चिनीमा चर्को मूल्य प्रस्ताव गर्दै भारतले भन्यो: नजिक छैन गुजरातबाट लैजाऊ, नेपाली बजारमा अकासियो मूल्य



सुरुमा बिहार र यूपीबाट भारतको चलनचल्ती मूल्यमा चिनी उपलब्ध गराउने अनौपचारिक छलफल भएको थियो । तर, कागजी प्रक्रिया सुरु भएपछि भारतले बिहार र यूपीमा चिनी नभएकाले गुजरात राज्यको एक सहकारी संस्थामार्फत आपूर्ति गर्न सकिने प्रस्ताव नेपाललाई गरेको छ ।

काठमाडौं । दसैंमा चर्को अभाव व्यहोरेका उपभोक्ताले तिहारमा पनि पर्याप्त चिनी नपाउने भएका छन् । सुलभ र सहज रुपमा चाहिएको परिमाणमा चिनी उपलब्ध नहुँदा उपभोक्ताको यो वर्षको तिहार खल्लो हुने भएको छ ।

तिहारमा चिनीको खपत अत्यधिक हुन्छ । मिठाइदेखि सेलरोटीसम्म बनाउन चिनीको प्रयोग हुन्छ । दसैं, तिहार र छठको समयमा मात्रै ३ हजार ५ सय टन चिनीको माग हुन्छ । सरकारले तिहारअघि भारतबाट कोटाको चिनी ल्याएर उपभोक्तालाई वितरण गर्ने बताएको थियो । तर, भारतीय चिनी छठपछि मात्रै आउने निश्चित भएको छ ।

‘हामीले तिहारअघि कोटाको चिनी ल्याउन अथक प्रयास गर्‍यौं तर निर्धारित समयमा ल्याउन सकेनौं,’ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले भने, ‘अब छठपछि मात्रै आउने आशा गरौं । केही प्राविधिक समस्या सिर्जना भएकाले चिनी आउन ढिलाइ भएको हो ।’

मन्त्रालयका अनुसार भारतले चलनचल्तीको मूल्यभन्दा अत्यधिक मूल्य र उपलब्ध गराउने स्थान (लोकेसन) पनि निक्कै टाढा प्रस्ताव गरेकाले चिनी ल्याउन ढिलो भएको छ ।

सुरुवातमा भारतको बिहार र युपीबाट भारतको चलनचल्ती मूल्यमा चिनी उपलब्ध गराउने अनौपचारिक छलफल भएको थियो । तर, कागजी रुपमा प्रक्रिया सुरु भएपछि भारतले बिहार र यूपीमा चिनी नभएकाले गुजरात राज्यको एक सहकारी संस्थामार्फत आपूर्ति गर्न सकिने प्रस्ताव नेपाललाई गरेको छ । यस्तै मूल्य पनि अन्तर्राष्ट्रिय मूल्यको आधारमा प्रस्ताव पठाएको छ ।

भारतीय बजारमा अहिले न्यूनतम् ५७ रुपैयाँ ४२ पैसादेखि ७६ रुपैयाँ ५६ पैसामा प्रतिकिलो चिनी बिक्री भइरहेको छ । तर, भारतले अन्तर्राष्ट्रिय मूल्य प्रतिकिलो ८२ रुपैयाँ ३५ पैसाको हाराहारीमा प्रस्ताव गरेको छ ।

मन्त्रालयका अनुसार भारतीय बजारमा रहेको चलनचल्तीको मूल्यमा बिहार वा यूपीबाट चिनी आपूर्ति भएको भए तिहारअघि आइसक्थ्यो ।

‘सबै खर्च जोडेर उपभोक्ता मूल्य प्रतिकिलो ९० रुपैयाँभित्र तोकिन्थ्यो तर अहिले अधिक मूल्य र आपूर्ति स्थान निक्कै टाढा प्रस्ताव भएकाले विस्तृत अध्ययनका आधारमा मात्रै आपूर्ति गर्ने सरोकारवाला निकायबाट जानकारी प्राप्त भएको छ,’ प्रवक्ता ठाकुरले भने ।

अहिले भारतले प्रस्ताव गरेको मूल्य र आपूर्ति स्थानका कारण खरिद, लोड-अनलोड, ढुवानी गरी वीरगन्जसम्म ल्याउन १ सय रुपैयाँभन्दा माथि लागत खर्च पुग्ने बताइएको छ । गुजरातबाट वीरगन्जसम्म ल्याउन पनि ६ देखि ७ दिन लाग्ने मन्त्रालयको भनाइ छ ।

