको दक्षिण चीन सागरमा चिनियाँ सेनासँगको भिडन्तका लागि इच्छुक छैन । त्यस क्षेत्रमा चिनियाँ जनमुक्ति सेनाका जमीनबाट जहाजमा मार हान्न सक्ने हजारौं क्षेप्यास्त्रहरू र लगभग १ हजारवटा चौथो तथा पाँचौं पुस्ताका अत्याधुनिक युद्धविमानहरू तैनाथ छन् । आफ्नै गृहक्षेत्रमा चीन अहिले अमेरिकाको तुलनामा निकै बलियो स्थितिमा छ ।

सी र बाइडनबीच हुन लागेको शिखरवार्ताको पृष्ठभूमिमा डर विद्यमान छ । दुवै पक्षले एकअर्काविरुद्धको भिडन्त युद्धमा परिणत हुन सक्ने डर लिएका छन् ।

अमेरिकाका अग्रणी कूटनीतिकर्मी हेनरी किसिन्जरले दी इकोनोमिस्ट पत्रिकालाई गत मे महिनामा बताएका थिए, “हामी अहिले पहिलो विश्वयुद्ध भन्दा ठीक अघिको स्थितिमा छौं । दुवै पक्षसँग राजनीतिक छुटको खासै अवसर छैन र अहिलेको स्थितिमा अलिकता मात्र समस्या आयो भने पनि विनाशकारी परिणाम देखिनेछन् ।”

चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ सल्लाहकार रनमिन विश्वविद्यालयका प्राध्यापक जिन कानरोङले नोभेम्बर ९ मा ‘दी अब्जर्भर’ सँग कुरा गर्दै भने, “अहिले विश्व महान् संघर्षको युगमा प्रवेश गरेको छ । पश्चिमको प्रभुत्व रहेको पुरानो व्यवस्था भताभुंग हुन थालेको छ तर नयाँ व्यवस्था स्थापित भइसकेको छैन ।” जिनले अहिलेको अवस्थालाई चीनको रक्तरञ्जित वारिङ स्टेट्स युग (ईसापूर्व ४७५ देखि २११ सम्म) सँग तुलना गरे ।

चीनले सन् २०३० सम्ममा आणविक हतियारहरूको संख्या १ हजार पु¥याउन लागेको भनी अमेरिकीहरूले चिन्ता गरेका छन् । सन् २०२० सम्म चीनसँग यस्तो हतियार जम्मा २२० वटा थियो । नोभेम्बर १० मा फरेन अफेयर्स पत्रिकामा प्रकाशित एक आलेखमा चेतावनी दिइएको छ, “अमेरिकाले आणविक हतियारको उपयोगका लागि राखिएको पूर्वशर्तलाई लचिलो बनाएको छ भनी चिनियाँ विश्लेषकहरू चिन्ता व्यक्त गर्दछन् । ताइवानमा युद्ध भएमा अमेरिकाले सीमित मात्रा आणविक हतियार उपयोग गर्न सक्ने सम्भावना छ । त्यसबाहेक अमेरिकी सेनाले चीनको आणविक हतियारलाई नष्ट गर्न वा उल्लेख्य मात्रामा कमजोर बनाउन नयाँ क्षमता हासिल गरेको भनेर पनि चिनियाँहरू चिन्ता गर्छन् ।”

अमेरिकाको क्यालिफोर्निया राज्यका गभर्नर गेभिन न्युसमले गत अक्टोबर २५ मा बेइजिङ भ्रमण गरेका थिए । सन् २०२४ मा हुने अमेरिकी राष्ट्रपति निर्वाचनमा बाइडनले स्वास्थ्यको कारण देखाउँदै वा उनको व्यक्तिगत र पारिवारिक वित्तीय कारोबारका विषयमा संसद्ले गर्ने छानबिनका कारण उम्मेदवारी नदिएमा डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार बन्न सक्ने व्यक्ति न्युसम नै हुन् । बिरामी बाइडनलाई विस्थापित गरी पार्टीको टिकट हासिल गर्ने योग्यतम उम्मेदवार न्युसम नै भएको आकलन गरिन्छ ।

न्युसमले “एक चीन नीतिमा आफ्नो समर्थन रहेको र ताइवानलाई स्वतन्त्र राष्ट्रका रूपमा देख्ने इच्छा नरहेको” उल्लेख गरेका छन् । उनले “अमेरिका र चीनको मित्रतालाई नवीकरण गर्ने र साझा भविष्य सुनिश्चित गराउने आधारभूत विषयहरूमा दुई देशबीचको सहकार्य सुचारु गर्ने” समेत भनेका छन् ।

ताइवानको स्वतन्त्रतालाई स्पष्ट रूपमा अस्वीकार गरेर न्युसमले बाइडनको अस्पष्ट भनाइको आफू विपरीत रहेको सन्देश दिएका छन् । यसअघि बाइडनले “ताइवानलाई स्वतन्त्र हुन उत्प्रेरित नगरे पनि यो उनीहरूको निर्णय भएको” बताएका थिए । बाइडनले ताइवानलाई प्रतिरक्षा गर्ने अमेरिकाको “प्रतिबद्धता” रहेको भनी घोषणा पनि गरेका थिए जसलाई चीनको परराष्ट्र मन्त्रालयले विरोध गरेको थियो । सान फ्रान्सिस्कोमा सीसँग भेट हुँदा बाइडनले न्युसम जस्तै गरी ताइवानका विषयमा चिनियाँहरूलाई आश्वस्त तुल्याउने सम्भावना छ ।

