एनसेलले ७ वर्षमा गर्‍यो साढे ३ खर्बको व्यापार, कारोबार भने घट्दो क्रममा



काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल एक्जियटाले पछिल्लो ७ वर्षमा करिब साढे ३ खर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०१७ देखि सन् २०२३ सम्ममा ३ खर्ब ३६ अर्ब ७८ करोड २० लाख रुपैयाँको व्यापार गरेको हो ।

विदेशी कम्पनीको ८० प्रतिशत र नेपाली लगानीकर्ताको २० प्रतिशत हिस्सा रहेको एनसेलले दूरसञ्चार सेवा दिँदै आएको छ । कम्पनीले पछिल्लो ७ वर्षमा करिब साढे ३ खर्ब व्यापार गरेपनि व्यापार भने प्रत्येक वर्ष घट्दै गएको वित्तीय विवरणले देखाउँछ ।

कम्पनीले रेटिङ एजेन्सीमार्फत् सार्वजनिक गरेको विवरणअनुसार कम्पनीको व्यापार हरेक वर्ष घट्दै गएको स्पष्ट देखिन्छ । कम्पनीले सन् २०१७ मा ५७ अर्ब १० करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो ।

त्यस्तै, २०१८ मा ५९ अर्ब ८१ करोड ७० लाख रुपैयाँ, सन् २०१९ मा ५५ अर्ब ३९ करोड ८० लाख रुपैयाँ, सन् २०२० मा ४६ अर्ब ८७ करेड ४० लाख रुपैयाँ र सन् २०२१ मा ४० अर्ब ४२ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

त्यसैगरी, सन् २०२२ मा ३९ अर्ब ७२ करोड ५० लाख रुपैयाँ र सन् २०२३ मा ३७ अर्ब ४४ करोड २० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले जनाएको छ । तथ्याङ्क हेर्दा सन् २०१७ को तुलनामा सन् २०२३ मा २० अर्ब कम व्यापार गरेको छ । एनसेलले पछिल्लो समय आफ्नो बजार गुमाउँदै गएको जनाएको छ ।

कम्पनीले बजार गुम्दै जाँदा नाफामा पनि कमी आएको उल्लेख छ । एनसेलले दूरसञ्चार क्षेत्रमा नेपाली बजारको ५४ प्रतिशत हिस्सा ओगटेको छ । कम्पनीले सन् २०२० मा ६१ प्रतिशत बजार हिस्सा थियो । कम्पनीअनुसार एनसेलको प्रयोगकर्ता घट्दा बजार हिस्सा घट्दै गएको जनाएको छ ।

सन् २००१ मा स्पाइस नेपाल प्रालिको रुपमा स्थापित कम्पनीले सन् २००५ मा व्यवसाय सुरु गरेको थियो । कम्पनीले सुरुमा मेरो मोबाइल ब्रान्डमा दूरसञ्चारको सेवा दिँदै आएको थियो ।

युरोपियन टेलिकम जाइन्ट टेलियासोनेराले स्वामित्व लिएपछि कम्पनीले ‘एनसेल’ ब्रान्डको नाममा सेवा दिँदै आएको छ । साथै, कम्पनीले सन् २०१६ मा एनसेल प्रालिको रुपमा कम्पनीको नाम परिणत गरेको थियो ।

एक्जियटा ग्रुप बेर्हदले प्राप्ति गरेको गरी रेनल्ड होल्डिङ लिमिटेड अफ इन्डिजको नाममा ८० प्रतिशत र सुभिनेरा क्यापिटल भेन्चर प्रालिको स्वामित्व छ । नेपालको ५० प्रतिशत भ्वाइस क्षेत्रको हिस्सा रहेको एनसेलले सन् २०२२ मा ५७ प्रतिशत आम्दानी डाटाबाट गरेको थियो ।

कम्पनीअनुसार सन् २०२१/२२ मा नेपालको कुल ग्राहस्थ उत्पादनमा १.३ प्रतिशत योगदान छ । एनसेलले हालसम्म नेपाल सरकारलाई२ खर्ब ८३ अर्ब बढी कर तिरेको सार्वजनिक तथ्याङ्कमा उल्लेख छ । त्यसबाहेक एनसेलले २० अर्ब रुपैयाँ बढी कर र शुल्क र १ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी सामाजिक कार्यमा योगदान गरेको जनाएको छ ।

त्यस्तै, एनसेलले नेपाल सरकारको राजश्व संकलनमा १.९ प्रतिशत योगदान रहेको कम्पनीको सन् २०२१/२२ को रिपोर्टले देखाएको छ । कम्पनीले हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी साढे २३ हजार बढीलाई रोजगारी दिएका छन् ।


क्लिकमान्डु