दसैं ढुक्कले मनाउनुस्, ड्रोनबाट प्रहरीले दिन्छ सुरक्षा



काठमाडौं । दसैं नजिकियो । सबैतिर चाडपर्वको माहोल छ । संघीय राजधानी काठमाडौंबाट चाडपर्व मनाउन फर्किने तथा कार्यस्थलबाट जन्मथलो जाने क्रम बढेको छ ।

दसैंमा कार्यस्थलबाट बाहिरिने क्रम पूर्णिमासम्म पनि रोकिँदैन । यसरी बाहिरिनेहरु कतिपय छठपर्व मानेरमात्र पनि फर्किन्छन् ।

कार्यस्थलबाट जन्मथलोमा चाडपर्व मनाउन जानेहरुमा चोरीचकारी होला कि भन्ने चिन्ता उत्तिकै हुन्छ । दसैंमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिरहँदा र परिवार तथा मान्यजनसँग रमाइलो गरिरहँदा काठमाडौंको सुरक्षाले पिरोल्न सक्छ ।

त्यो चिन्ता कम गर्न आफूले पनि सावधानी अपनाउनुपर्ने हुन्छ । तर, त्यसका लागि प्रहरी सदैव तत्पर रहने भएकाले ढुक्कसँग चाडपर्व मनाउन काठमाडौं उपत्यका प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिनेशराज मैनालीले आग्रह गरेका छन् ।

दसैं र तिहारलाई लक्षित गरेर प्रहरीले तयार पारेको एकीकृत सुरक्षा योजनाअनुसार ५० हजार ५३० प्रहरी परिचालन हुनेछन् । त्यसमध्ये काठमाडौं उपत्यकामा मात्र १२ हजार सुरक्षाकर्मी परिचालन हुने भएका छन् ।

त्यस्तै नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुबेर कडायतका अनुसार उपत्यकामा १४, कोशी प्रदेशमा ४५, मधेस प्रदेशमा ३७, बागमतीमा ४५, गण्डकीमा २१, लुम्बिनीमा ५०, कर्णालीमा १४ र सुदूरपश्चिम प्रदेशमा ३५ वटा नागरिक सहायता कक्ष सञ्चालनमा छन् ।

प्रहरीले ३५७ वटा सिभिल चेकपोस्ट, ५० क्षेत्रमा सीमा सुरक्षा चेकपोस्ट र ग्रामीण क्षेत्रमा १५ सुरक्षा चेकपोस्ट तयार पारेको छ । अति संवेदनशील, संवेदनशील र सामान्य क्षेत्र वर्गीकरण गरी प्रहरी परिचालन गरिएको छ ।

अहिले प्रहरीले उपत्यकाको सुरक्षाका लागि आवश्यकताका आधारमा निगरानी गर्न ड्रोन प्रयोग गर्ने भएको छ । विगतमा चाडपर्वको अवधिमा देखिएका विभिन्न जोखिम पहिचान गरी अहिलेको चाडपर्वको वातावरणलाई सुरक्षित बनाउने उद्देश्यले काठमाडौंका बढी भीडभाड तथा जमघट हुने सार्वजनिक स्थल, आवतजावतका नाका, किनमेल हुने मुख्य-मुख्य क्षेत्रहरुमा ड्रोनद्वारा अतिरिक्त सुरक्षा प्रबन्ध गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता मैनालीले बताए ।

मैनालीका अनुसार प्रहरीले सीसीटीभी, वाक थ्रु-गेट, ड्रोन, बडिवर्न क्यामेरा आदिले सुरक्षा दिने बताए । यसले चोरी, लुटपाटलगायतका घटनालाई न्यूनीकरण गर्न निकै सहयोग मिल्ने उनको भनाइ छ ।

चाडपर्वलाई लक्षित गरेर प्रहरीले काठमाडौं उपत्यका प्रहरी कार्यालयले ‘सुरक्षित उपत्यका-हाम्रो प्रतिबद्धता’ अभियान चलाएको छ । चाडपर्वको अवसरमा कुनै समस्या परेको खण्डमा प्रहरीलाई तत्काल खबर गर्न आग्रह गरेको छ । कुनै समस्या परेको खण्डमा वा कोही व्यक्ति तथा कम्पनीले आवश्यक सुरक्षा माग गरेमा ५ देखि ९ मिनेटमा प्रहरी घटनास्थलमा पुग्ने जनाएको छ ।

त्यसका लागि उपत्यकामा ७ हजार ६३३ प्रहरी परिचालन हुने उनको भनाइ छ । उक्त प्रहरीहरुलाई पैदल, सीआरभी, मोवाइल क्यूआरटी, कर्डन, सादा पोसाक, पिकेटिङ, स्ट्राइकिङ, रिजर्भ, आकस्मिक चेकजाँचमा खटाइने मैनालीले बताए । सीसीटीभी, वाक थ्रु गेट, ड्रोन, बडिवर्न क्यामेरालगायतबाट निगरानी गरिनेछ ।

प्रहरीले निगरानीका लागि प्रहरीले विभिन्न चरणमा खटाउने भएको छ । स्थान, अवस्थाअनुसार फरक-फरक चरणमा प्रहरी कर्मचारी डिउटीमा हुने भएका छन् ।

