२० औं हस्तकला व्यापार मेला मंसिर ७ गतेदेखि, १५० स्टल रहने



काठमाडौं । नेपाल हस्तकला महासंघले बर्सेनि आयोजना गर्दै आइरहेको ‘हस्तकला व्यापार मेला तथा हस्तकला प्रतियोगिता’ यस वर्ष मंसिर ७ गतेबाट हुने भएको छ ।

महासंघका अनुसार राजधानीको दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा हुने हस्तकला मेलाको यो २० औं संस्करण हो भने हस्तकला प्रतियोगिताको १८ औं संस्करण हो ।

नेपाली हस्तकलाजन्य वस्तुहरुको स्वदेशी तथा अन्तरराष्ट्रिय बजार प्रवर्द्धन गर्ने, प्रचारप्रसार तथा वस्तुको उजागर गरी निर्यात व्यापार प्रबद्र्धन गर्ने उद्देश्यले महासंघले बर्सेनि यो मेला आयोजना गर्दै आएको छ ।

स्वदेशी उद्यमी व्यवसायी र विदेशी हस्तकला आयातकर्ताबीचमा व्यावसायिक सम्बन्ध विकास गर्ने र हस्तकला आयातकर्ता र उपभोक्तालाई एकै स्थलमा भेला गराई बजारीकरणमा सहयोग पुर्‍याउने मेलाको लक्ष्य रहेको छ ।

मेलामा हस्तकलाका वस्तुहरुको करिब १५० वटा स्टलहरु रहने आयोजक नेपाल हस्तकला महासंघले बुधबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

मेलामा विदेशी प्रदर्शनीकर्ताले समेत भाग लिने जनाइएको छ । जसअनुसार भारत, चीन, पाकिस्तान, बंगलादेशलगायतका मुलुकबाट सहभागिता रहने महासंघले जनाएको छ ।

व्यापार मेलामा महासंघका सदस्यहरु तथा विभिन्न भौगोलिक क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेशहरु, जिल्ला हस्तकला संघ र बस्तुगत संघहरु समेतको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

महासंघ अध्यक्ष प्रचण्ड शाक्यका अनुसार मेलामा धातुकला, सुनचाँदी, सुती एवं ढाकाका सामान, पश्मिना, छालाजन्य सामग्रीका स्टल रहनेछन् । यस्तै, प्राकृतिक रेसा र वाँसका सामानहरु लगायत अन्य हस्तकलाका सामग्री प्रर्दशनी तथा बिक्रीमा रहने उनले बताए ।

‘सरकारको नेपाल एकीकृत व्यापार रणनीति (एनटीआईएस) कार्यक्रममा समावेश हस्तकलाका वस्तुहरुलाई मेलामा विशेष रुपमा प्रदर्शनी गर्ने कार्यक्रम रहेको छ,’ अध्यक्ष शाक्यले भने, ‘मेलामा महिला र समाजमा पछाडि परेका वर्गलाई निशुल्क स्टल प्रदान गरिने छ ।’

मेलाको प्रमुख आर्कषणको रुपमा जीवन्त प्रतियोगितात्मक हस्तकला प्रदर्शनी रहने जनाइएको छ । जस अन्तर्गत परम्परागत विधा तर्फ “पौभा” र समसामयिक विधातर्फ “छ्वाली कला” मा प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा प्रतिविधा न्यूनतम १५ जनाको सहभागिता रहने छ भने प्रतियोगितामा उत्कृष्ट घोषित ३ जना कलाकारहरुलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रथम हुनेलाई ५० हजार, द्वितीय हुनेलाई ३० हजार र तृतीय हुनेलाई २० हजार प्रदान गरिने उल्लेख छ । मेलाको अवसरमा आर्थिक वर्ष २०७९/८०को लागि नेपाली हस्तकला उद्योग व्यवसायको विकास, विस्तार तथा प्रबद्र्धनमा निरन्तर क्रियाशील भई विशेष योगदान पुर्‍याउने उत्कृष्ट उद्यमी, उत्कृष्ट निकासीकर्ता र उत्कृष्ट कलाकारलाई सम्मान गरिने उल्लेख छ ।


क्लिकमान्डु