बेलायतको सबैभन्दा धनी हिन्दुजा बद्रर्स लगानी सम्भावनाको अध्ययन गर्न नेपाल आउँदै



काठमाडौं । नेपालको कूल अर्थतन्त्रको हाराहारीमा सम्पत्ति रहेको बेलायतको सबैभन्दा धनीमध्येका एक व्यावसायिक घराना हिन्दुजा बद्रर्सले नेपालमा लगानी गर्ने रुचि देखाएको छ ।

हिन्दुजा ब्रदर्सको टोलीले नेपालमा रहेको लगानी सम्भावनाको विषयमा स्थलगत अध्ययन गर्ने तयारी गरेको हो ।

नेपालको जलविद्युत, प्रविधि र पर्यटन क्षेत्रमा लगानी सम्भावनाका विषयमा हिन्दुजा बद्रर्सको टोलीले अध्ययन गर्न चाहेको अर्थमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

‘गत साता बेलायत भ्रमणको क्रममा मैले हिन्दुजा समूहलाई नेपालमा लगानी गर्न आग्रह गरेको थिएँ । जलविद्युत, प्रविधि र पर्यटन क्षेत्रमा लगानी सम्भावना रहेको विषय मैले राखेको थिएँ,’ मन्त्री महतले क्लिकमान्डुसँग भने, ‘अहिले नेपालमा लगानी सम्भावनाका विषयमा अध्ययन गर्न हिन्दुजाको टोली आउन लागेको हो ।’

नेपालको कुन कुन क्षेत्रमा लगानी सम्भावनाका विषयमा अध्ययन गर्ने भन्ने विषयमा हिन्दुजा समूहका कर्मचारीले आन्तरिक तयारी सुरू गरेका छन् ।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले हिन्दुजा समूहसँग सम्पर्क स्थापना गर्दै अर्थमन्त्री महतको बेलायत भ्रमणका क्रममा हिन्दुजा समूहसँग भेट गराएका थिए ।

‘बेलायतबाट निजी लगानी कसरी भित्र्याउने भन्ने विषयमा मैले हाम्रो राजदूतसँग पनि छलफल गरेको थिएँ,’ मन्त्री महतले भने, ‘हामी सबैको प्रयासले बेलायतको सबैभन्दा ठूलो समूहसँग वार्ता भएको थियो। मैले लगानी सहजीकरणका लागि सबै प्रकारका सहयोग गर्ने प्रतिबद्धता जनाएँ । उहाँहरूले पनि रुचि देखाउनु भयो। आशा गरौं उहाँहरू कुनै क्षेत्रमा लगानी ल्याउनु हुनेछ। हामी सबै प्रकारको सहयोग र सहजीकरण गर्न तयार छौं ।’

करिब ३५ अर्ब डलर (करिब ४६ खर्ब रुपैयाँ) भन्दा बढी सम्पत्ति भएको हिन्दुजा बद्रर्स बेलायतको सबैभन्दा धनी समूह हो । हिन्दुजासँग यसअघि नै नेपालको उदयीमान व्यावसायिक घराना आईएमई ग्रुपले सहकार्य गरिसकेको छ । हिन्दुजाले उत्पादन गरेको अशोक लेल्याण्ड ब्राण्डका सवारीसाधनको नेपालका लागि आईएमई ग्रुप हो ।

बेलायतमा हिन्दुजाका प्रतिनिधिहरुसँग भेट भएको अनि अर्थमन्त्री र आफूले नेपालमा लगानी गर्न आउन आग्रह गरेको आईएमई ग्रुपका अध्यक्षसमेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले जानकारी दिए ।

‘आईएमई ग्रुप र हिन्दुजा ग्रुपबीच पहिलादेखि नै सहकार्य हुँदै आएको छ, हामीले निरन्तर नेपालमा लगानी गर्न आग्रह गर्दै आएका थियौं, उ सकारात्मक थियो,’ अध्यक्ष ढकालले भने, ‘अस्ति अर्थमन्त्रीज्यूसँग पनि भेट भएपछि भने हिन्दुजाका प्रतिनिधिहरु थप उत्साहित भएका छन् । उनीहरु चाँडै नै आउने छन् ।’

ढकालकाअनुसार हिन्दुजाले एसेम्बल प्लान्ट र पूर्वाधारमा पनि चासो देखाएको छ ।

‘हामीले राम्रो वातावरण दिन सक्यौं भने हिन्दुजा जस्तो ठूलो समूहलाई नेपाल भित्र्याउन सक्छौं,’ उनले भने ।

विभिन्न क्षेत्रमा हिन्दुजासँग आईएमई ग्रुप सहकार्य गर्न तयार रहेको पनि ढकालले बताए ।

अभिभाजित भारतको शिकारपुर (हालः सिन्ध, पाकिस्तान) मा परमानन्द दिपचन्द हिन्दुजाले हिन्दुजा समूह स्थापनामा गरेका थिए ।

सन् १९१९ मा भारतभन्दा बाहिर इरानमा कार्यालय स्थापना गर्दै दिपचन्दले हिन्दुजा समूहको व्यापार विस्तार गरेका थिए ।

मर्चेन्ट बैंकिङ र ट्रेड गर्दै आएको हिन्दुजा समूहको प्रधानकार्यालय सन् १९७९ सम्म इरानमा थियो । त्यसपपछि उक्त समूहले यूरोपबाट व्यापार गर्न थालेको थियो ।

हाल समूहको डिजिटल प्रविधि, मिडिया, मनोरञ्जन, पूर्वाधार निर्माण र परियोजना विकास, लुब्रिकेन्ट तथा विविध केमिकल, उर्जा, रियल स्टेट, होटल तथा हस्पिटालिटी, हेल्थकेयर लगायतका क्षेत्रमा हिन्दुजा समूहको लगानी छ ।

समूहले श्रीचन्द परमानन्द हिन्दुजाको नेतृत्वमा विविध क्षेत्रमा लगानी विस्तार गरेको थियो ।

गत मे १७ मा श्रीचन्दको मृत्युपछि समूहको नेतृत्व उनका भाई गोपीचन्दले गरिरहेका छन् ।

गोपीचन्दलाई उनका भाइहरु प्रकाश र अशोकले सहयोग गर्ने हिन्दुजा समुहको वेवसाइटमा छ ।

हिन्दुजा समुहले बेलायतका पूर्वप्रधानमन्त्री विस्टन चर्चिलले दोस्रो विश्व युद्धका क्रममा प्रयोग गरेको कार्यालयमा होटल सञ्चालन गरिरहेको छ । यस्तै, उक्त भवनमा रहेका कार्यालयबाट बेलायतले प्रथम विश्व युद्धसमेत लडेको थियो ।


क्लिकमान्डु