अर्थ समितिमा विपक्षीदेखि सत्तारुढ सांसदसम्मका गुनासै-गुनासा
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक एवं सांसद पदम गिरीले देशको अर्थतन्त्र गम्भीर मोडमा हुँदा पनि अर्थमन्त्री धेरै समय देशबाहिर बसेको बताएका छन् ।
संसदको अर्थसमितिको बैठकमा शुक्रबार सांसद गिरीले ऋण काढेर कर्मचारीलाई तलब खुवाउनुअवस्था गम्भीर रहे पनि अर्थमन्त्री गम्भीर नदेखिएको आरोप लगाए ।
बजेटले भनेअनुसार पूर्वतयारी गरेको आयोजनामा किन खर्च नगरेको भन्दै उनले अर्थमन्त्रीलाई प्रश्न गरे । ‘१८-२० करोड पाउने निर्माण व्यवसायीलाई अर्थ मन्त्रालयले १ करोडमात्रै दिएको छ,’ गिरीले भने, ‘यो गम्भीर स्थिति हो ।’
सामान आयात गरेर संकलन गरेको राजस्वले धेरै पर पुग्न नसकिने उनले बताए । अहिले बैंकको ब्याज पनि निकै बढेको र बैंकले सीमित व्यक्तिलाई मात्रै कर्जा दिने गरेको भन्दै उनले त्यसलाई रोक्दै सबैले कर्जा पाउने व्यवस्था मिलाउन आग्रह गरे । अहिले पनि अनुत्पादक क्षेत्रमा कर्जा थपिँदै गएको उनको भनाइ छ ।
अहिले बैंकमा खराब कर्जा बढेको भनिए पनि बैंकको वास्तविकता बाहिर आयो भने अवस्था दयनीय हुने सांसद गिरीले बताए ।
कांग्रेस सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्र कार्कीले सबै विषय सकारात्मक हुँदा पनि अर्थतन्त्र संकटमा परेको बताए । देश विकासमा सबैको ध्यान जानुपर्ने समय भए पनि त्यस्तो नभएको उनको भनाइ छ ।
अहिले ऋण बढ्दै गएको तर त्यसले उत्पादन दिन्छ कि दिँदैन भन्नेमा ध्यान नदिइएको तर्क गरे । साना तथा मझौला उद्योगमा विश्वासको अभाव रहेको सांसद कार्कीले बताए । ‘नेपाल आउने पर्यटकबाट उठ्ने पैसाभन्दा नेपाली विद्यार्थी विदेश पढ्न जाँदा लाग्ने खर्च बढेको छ, सरकार यसतर्फ सचेत हुनुपर्छ,’ उनले भने ।
नेकपा समाजवादी पार्टीका सांसद एवं पूर्वमन्त्री मेटमणि चौधरीले अहिले जिल्ला-जिल्लाका निर्माण व्यवसायीले पैसा पाउन नसकेको बताए । आयोजना सकिए पनि पैसा नपाउँदा निर्माण व्यवसायीदेखि श्रमिकसम्म समस्यामा परेको उनको भनाइ छ ।
‘सरकारले निर्माण व्यवसायीको भुक्तानी नगर्दा बजारमा पैसा जान सकेको छैन,’ चौधरीले भने ।
सरकारले विदेशी विनियम सञ्चिति छ भन्ने तर बजार सधैं सुक्खा रहने स्थिति देखिएको भन्दै उनले यसलाई रोक्न सुझाव दिए । ‘विदेशी लगानी आउँदा धेरै सर्त हुने गरेको छ,’ उनले भने, ‘यसैले लगानी सम्मेलन गरेर आउने लगानीभन्दा सम्मेलन गर्न लाग्ने लगानी बढी हुने अवस्था नआओस् ।’
सांसद पूर्णबहादुर लामाले रामेछाप जिल्लामा अनावश्यक पुल बनेको बताए । ‘तीन किलोमिटर दूरीमा २२ वटा पुल बनेका छन्,’ उनले भने, ‘सांसद र मन्त्रीको नजिक हुँदा चुनाव जित्न पुल बन्ने गरेको छ, पुल खोलामा भन्दा पनि पाखाबारीमा बन्ने गरेका छन् ।’
सरकारी निकायले मुद्दति निक्षेपमा राख्ने पैसा सरकारी बैंकमा राख्नुपर्ने उनको भनाइ छ । अहिले फुटबल र क्रिकेटमा बाजी राख्ने क्रम बढेको भन्दै उनले मोबाइल बैंकिङ बन्द गर्न सुझाव दिए ।
सासंद छिरिङ लामाले मुस्ताङ म्याक्स जस्ता गाडी नेपालमा उत्पादन हुनुपर्ने बताए । ‘अब सहकारी संस्था धमाधम खारेजी गर्नुपर्छ,’ उनले भने, ‘सहकारीले ठगेको पैसा फिर्ता गरेर सबै सहकारी खारेजी गर्नुको विकल्प छैन ।’