असोजमा नयाँ उद्योगमा २ अर्ब विदेशी लगानी प्रतिबद्धता, रोयल्टीसहित लाभांश १ अर्ब विदेश लैजान प्रस्ताव



काठमाडौं । असोजमा नयाँ उद्योगमा २ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्यांकअनुसार असोजमा ४० वटा नयाँ उद्योगमा १ अर्ब ९८ करोड ७३ हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको हो ।

नयाँ उद्योगमा २ अर्ब लगानी प्रतिबद्धता आउँदा सेयर पर्चेज एग्रिमेन्ट (एसपीए), सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट (टीटीए)मा ४६ करोड ८८ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । असोजमा नयाँ र पुराना उद्योगले गरी २ अर्ब ४४ करोड रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् ।

असोजमा विदेशी लगानीकर्ताले ४७ वटा उद्योगमा लगानी प्रतिबद्धता जनाएका छन् । त्यसमा ४० वटा उद्योग नयाँ छन् भने ७ वटा एसपीए/एसएसए उद्योग छन् । विभागका अनुसार चालु आवको असोजसम्ममा १५१ वटा उद्योगमा १६ अर्ब ६० करोड ४३ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । साथै, एसपीए/एसएसएमा ३ अर्ब ६७ करोड ९ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ । असोजसम्म दर्ता भएको उद्योगबाट ७ हजार ६७२ जनाले रोजगारी पाउनेछन् ।  

त्यस्तै, हालसम्ममा नेपालमा विश्वका विभिन्न मुलुकबाट ६ हजार १० वटा उद्योगमा ४ खर्ब ६६ अर्ब ५७ करोड  ३२ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । ती उद्योगमा ३ लाख १६ हजार ७६९ जनाले रोजगारी पाएका छन् ।

असोजमा ४० वटा उद्योग दर्ता हुँदा एउटा मात्रै ठूलो उद्योगमा लगानी प्रतिबद्धता आएको छ । असोजसम्ममा १५१ वटा उद्योगमध्ये ३ वटा ठूला, ४ वटा मध्यम र १४४ वटा साना उद्योगमा लगानी प्रतिबद्धता आएको छ ।

नेपालमा विदेशी लगानीकर्ताको आकर्षणको क्षेत्र पर्यटन रहेको छ । विदेशी लगानी प्रतिबद्धता आएकामध्ये ४५ प्रतिशत पर्यटन क्षेत्रमा रहेको छ । जसमा १८ वटा उद्योग पर्यटन क्षेत्रको दर्ता भएको छ । त्यसपछि सेवा क्षेत्रमा १३ वटा उद्योग (३३ प्रतिशत), सूचना प्रविधिमा ३ वटा (८ प्रतिशत), उत्पादन क्षेत्रमा ३ वटा (७ प्रतिशत), पूर्वाधार क्षेत्रमा २ वटा (५ प्रतिशत) र खनिजजन्य क्षेत्रमा एउटा (२ प्रतिशत) लगानी प्रतिबद्धता आएको छ ।

असोजसम्म विभागले बिजनेस भिसा र एनटी भिसा गरी ११ जनालाई भिसा दिएका छन् । विभागअनुसार तीन महिनाको अवधिमा ७८१ जना लगानीकर्ता, ८६ जना प्रतिनिधि र २२६ जनालाई डिपेन्डेन्ट भिसा प्रदान गरेका छन् । त्यसबाहेक एनटीमार्फत् ३७ जनाले भिसा लिएका छन् ।

रोयल्टीसहित लाभांश १ अर्ब विदेश लैजान प्रस्ताव

विभागमा करिब साढे २ अर्ब लगानी प्रतिबद्धता आउँदा नेपालमा सञ्चालनमा रहेका उद्योगबाट कमाएको रोयल्टी र लाभांशबापत १ अर्ब रुपैयाँ विदेश लैजान प्रस्ताव गरेको छ । तथ्यांकअनुसार साउनदेखि असोजसम्ममा १ अर्ब १६ करोड ६९ लाख ७२ हजार रुपैयाँ विदेश लैजान विभागमा प्रस्ताव गरेको जनाएको छ ।

असोजसम्ममा ६३ करोड ६४ लाख ८२ हजार रुपैयाँ, ६ करोड ४२ लाख रुपैयाँ (४ लाख ८२ हजार ३६ अमेरिकी डलर) र २० करोड ४१ लाख ५४ हजार रुपैयाँ (१२ करोड ७५ लाख ९६ हजार भारतीय रुपैयाँ) रोयल्टी लैजान प्रस्ताव गरेको छ । सो अवधिमा २६ करोड २१ लाख ९ हजार रुपैयाँ लाभांश लैजान प्रस्ताव गरेको छ । गत वर्षको सोही अवधिमा नेपालबाट १ अर्ब १२ करोड २३ लाख ५७ हजार रुपैयाँमात्रै लाभांश लैजान प्रस्ताव गरेका थिए ।

विभागका अनुसार असोजमा मात्रै ११ करोड ४० लाख रुपैयाँ लाभांश लैजान प्रस्ताव गरेको छ । त्यसबाहेक ३ करोड ३ लाख रुपैयाँ, ४९ हजार ६२९ अमेरिकी डलर र ४४ लाख ७६ हजार भारतीय रुपैयाँ रोयल्टी रकम लैजान विभागमा प्रस्ताव गरिएको छ ।


क्लिकमान्डु