निगमको सम्पत्तिभन्दा १० अर्ब बढी ऋण, सेयर बेचेर थपिएला नयाँ जहाज ?



काठमाडौं । सरकारी वायुसेवा कम्पनी नेपाल वायुसेवा निगम अहिले ४७ अर्ब रुपैयाँभन्दा बढीको ऋणमा डुबेको छ । अन्तर्राष्ट्रिय उडानको दुईवटा वाइडबडी ए३३०–२०० सिरिजको जहाज किनेपछि थपिएको ऋणको भारले निगम थिचिएको छ ।

वायुसेवा निगमसँग देशैभर रहेको जग्गाजमिन र यसको जहाजसहितको सम्पत्ति जम्मा ३७ अर्ब रुपैयाँको मात्रै छ । तर, यो संस्थालाई सरकारको जमानीमा कर्मचारी सञ्चचयकोष र नागरिक लगानी कोषले ४७ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् ।

आधा खर्ब रुपैयाँको ऋणले थिचिएको वायुसेवा निगम कमाउन किनेको जहाजकै कारण ऋणमा डुबेको हो । निगमको जहाजले अपेक्षाअनुसार कमाउन नसक्दा र कोरोना महामारीपछि अर्थतन्त्रमा देखिएको संकुचनका कारण निगम घाटामा छ ।

नेपाल वायुसेवा निगमको संरचनागत एवं व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिको प्रतिवेदन २०८० अनुसार विद्यमान आर्थिक स्रोतमा थपको विकल्प नखोजे निगम ऋणमुक्त हुन सक्दैन । निगम झन् बढी ऋण थपिने देखिन्छ । निगम वर्षेनी घाटामै संचालन हुने हो भने ऋण तिर्न नसक्ने अवस्था सिर्जना हुने अध्ययन प्रतिवदेनकै सुझाव छ ।

निगम २०७९/८० को वैशाखसम्ममा २ खर्ब १६ करोड ५४ लाख रुपैयाँ घाटामा छ । यस्तो घाटा निगमको वाइडबडी जहाजको किस्ताका कारण बढेको तथ्यांकले देखाएको छ । यस्तो घाटा घट्नुको साटो २०७४/७५ पछि वर्षेनी बढिरहेको छ ।

गत वर्ष २०७८/८९ मा निगमको कुल घाटा १ अर्ब ७० करोड रुपैयाँ मात्रै थियो । अझै ५ वर्ष निगम नाफामा जान नसक्ने अध्ययन प्रतिवदेनले देखाएको छ । वार्षिक घाटा कम हुँदै जान सक्छ तर ५ वर्ष अहिलेकै स्रोतबाट निमग नाफामा जान भने नसक्ने निष्कर्ष अध्ययन समितिको छ ।

घाटामा गएको निगमलाई सरकारी अध्ययन समितिले भने जहाज थप गर्न सुझाव दिएको छ । निगमले सोल्टी होटलमा गरेको सेयर लगानीवापत अहिले प्राप्त हुन सक्ने करिब साढे ४ अर्ब रुपैयाँ बिक्री गरेर नयाँ जहाज किन्नुपर्ने सुझाव उक्त समितिले दिएको छ ।

निगमको सोल्टी होटल लिमिटेडमा १ करोड ३ लाख ३३ हजार ६९९ थान सेयर स्वामित्व छ । उक्त सेयरको आजको १९ भदौको बजार भाउ ४४३ प्रतिकित्ताका दरले ४ अर्ब ५७ करोड ७८ लाख रुपैयाँको सेयर रहेको छ । यही सेयर बेचेर निगमले नयाँ जहाज किन्न सक्ने अवस्था अध्ययन समितिले देखाएको छ ।

वायुसेवा निगमका प्रवक्ता रमेश पौडेले भने यो एउटा विकल्प भएको र निगसँग सञ्चित कोषमा ३ अर्बभन्दा बढी रकम रहेकोले सोही पैसाबाट आन्तरिक उडानमा ३ वटा जहाज किन्न सकिने अवस्था रहेको बताउँछन् । ‘यस पटक निगमले कसैसँग ऋण नलिइ आन्तरिक स्रोतकै प्रयोग गरेर आन्तरिक उडानको लागि ३ वटा जहाज किन्न सक्छ । त्यसका लागि सरकारको स्वीकृति मात्रै चाहिन्छ,’ पौडेले भने ।

वायुसेवा निगम आन्तरिक उडानका कारण नभएर अन्तर्राष्ट्रिय उडानका ठूला जहाजले पूर्ण क्षमता र लामो दूरीको उडान गर्न नपाउँदा घाटामा गएको बताएको छ । निगमले जहज थप गर्दै जाँदा आम्दानीको स्रोत बढ्ने र ऋण तिर्न सक्ने दाबी निगमको छ।

निगम अहिले पनि ग्राउण्ड ह्याण्डलिङको आम्दानीबाट टिकिरहेको छ । निगमले नेपालमा अन्तर्राष्ट्रिय उडान गर्ने विदेशी वायुसेवालाई उडानमा प्रयोग हुने यात्रु तथा कार्गो सेवाको सुविधा अर्थात ग्राउण्ड ह्याण्डलिङ सेवा दिन्छ । यसैको आम्दानी बार्षिक ३ अर्ब १८ करोड रुपैयाँ हुने गरेको छ ।

यस्तो आम्दानीमा २ अर्ब १९ करोड खर्च गर्दा गत वर्ष ९८ करोड रुपैयाँ नाफा गर्न सफल भएको र यसबाट कर्मचारीको तलवभत्ता धान्न सहयोग पुर्याएको छ । यही आम्दानीले निगमलाई टिकाउन सहयोग गरिरहेको छ ।


राजु बास्कोटा