चिनी काठमाडौंसम्म ढुवानी गरी फेरि लोड-अनलोड र नाफा जोडेर उपभोक्तालाई उपलब्ध गराउँदा प्रतिकिलो ११५ रुपैयाँभन्दा बढी मूल्य पर्न जाने प्रक्षेपण भएकाले पनि चिनी आयात गर्न सरोकारवाला निकाय साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई समस्या सिर्जना भएको छ ।

‘भारतले उपलब्ध गराएको मूल्यको विषयमा हामी अझै कूटनीतिक रुपमा मोलमोलाइ गर्दैछौं,’ प्रवक्ता ठाकुरले भने, ‘कूटनीतिक मोलमोलाइका कारण थोरै भए पनि मूल्य घट्दा तुलनात्मक रुपमा केही सस्तोमा नेपाली उपभोक्ताले चिनी खरिद गर्न पाउन सक्छन् ।’

भारतले बिहीबारमात्रै सरकारद्वारा सरकारलाई (जीटुजी) प्रक्रियाअन्तर्गत २५ हजार टन चिनी उपलब्ध गराउने कोटा छुट्टयाएको निर्णय गरी नेपाललाई जानकारी गराएको थियो । भारतले उक्त चिनी सन् २०२४ सेप्टेम्बर ३० तारिखभित्र नेपालले आपूर्ति गरिसक्नुपर्ने समयसीमा तोकेको छ ।

उक्त निर्णयको आधारमा उद्योग मन्त्रालयले शुक्रबार परराष्ट्र मन्त्रालयमार्फत छुट्टयाइएको कोटामध्ये तत्कालका लागि २० हजार टन उपलब्ध गराइदिन भारत सरकारसँग पत्राचार गरेको थियो ।

शनिबार नेपाल र भारतमा सार्वजनिक बिदा र आइतबार भारतमा सार्वजनिक बिदा परेकाले ती दुवै दिनमा कुनै प्रक्रिया अघि बढ्दैन । त्यसपछि सोमबारमात्रै उद्योग मन्त्रालयले उक्त कोटामध्ये १० हजार टन साल्ट ट्रेडिङ र १० हजार टन खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई आयात गर्न पत्र पठाएको थियो ।

यो पत्रका आधारमा ती दुवै संस्थाले मंगलबार भारतको सरोकारवाला निकायमा चिनी आपूर्तिका लागि समन्वय गरेका थिए । 

बजारमा चिनीको कालोबजारी

बजारमा चिनी अभाव हुँदा व्यापारीले आफूखुसी मूल्य तोकेर उपभोक्तालाई चिनी बिक्री गर्न थालेका छन् ।

सरकारले भारतबाट कोटाको चिनी ल्याउने प्रक्रिया सुरु गरेलगत्तै उद्योगीले स्वस्फूर्त रुपमा ३ हजार टन चिनी बजारमा पठाउने निर्णय गरेका थिए । एभरेष्ट सुगर मिलले कोकाकोलाजन्य पेय पदार्थ तयार पार्न कोकाकोला कम्पनीका लागि राखेको ३ हजार टन चिनी साल्टलाई उपलब्ध गराएको थियो ।

मन्त्रालयका अनुसार मूल्य अभिवृद्धि कर, लोड-अनलोड, ढुवानी खर्चबाहेक उक्त चिनी ९५ रुपैयाँ प्रतिकिलोमा साल्टलाई उपलब्ध गराइएको हो ।

साल्टले खरिद गरेको यो चिनी खुद्रा विक्रेतालाई विभिन्न खर्च जोडेर ११२ रुपैयाँ ५० पैसा प्रतिकिलोका दरले उपलब्ध गराएको छ । सुरुवाती समयमा १० बोराका दरले उपलब्ध गराएकोमा अहिले बढाएर ५० किलोको ५ बोरासम्म चिनी खुद्रा व्यापारीलाई उपलब्ध गराउन थालिएको छ ।

तुलनात्मक रुपमा बुधबारदेखि चिनी खरिद गर्ने सर्वसाधारणको भीड केही कम भए पनि व्यापारीले उपभोक्ताबाट प्रतिकिलो १४५ रुपैयाँसम्म लिइरहेका छन् ।

सरकारले कडाइका साथ अनुगमन नगर्दा व्यापारीले अहिले अभावको मौका छोपी अत्यधिक मूल्यमा चिनी बिक्री गर्दै आएका हुन् । साल्टले भने उपभोक्तालाई प्रतिकिलो ९७ रुपैयाँका दरले २ किलोसम्म चिनी बिक्री गर्दै आएको छ ।


राजेश बर्मा