दक्षिण चीन सागरमा चीनको जलसेना र वायुसेनाले शक्तिप्रदर्शन गरिरहँदा अमेरिकी सेना चिन्तित बनेको छ । दुई देशका सेनाबीच अप्रिय स्थिति नआओस् भनी बनाइएको हटलाइन सेवालाई चीनले बन्द गरेर अमेरिकालाई चुनौती दिएको छ । सन् २०२१ यता चिनियाँ युद्धविमानहरू अमेरिकी विमानहरू नजिक २०० पटक जोखिमपूर्ण रूपमा आएको भनी एक महिनाअघि अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका एक अधिकारीले गुनासो गरेका थिए ।

चिनियाँ जनमुक्ति सेनाको रकेट बलको गैरआणविक हतियार विभाग “जमीनबाट मार हान्न सक्ने क्षमता भएको संसारको सबभन्दा ठूलो क्षेप्यास्त्र बल हो । उससँग रहेका २२ सयभन्दा बढी गैरआणविक बलिस्टिक तथा क्रुज क्षेप्यास्त्र एवं पर्याप्त मात्रामा रहेका जहाजनिरोधी क्षेप्यास्त्रहरूले दक्षिण चीन सागरमा रहेका सबै अमेरिकी युद्धपोतहरूलाई ध्वस्त बनाउन सक्छन् ।” मेजर क्रिस्टोफर जे. मिहालले यूएस आर्मी जर्नलमा प्रकाशित आलेखमा यस्तो दाबी गरेका छन् ।

अमेरिकाले ह्वावे टेक्नोलोजीजलाई नयाँ स्मार्टफोनका साथै एनभिडिया र अन्य अन्य अमेरिकी उत्पादकहरूको उत्पादनमा रहेको अत्याधुनिक आर्टिफिशियल इन्टेलिजेन्स प्रोसेशरबाट वञ्चित गराउनका लागि चीनतर्फ उच्चस्तरीय चिप निर्यात गर्न बन्देज लगाएको भए पनि ह्वावेलाई त्यसको कुनै असर परेन । गत नोभेम्बर ७ मा रोयटर्स समाचार संस्थाले दिएको खबरअनुसार, चीनको विशाल इन्टरनेट कम्पनी पाइतुले ह्वावेको ९१०बी एसेन्ड चिपहरू १६ सयवटा मगाएको छ । ती चिपहरू सर्वाधिक लोकप्रिय एआई प्रोसेशर एनभिडिया ए१०० ग्राफिक्स प्रोसेशिङ युनिटकै स्तरका छन् ।

उल्टो, एनभिडियाले चिनियाँ बजारका लागि चिपका नयाँ सेटहरू उपलब्ध गराउने भएको छ । अघिल्लो महिना अमेरिकाको वाणिज्य मन्त्रालयले घोषणा गरेको नयाँ बन्देजलाई नछल्ने हिसाबमा ती चिपहरूलाई डिजाइन गरिएको छ । वित्तीय परामर्शदातृ कम्पनी सेमीएनालिसिसले नोभेम्बर ९ मा बताएअनुसार, “एनभिडियाले आश्चर्यजनक रूपमा आफ्ना उच्चस्तरीय एच२०, एल२० र एल२ जीपीयूहरू चीन पठाएको छ । एनभिडियाले यी जीपीयूहरूका नमूनाहरू बनाइसकेको छ र अर्को महिनादेखि यी जीपीयूहरू व्यापक संख्यामा उत्पादन गरिनेछन् ।”

मुस्लिम विश्वमा दरिलो आर्थिक उपस्थितिका कारण चीनले गजामा भइरहेको युद्धलाई अमेरिका तथा उसका साझेदारहरूका विरुद्धको लहरका रूपमा उपयोग गरिरहेको छ । “ग्लोबल साउथको आवाज दिनदिनै चर्किंदै गइरहेको छ, अरब दुनियाँ मेलमिलापको पक्षमा छ भने अन्तर्राष्ट्रिय मञ्चमा तेस्रो विश्वले आवाज बुलन्द गरिरहेको छ,” अब्जर्भरले जिन कानरोङलाई उद्धृत गर्दै लेख्यो । “यी ऐतिहासिक घटनाक्रममा चीनको सशक्त उपस्थिति देखिन्छ र यी मुलुकहरूले चीनबाट ठूलो अपेक्षा राखेका छन् ।”

गजा युद्धमा अमेरिकी अडानको विरोध गर्ने र गैरपश्चिम विश्वमा बनेको आफ्नो उज्ज्वल छविलाई थप चम्काएर अमेरिकाको भूराजनीतिक प्रभाव घटाउने अवसर चीनले पाएको छ । हुन पनि विगत चार वर्षमा चीनले गैरपश्चिम विश्वतर्फ गर्दै आएको निर्यातको संख्या लगभग दोब्बर भएको छ ।

यस्तो अवस्थामा वाशिङटनले बेइजिङविरुद्ध खेल्न सक्ने कार्डहरू खासै छैनन् । एपेक शिखर सम्मेलनमा बाइडनले ताइवानका विषयमा लचिलो कुरा गरेर आफ्नो कमजोर स्थितिको उजागर गर्ने सम्भावना छ ।

(एसिया टाइम्सका प्रकाशित डेभिड गोल्डम्यानको विश्लेषणलाई क्लिकमान्डुका लागि विन्देश दहालले अनुवाद गरेका हुन् ।)


क्लिकमान्डु