गुणस्तरहीन मिठाईबाट जोगिऔं, गम्भीर स्वास्थ्य समस्या निम्तिनबाट बचौं



गाईको आन्द्रामा चाँदी र आल्मुनियमको टुक्रालाई बेरेर काठको मुङ्ग्रोले पातलो च्याप्टो नबनेसम्म पिट्ने गरिन्छ । यही वर्कलाई मिठाईमा सजाएर उपभोक्तालाई बिक्री गरिन्छ ।

काठमाडौं । भीडभाडको मौका छोपेर गुणस्तरहीन नक्कली मिठाई भिडाउने सम्भावना पनि त्यतिकै हुन्छ । यस्तो समयमा विश्वासिलो पसलबाट मात्रै मिठाई खरिद गर्नुपर्ने विज्ञहरूको सुझाव छ । नक्कली मिठाईको सेवनबाट स्वास्थ्यमा गम्भीर समस्या पनि आउन सक्छ ।

बजारमा अहिले गुणस्तरहीन मिठाईको दबदबा छ । काठमाडौं महानगरपालिका, वाणिज्य विभाग तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गर्दै आएको अनुगमनका क्रममा म्याद नाघेको कच्चा पदार्थ र खान योग्य रंग, पुरानो मिठाईमा नयाँ मिठाईको मिसावट, मिठाईको कच्चा पदार्थमा कमसल पदार्थको मिसावट, मिठाई बनाउन गुणस्तरहीन घिउ र तेलको प्रयोगलगायत समस्या भेटिएको छ ।

यसर्थ मिठाई खरिद गर्दा निक्कै ध्यान दिनुपर्छ । गुणस्तरहीन नक्कली मिठाईको थोरै प्रयोगले पनि मानव स्वास्थ्यमा दीर्घकालीन समस्या आउने सम्भावना हुन्छ । तिहारमा बासी, सडेका र मिसावट भएका खुवाको मिठाई बनाएर बिक्री गर्ने अत्यधिक सम्भावना हुन्छ ।

यसका साथै नक्कली घिउ र तेलमा तारेर अखाद्य रंगको प्रयोग तथा चाँदीको वर्क हालिएको रंगिचंगी स्वादिला मिठाईले पनि मानवस्वास्थ्यलाई दीर्घकालीन रूपमा ठूलो असर पुर्‍याउन सक्छ ।

यस्तै नक्कली दूधबाट निर्मित खुवाको मिठाई पनि अस्वस्थ्यकर हुन सक्छ । वरिष्ठ खाद्य वैज्ञानिक डा. दिलीप सुब्बाका अनुसार मिठाईलाई आकर्षक बनाउन प्रयोग हुने चाँदीको वर्क मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । चाँदीको वर्क लागेको (मिठाईको माथिल्लो तहमा लगाइएको सेतो टल्कने जलप) मिठाई सेवन गर्न नहुने उनको सुझाव छ ।

चाँदीको वर्क गल्न नसक्ने भएकाले यसले मानव शरीरलाई निकै समस्या पार्छ । भारतको लखनउस्थित इन्डियन इस्टिच्युट अफ टक्सिकोलोजी रिसर्च सेन्टर र सिमलास्थित इन्दिरा गान्धी मेडिकल कलेजको अध्ययनअनुसार आल्मुनियम सस्तो भएकाले चाँदी वर्कको स्थानमा व्यवसायीले आल्मुनियमको प्रयोग गर्न थालेका छन् ।

डा. सुब्बा भन्छन्, ‘यसले सिधै कलेजो र आन्द्रामा असर पार्छ ।’ अध्ययनअनुसार चाँदी र आल्मुनियमको वर्कमा निकेल, लेड, क्रोमियम र क्याडियम भन्ने तत्व पाइन्छ । यस्ता मिठाईको उपभोग गर्दा क्यान्सर, कलेजो, मृगौला र घाँटीसम्बन्धी रोग लाग्न सक्छ ।

चाँदीको वर्क आफैंमा शुद्ध शाकाहारी होइन । चाँदीको पातलो च्याप्टो टुक्रा बनाउन गाईको ताजा आन्द्रा प्रयोग गरिन्छ । गाईको आन्द्राबिना चाँदी वा आल्मुनियमको वर्क बन्न नसक्ने उक्त प्रतिवेदनले ठोकुवा गरेको छ ।

आन्द्रामा चाँदी र आल्मुनियमको टुक्रालाई बेरेर काठको मुङ्ग्रोले पातलो च्याप्टो नबनेसम्म पिट्ने गरिन्छ । यही वर्कलाई मिठाईमा सजाएर उपभोक्तालाई बिक्री गरिन्छ ।

मिठाईको मिसावट र गुणस्तरहीनता यतिमै सीमित छैन । सिन्थेटिक पेन्ट्समा केही दूध, युरिया, कपडा धुने पाउडर, कास्टिक सोडा र फरमालिन मिश्रण गरेर नक्कली दूधसम्म बनाउन थालिएको छ । नक्कली दूधबाट खुवा र पनिर बनाइन्छ ।

यही खुवाबाट विभिन्न खालका बर्फी, पेडा र अन्य महँगा मिठाई तयार पारेर भीडभाडको मौका छोपेर बिक्री हुन्छ । खुवामा गहुँको पीठो, मैदा, आलु, कास्टिक सोडा, वनस्पति घिउ मिसाएर गुणस्तरहीन मिठाई तयार पारिन्छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका पूर्वमहानिर्देशक सञ्जीवकुमार कर्ण भन्छन्, ‘धेरै मुलुकमा यस्तो समस्या बाहिर आए पनि नेपालमा अहिलेसम्म फेला पार्न सकेका छैनौं । हामीले नियमित यो विषयमा निगरानी गरिराखेका छौं ।’

नक्कली दूधबाट निर्मित मिठाई सेवनबाट वान्ता हुने, मृगौला र कलेजो बिग्रने र क्यान्सर लाग्न सक्छ । खुला रूपमा बिक्री हुने मिठाईमा पेट्रोलियम पदार्थबाट निस्कने अवशेष, धूलो, लिड (सिसा), क्याडमियम, पारोलगायत पदार्थको अवशेष मिश्रण हुने खतरा हुने भएकाले त्यस्ता मिठाईबाट सचेत हुनुपर्छ ।

अखाद्य रंग मिश्रण भएको मिठाई उपभोग गर्न नहुने जानकारी गराउँदै कर्णले सकेसम्म मिठाई तयार पार्दा प्रतिकिलोमा दुई सय एमएल खाने रंगमात्र प्रयोग गर्न सुझाव दिए । ‘तर सकेसम्म मिठाई तयार गर्दा खाद्य र अखाद्य दुवै प्रकारका रंग प्रयोग गर्नु हुन्न्,’ उनले भने ।

विभागका अनुसार अनुगमनका क्रममा अहिलेसम्म मिठाई बनाउने घिउ र मख्खनमा राँगाभैंसीको बोसो मिसाइएको, म्याद नाघेको घिउ र तेल प्रयोग गरिएको, घिउमा पाम आयल, डाल्डा, भेजिटेवल आयल मिसावट गरेको, सडेको खुवामा ताजा खुवा मिसाएर नयाँ मिठाई तयार पारेको, खुवामा बेसार र पीठो मिसाइएको, दूधमा कास्टिक सोडा मिसाइएको, तथा मिठाईमा खाद्य र अखाद्य रंग मिसाइएको फेला पारिएको छ ।


राजेश बर्मा