चाडपर्वको समयमा बैंक तथा वित्तीय संस्था, नगद तथा बहुमूल्य गर गहनाको कारोबार हुने स्थानमा बढी सादा पोशाकमा सञ्चारका साधन र हात हतियारसहितका प्रहरी तैनाथ हुनेछन् । जसले गर्दा बैंक तथा वित्तीय संस्था, नगद तथा बहुमूल्य गरगहनाको कारोबार हुने स्थानमा सुरक्षा मजबुत हुनेछ । यसले गर्दा चोरीका घटना सकेसम्म हुन नदिनेतर्फ प्रहरी लागि परेको उनको भनाइ छ ।

यस्तै उपत्यकाका विभिन्न स्थान, सपिङ मल-मार्टहरु र मुख्य-मुख्य नाकाहरुमा आधुनिक प्रविधिका साधन सहित प्रहरी परिचालन गरेको छ । यसले घरमा बसेर चाडपर्व मनाउनेलाई पनि ढुक्क हुने उनको तर्क छ ।

कार्यस्थलबाट चाडपर्व मनाउन जन्मथलोतर्फ जाँदा नागरिकले पनि अली सचेतना अपनाउनु पर्ने मैनालीको भनाइ छ । व्यक्ति आफैं सचेत हुने हो भने चाडपर्वको समयमा आपराधिक क्रियाकलाप कम गर्न सकिने मैनालीको भनाइ छ ।

वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिनेशराज मैनाली, काठमाडौं उपत्यका प्रहरी कार्यालय

‘सम्पूर्ण घर धनीहरुले घरमा राखेको कामदार वा डेरामा बस्ने हो भने डेरामा बस्नेहरुले घर धनीलाई जानकारी गराउने, व्यापार व्यवसाय छ भने घर धनीका साथै नजिकका सामुदायिक प्रहरीमा खबर गरेर जाने हो भने चाडपर्वको समयमा हुने चोरी तथा अन्य आपराधिक गतिविधि कम हुनेछन्,’ मैनालीले भने, ‘नागरिक आफू पनि सचेत भइदिनु, नागरिक सचेत भएपछि समाजमा अपराध कम हुन्छ । अपराध कम गर्ने हामी सबैका दायित्व हो । त्यसका लागि प्रहरीले आफ्नो जिम्मेवारी प्रभावकारी रुपमा निर्वाह गर्नेछ । सबै नागरिक दसैंलगायत चाडपर्व ढुक्क भएर मनाउनु, शान्ति सुरक्षा दिने प्रहरी छँदै छ ।’

चाडपर्वको समयमा बसोबास गरेको स्थान छोड्ने हो भने धेरै पैसा, बहुमूल्य गरगहना छोडेर नहिँड्न उनको सुझाव छ । बसोबास गरेको स्थान छोड्नैपर्ने भए सम्भव भएमा घरमा सीसीटिभि क्यामेरा जडान गर्न, सुरक्षा गार्डको व्यवस्था गर्न, टोलछिमेकका विश्वासिलो व्यक्तिलाई जानकारी गराउन र नजिकको प्रहरी तथा सामुदायिक प्रहरीलाई खबर गर्न उनको सुझाव छ ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पनि चाडपर्वको समयमा हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रण तथा नागरिकको गुनासो व्यवस्थापनका लागि चाडपर्व विशेष सुरक्षा योजना बनाई सफल एवं प्रभावकारी कार्यान्वयन गर्दै सुरक्षा व्यवस्थापनलाई थप मजबुद बनाउन मातहतका निकायलाई निर्देशन दिइसकेका छन् ।

प्रहरी महानिरीक्षक कुँवरले बुधबार प्रत्येक प्रहरी कार्यालयले चाडपर्व लक्षित बनाइएका सुरक्षा योजना कार्यान्वयन गर्दै छिटोछरितो नागरिकमैत्री बनाउँदै सेवा प्रवाह गर्नुपर्ने उल्लेख गरे ।

कालोबजारी, मूल्यवृद्धि, जुवातास, चोरी, कृत्रिम अभाव सिर्जना गर्ने, अवाञ्छित गतिविधि, सीमावर्ती क्षेत्रमा हुने तस्करीलगायतका गैरकानुनी क्रियाकलापमा हुने बढोत्तरीलाई ध्यानमा राखेर यसको नियन्त्रण तथा कारवाहीमा नियमसंगत आक्रामक भई कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।

नागरिकमैत्री सेवाका लागि समाजसँग समधुर सम्बन्ध बनाउँदै आवश्यक परेको बेला तत्काल परिचालित हुने गरी संयन्त्रलाई प्रविधियुक्त र चुस्तदुरूस्त बनाउँदै चलायमान बनाउनुपर्नेमा उनले जोड दिए । चाडपर्वको मुखैमा संगठन प्रमुखले दिएको निर्देशनले कार्य सम्पादनमा थप बल मिलेको मातहतका प्रहरी अधिकारीहरुको भनाइ छ ।


सोभित थपलिया