वैशाखमा लगानी सम्मेलनको तयारी, अर्थ मन्त्रालयले तयार गर्‍यो प्रस्ताव



काठमाडौं । सरकारले अगामी वैशाखमा लगानी सम्मेलन गर्ने तयारी गरेको छ । अर्थ मन्त्रालयले वैशाखमा लगानी सम्मेलन गर्ने प्रस्ताव तयार गर्दै स्वीकृतिको लागि मन्त्रिपरिषद्मा पठाउने तयारी गरेको हो ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा विदेशी लगानी आकर्षित गर्न लगानी सम्मेलन आयोजना गर्ने घोषणा गरेको थियो । यस्तै, लगानी बोर्ड नेपालको ५३ औं बैठकले गत चैतमा २०८० भित्र लगानी सम्मेलन आयोजना गर्ने भन्दै सम्मेलनको अवधारणपत्र स्वीकृत गरेको थियो ।

प्रधानमन्त्रीको नेतृत्वमा बसेको बोर्डको बैठकले सम्मेलनको पूर्व तयारी गर्ने जिम्मेवारी लगानी बोर्डलाई दिएको थियो ।
चालु आर्थिक वर्षको बजेटमा गरिएको घोषणा र लगानी बोर्डको सञ्चालक समितिले गरेको निर्णय कार्यान्वयन गर्न अर्थ मन्त्रालयले लगानी सम्मेलन सम्बन्धी निर्णय गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाउन लागेको हो ।

‘हामीले आगामी वैशाखमा लगानी सम्मेलन गर्ने गरी मन्त्रिपरिषद्को बैठकमा पेस गर्ने प्रस्ताव तयार गरेका छौं,’ अर्थ मन्त्रालयका एक अधिकारीले भने,‘मन्त्रिपरिषद्ले निर्णय गरेपछि मात्रै सम्मेलनको मिति एकिन हुन्छ ।’

नेपाललाई आकर्षक लगानी गन्तव्यका रूपमा चिनाउनुको साथैं नेपाल सरकारले प्रत्यक्ष विदेशी लगानीलाई सहज हुने गरी गरेका सुधारको विषयमा जानकारी दिन लगानी सम्मेलन आयोजना गर्ने लगाएको अर्थ मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

यसअघी नेपाल सरकारले दुई पटक लगानी सम्मेलन आयोजना गरिसकेको छ ।

संविधान निर्माण भएपछि गठन भएको प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले पहिलो पटक २०७३ फागुन १९ र २० गते लगानी सम्मेलन आयोजना गरेको थियो ।

उक्त सम्मेलनमा सम्मेलनमा करिब १४ खर्ब रुपैयाँ बराबर लगानी प्रतिबद्धता आएको थियो । चिनियाँ लगानीकर्ताहरुले मात्रै करिब ८ खर्ब रुपैयाँभन्दा बढी नेपालमा लगानी गर्ने प्रतिबद्धता जनाएका थिए ।

यस्तै, बंगलादेशी उद्यमीले २ खर्बभन्दा बढी लगानी गर्ने प्रतिवद्धता जनाए । तर, उक्त सम्मेलनमा गरिएको प्रतिवद्धता अनुसार प्रत्यक्ष विदेशी लगानीमा वृद्धी भने भएन ।

उक्त सम्मेलनमा भारत, जापान, बेलायत, श्रीलंका, मलेसियालगायत देशका लगानीकर्ताले समेत नेपालमा लगानी गर्ने इच्छा व्यक्त गरेका थिए ।

नयाँ संविधान जारी भएपछिको निर्वाचनमा विजयी भएको केपी ओली नेतृत्वको सरकारले दोस्रो पटक २०७५ चैत १५ र १६ मा लगानी सम्मेलन आयोजना गरेको थियो ।

उक्त सम्मेलनमा सरकारी र गैरसरकारी गरी ७७ वटा परियोजना सो केसमा राखिएको थियो । सम्मेलनमा विभिन्न देशका लगानीकर्ताहरुले सो केसमा राखिएका ७७ मध्ये ३० वटा परियोजनामा २३ खर्ब र तथा शोकेस नगरिएका ११ वटा परियोजनामा ८ अर्ब रुपैयाँ लगानीको प्रतिवद्धता जनाएका थिए ।

दोस्रो सम्मेलनमा पनि चिनियाँ लगानीकर्ताहरुले सबै भन्दा बढी परियोजनामा लगानी प्रतिवद्धता जनाएका थिए । सम्मेलनमा निजगढस्थिति दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउन ५ देशबाट प्रस्ताव आएको थियो । तर, सम्मेलनमा गरिएको प्रतिवद्धता अनुसार बास्तबिक लगानी भने आउन सकेन ।

आगामी वैशाखमा आयोजना हुन लागेको लगानी सम्मेलन विगतभन्दा फरक हुने लगानी बोर्ड नेपालका अधिकारीहरु बताउँछन्।

‘विगतमा हामीले लगानीकर्तालाई नेपालमा लगानीको ठूलो सम्भावना छ भन्ने गर्दथ्यौं । धेरै परियोजना सो केसमा राखेका थियौं । यसपटक हामीले परियोजनाको पूर्व तयारीमा धेरै काम गरेका छौ,’लगानी बोर्ड नेपालका एक अधिकारीले भने, ‘यसपटक विगतमा जस्तो धेरै परियोजना सो केसमा राख्ने छैनौं । प्रारम्भिक अध्ययन सम्पन्न भएका र लगानीकर्तालाई नाफा हुन सक्ने सिमित मात्रै परियोजना सो केसमा राख्ने तयारी छ ।’

यसपटकको सम्मेलन नेपालमा लगानी गर्दा प्रतिफल सुनिश्चित रहेको र विगतमा रहेका कयौं जटिलता कम हुँदै भएको सन्देश दिनमा केन्द्रित हुने अर्थ मन्त्रालयका अधिकारीहरु बताउँछन् ।


क्लिकमान्डु