दसैंमा पोहोरभन्दा चहलपहल बढ्यो, चलनचल्तीमा रहेको पैसा ७ खर्बनजिक

420
Shares

काठमाडौं । दसैंको समयमा बजारमा आर्थिक गतिविधि बढेको नेपाल राष्ट्र बैंकको प्रारम्भिक अनुमान छ । यो वर्षको दसैंमा गत वर्षभन्दा ३१ अर्ब रुपैयाँ बढी बजारमा गएको राष्ट्र बैंकले जनाएको छ ।

बैंकिङ प्रणालीबाट बजारमा बढी पैसा जाँदा आर्थिक गतिविधि बढ्ने राष्ट्र बैंकको अनुसन्धान विभाग प्रमुख प्रकाश श्रेष्ठ बताउँछन् । राष्ट्र बैंकका अनुसार गत वर्ष दसैंलगत्तै असोज २५ गते बजारमा चलनचल्तीमा रहेको पैसा ६ खर्ब ६५ अर्ब रुपैयाँ थियो ।

तर, यो वर्ष दसैंलगत्तै कात्तिक १० गते चलनचल्तीमा रहेको पैसा ६ खर्ब ९६ अर्ब रुपैयाँ पुगेको छ । ‘गत वर्षभन्दा ३१ अर्ब बढी बजारमा जाँदा बजारमा माग मात्रै बढ्ने नभई अर्थतन्त्रका विविध क्षेत्रमा सकारात्मक प्रभाव पारेको अनुमान गर्न सकिन्छ,’ श्रेष्ठले भने, ‘डिजिटल कारोबार बढेको अवस्थामा चलनचल्तीमा रहेको पैसा बढ्नुले बजारमा आर्थिक गतिविधि बढेको संकेत गरेको हो ।’

कोरोना महामारीका क्रममा राष्ट्र बैंकले पुनर्कर्जालगायतका सुविधा दिनुको साथै स्थायी तरलता सुविधामार्फत बजारमा पैसा पठाएको अवस्थामा २०७८ असोज २४ गते चलनचल्तीमा रहेको पैसा ७ खर्ब १३ अर्ब रुपैयाँ पुगेको थियो, जुन अहिलेसम्मकै धेरै हो ।

त्यसबखत आयात बढ्नुका साथै बजारको आर्थिक गतिविधि उच्च विन्दुमा थियो । ‘कोरोना महामारीको क्रममा राष्ट्र बैंकले दिएको विभिन्न सुविधाले चलनचल्तीमा रहेको पैसा बढाएको थियो,’ श्रेष्ठले भने, ‘अहिलेको वृद्धि प्राकृतिक हो । राष्ट्र बैंकले कुनै सुविधा दिएको छैन । बैंकहरुले स्थायी तरलता सुविधा लिएका छैनन् । रेमिट्यान्स आप्रवाह बढेको छ । पर्यटन क्षेत्र चलायमान भएको छ । लत्ताकपडाको माग बढेको छ । कयौं साथीहरु अहिलेको तहको कारोबार भयो भने व्यवसाय टिकाउन सकिन्छ भन्न थाल्नुभएको छ ।’

दसैंका समयमा बढेको आर्थिक गतिविधि दिगो हुनेमा भने श्रेष्ठ विश्वस्त छैनन् । ‘विगतमा जसरी धेरै पैसा आयातमा मात्रै प्रयोग भयो भने फेरि पनि समस्या आउन सक्छ तर आन्तरिक उत्पादन बढाउने क्षेत्रमा प्रयोग भयो भने अर्थतन्त्रमा देखिएको सुधार दिगो होला,’ उनले भने, ‘बैंकिङ प्रणालीबाट बजारमा गएको पैसा कहाँ प्रयोग भयो भन्ने यकिन नहुँदासम्म अर्थतन्त्रको आगामी दिशा के हुन्छ अहिले नै अनुमान गर्न सकिँदैन ।’