नेपालको विकासमा भारतीय सहयोग महत्वपूर्ण: अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपालको विकासमा भारतीय सहयोग महत्वपूर्ण रहेको बताएका छन् । मंगलबार मन्त्री डा. महतले त्रिविवि शिक्षण अस्पतालको मङ्गलादेबी बर्थिङ सेन्टरको उद्घाटन गर्दै भारतले नेपाललाई महत्वपूर्ण क्षेत्रमा सहयोग गर्दै आएको बताएका हुन् ।
‘मंगलादेवीको नाममा बर्थिङ सेन्टर स्थापना हुनु खुशीको कुरा हो । नेपाल–भारत सहयोगअन्तर्गत स्मल ग्रान्ट परियोजनाअन्तर्गत २० वर्षदेखि लगातार भारत सरकारले नेपालको महत्वपूर्ण क्षेत्रमा सहयोग गर्दै आएको छ’ मन्त्री डा. महतले भने, ‘साना परियोजनाको प्रवाह बढी छ, कार्यान्वयन अवधि छोटो छ । सिधैं स्थानीय तहका जनताले प्रत्यक्ष लाभ यसबाट प्राप्त गर्दछन् । भारतीय सरकार, भारतीय दूतावास काठमाडौं र महामहिम राजदूत धन्यवादका पात्र हुनुहुन्छ ।’
आफू असहज अवस्थामा अर्थमन्त्री बनेको तर अहिले अर्थतन्त्रले गतिलिइरहेको उनको भनाइ थियो ।
‘म धेरै अप्ठ्यारो समयमा अर्थमन्त्री बनेको हुँ, कोभिडको प्रभावले आर्थिक गतिविधिमा शिथिलता आएको थियो । मानिसहरुमा निराशा थियो । तर, अहिले विस्तारै गति लिँदैछ’, मन्त्री डा. महतले भने, ‘सामाजिक सञ्जालको पनि जमाना छ । नकरात्मक कुरा छिट्टै लोकप्रिय हुन्छ, यसले आम मानिसमा हो कि भन्ने भ्रम पारदिन्छ ।’
अनुत्पादक क्षेत्रमा लगानी, कोभिडका बेला अत्याधिक पूँजी प्रवाह र प्रतिफल नआएको उनको भनाइ छ । ‘घरजग्गा व्यवसायमा पनि एकदमै पूँजी प्रवाह भयो, त्यसले पनि केही समस्या पर्यो । सामाजिक सञ्जालमा पोस्ट भएको सामाग्रीले पनि आम मानिसमा आत्मविश्वास कम भएको छ’ उनले भने ।
‘अहिले रेमिटेन्स वृद्धि भइरहेको छ । पर्यटन व्यवसायमा उत्साह छाएको छ । यसले अर्थतन्त्रको गतिलाई वृद्धि गर्छ । त्यसकारण निराश हुनुपर्ने अवस्था छैन । अब आत्मविश्वास जगाउनुपर्ने आवश्यकता छ । यसका लागि नागरिक समाज, सरकार, निजी क्षेत्र र सबैले खर्च गर्न डराउनुपर्दैन’ मन्त्री डा. महतले भने, ‘भोलिका दिनलाई सम्झेर मानिसहरु खर्च गर्न डराएको स्थिति थियो, अहिले त्यस्तो छैन । प्रतिफल आउँदैन कि भनेर लगानीकर्ताहरु डराएको स्थिति थियो । आम मानिसमा आत्मविश्वास नभएपछि रोजगारीमा असर पर्यो, आयमा असर पर्ने भयो, त्यस्तै राजश्वमा असर पर्ने भयो ।’
पूँजीगत खर्च कम विनियोजन गर्नुपरेका कारण धेरै खर्च गर्न नसकिएको उनले बताए ।
पुनर्निर्माणको ऋण तिर्ने बेला भएको छ, कर्मचारीको तलबभत्तासँग सँगै सामाजिक सुरक्षाभत्तामा हामी ठूलो रकम खर्च गर्छौ । यो तीनवटा शीर्षकमा छुटाइएको रकमले गर्दा पूँजीगत खर्च कम विनियोजन गर्नुपरेको छ । जसले गर्दा हामीले धेरै खर्च गर्न सकेका छैनौं’ महतले भने ।
‘सीमित समयका लागि हामी अप्ठ्यारोमा परेका थियौं, तर भविष्य उज्यालो छ । विश्व बैंक, एडिबीसँग हामीले जलवायु परिवर्तनको सन्दर्भमा न्यून ब्याजमा ऋण र अनुदानका विषयमा छलफल भएको छ । किनभने जलवायु परिवर्तन हाम्रा कारणले भएको होइन, त्यसकारण त्यसबाट आउने सहयोग नेपालले डिर्जभ गर्छ । यो माग्नेभन्दा पनि हाम्रो अधिकार हो भन्ने कुरामा हामीले जोड दिएका छौं’ मन्त्री डा. महतले भने, ‘सरकारी खर्चमा हामीले अनुशासन कायम गर्न खोजेका छौं । त्यसैले हाम्रो भविष्य उज्वल छ ।’