दसैंमा मात्रै बिक्री हुन्छन् नेपाली खाम, व्यक्तिगत चिठीको प्रयोग शून्य, संस्थागतमा भ्याइनभ्याइ



काठमाडौं । कुनै बेला ब्यक्तिगत चिठ्ठीको लागी प्रयोग हुने हवाई खाम प्रबिधीको बढ्दो प्रयोगले उपयोग घट्दै गएको छ ।

तर, दसैंमा दक्षिणा दिन भने आजकाल पनि नेपाली खामको प्रयोग हुन्छ । वर्षभरी व्यापार ठप्प हुने विभिन्न रंगका नेपाली खामको प्रयोग दसैंमा भने अत्यन्त धेरै हुन्छ । आशिर्वादसँगै दक्षिणा राखेर दिन प्रयोग हुने विभिन्न रंगका खाम दसैं तथा विवाह मात्रै प्रयोग हुने गर्छ । विवाहको मौसममा केही मात्रामा प्रयोग हुने नेपाली खाम दसैंलाई भने राम्रै व्यापार हुने गरेको भोटाहिटीस्थित सिप्रदी ट्रेडर्सका सञ्चालक सुदीप श्रेष्ठले बताए ।

होलसेल व्यापारी श्रेष्ठका अनुसार पछिल्लो समय हवाई खामको व्यापार दसैंमा पनि न्यून मात्रामा हुने गरेको छ । तर, रातो खाम भने दसैंलाई मात्र नभएर वर्षैभरि विवाह तथा ब्रतबन्धमा पनि प्रयोग बढ्दै गएको छ ।

डिजिटल सेवाको सुरुवातसँगै सुस्ताएको हवाई खामको व्यापार संस्थागत रूपमा प्रयोग गर्नेका हकमा भने बढेको उनको अनुभव छ । मोबाइल सेवाको प्रयोगसँगै बढेको डिजिटल सेवाले व्यक्तिगत रूपमा आदान प्रदान हुने चिठीको प्रयोग ठप्प भएसँगै हवाइ खामको प्रयोग घटेपनि संस्थागत प्रयोगमा भने चिठीपत्र विगतका वर्षहरूमा भन्दा दोब्बर हुँदै गइरहेको छ ।

नेपाल अतिरिक्त हुलाक कर्मचारी संघका अध्यक्ष टंकप्रसाद हुमागाईं व्यक्तिगत चिठी आदान प्रदानको काम ९९ प्रतिशतले घटेको बताउँछन् । उनका अनुसार चिठीको प्रयोग नै नहुने भएपछि हवाई खामको प्रयोग गरेर व्यक्तिगत चिठी बोक्नु पनि परेको छैन ।

तर, पछिल्लो समय संस्थागत प्रयोगका चिठीपत्र बढेको छ । हुमागाईंका अनुसार संघ, संस्था, बैंक तथा वित्तीय संथा, सहकारी र सरकारी, चिठीको प्रयोग बढेको छ । जसको कारण खामको प्रयोग पनि बढेको छ ।

संस्थागत रूपमा गर्नुपर्ने खबरका लागि हुलाकको प्रयोग हुन्छ । संस्थाले औपचारिक रूपमा खबर गर्नुपर्ने, आफ्ना सदस्य तथा ऋणीलाई जानकारी दिनुपर्ने तथा सरकारी चिठीपत्रको लागि भने हुलाकको प्रयोग वर्षेनी बढ्दै गएको छ । जसको कारण खामको व्यापार संस्थागत रूपमा हुने प्रयोगबाट मात्रै धानिएको छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर नतिर्ने ऋणीको संख्या बढ्दै जाँदा संस्थागत जानकारी गराउनुपर्ने दायित्व समेत धेरै हुन थालेकोले हुलाकमार्फत चिठीपत्रको काम बढेको हुमागाईंको भनाइ छ । उनका अनुसार पाँच वर्ष अगाडि सातामा ५-१० वटा मात्रै पत्र काट्ने बैंक तथा वित्तीय संस्थाहरू अहिले दैनिक २० वटासम्म चिठी काट्न थालेका छन भने ताकेता पनि बढाइरहेका छन् ।


क्लिकमान्डु