आर्थिक संकुचनले बढ्न सकेन घरजग्गा कारोबार, असोजमा ३९ हजारमात्रै किनबेच



काठमाडौं । आर्थिक संकुचनले घरजग्गा किनबेचमा उच्च असर परेको छ । करिब डेढ वर्षदेखि अर्थतन्त्रमा देखिएको समस्याका कारण घरजग्गा कारोबार बढ्न सकेको छैन ।

सरकारले गत वर्ष भू-उपयोग नियमावलीमार्फत् जग्गाको वर्गीकरण गर्नुपर्ने व्यवस्थाले गर्दा किनबेचमा प्रभाव परेको थियो । तर, सरकारले गत साउनको अन्त्यमा भू-उपयोग नियमावली संशोधन गरेर कित्ताकाट खुकुलो गरेको छ । तर, कित्ताकाटको कार्यलाई सहज बनाए पनि आर्थिक संकुचनले कारोबार बढ्न सकेको छैन ।

आर्थिक संकुचनले गर्दा बजारमा घरजग्गाको माग निकै कम छ । जसले गर्दा व्यवसायीहरु घरजग्गा किनबेच नहुँदा चिन्तित बनेका छन् । त्यस्तै, देशभर घरजग्गा कारोबारमा मन्दी छाउँदा व्यवसायीहरुले हालै मात्रै रियल इस्टेट वृहत भेला आयोजना गरेका थिए । उक्त वृहत भेलामा व्यवसायीहरुले आर्थिक संकुचनले घरजग्गा किनबेच नहुँदा समस्यामा परेका बताएका थिए ।

व्यवसायीहरुले भनेअनुसार नै भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कले पनि कारोबार हुन नसकेको स्पष्ट पार्छ । विभागअनुसार असोज महिनामा देशभरका मालपोत कार्यालयबाट ३९ हजार ७९३ वटा घरजग्गा किनबेच भएको छ । गत भदौ महिनामा भने ३५ हजार ६८६ वटा घरजग्गा किनबेच भएको थियो ।

भदौको तुलनामा असोजमा भने ४ हजार बढी घरजग्गा किनबेच भएको छ । तर, बजारमा माग नहुँदा किनबेच उल्लेख्य मात्रामा नभएको व्यवसायीहरुको भनाइ छ । त्यस्तै, विभागअनुसार असोज महिनामा ४७ हजार ३८९ वटा जग्गा कित्ताकाट भई १ लाख ६ हजार ३४९ कित्ता कायम भएको छ ।

नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले सरकारले घरजग्गा कारोबार सहज बनाउन नीति नियम खुकुलो बनाएपनि आर्थिक संकुचनका कारण घरजग्गाको किनबेच उल्लेख्य रुपमा बढ्न नसकेको बातए । उनकाअनुसार अहिले घरजग्गा कारोबार गर्ने मौसम नभएकाले दशैंपछि भने कारोबार बढ्ने अनुमान छ ।

अहिले बजारमा देखिएको समस्याले गर्दा मानिसहरुमा घरजग्गामा लगानी गरौं भन्ने मनिस्थितिमा छैनन् । राष्ट्र बैंकले विभिन्न निर्देशनमार्फत् कर्जामा कडाइ गरेकाले ऋण लिन सहज वातावरण सिर्जना हुन सकेको छैन । त्यसैले घरजग्गा किनबेच निकै कम भइरहेको उनको भनाइ छ ।

असोजमा देशभरका मालपोत कार्यालयबाट ३९ हजार घरजग्गा किनबेच हुँदा सुनसरी भूमिसुधार मालपोत कार्यालयबाट १९ सय ४१ वटा किनबेच भएको छ । त्यसपछि जनकपुरधाम धनुषा मालपोत कार्यालयबाट १७ ुय ३८ वटा, भद्रपुर झापाबाट १५ सय ६३ वटा, बेलाबारी मोरङबाट १४ सय १९ वटा, राजविराज सप्तरीबाट १३ सय २८ वटा र नेपालगञ्जबाट बाँकेबाट १ हजार ८८ वटा घरजग्गा किनबेच गरेका छन् ।

साढे ४ अर्ब राजस्व संकलन

असोज महिनामा कारोबार बढेसँगै राजस्व संकलनमा पनि सुधार देखिएको छ । गत साउनमा ३५ हजार घरजग्गा किनबेच हुँदा साढे ३ अर्ब राजस्व संकलन गरेको थियो । असोज महिनामा कारोबारमा सुधार आउँदा ४ अर्ब ४३ करोड ५४ लाख ८८ हजार रुपैयाँ राजस्व संकलन गरेको विभागले जनाएको छ ।

विभागअनुसार असोज महिनामा सेवा करवापत ३७ करोड ५ लाख रुपैयाँ, रजिष्ट्रेशन दस्तुरवापत २ अर्ब ५५ करोड ९१ लाख रुपैयाँ र पूँजीगत लाभकरवापत १ अर्ब ४६ करोड ९१ लाख रुपैयाँ र अन्य विभिन्न सेवामार्फत् साढे ४ अर्ब राजस्व संकलन गरेको छ ।

असोज महिनामा सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारबाट ४२ करोड ५ लाख रुपैयाँ संकलन गरेको छ । त्यसपछि लगनखेलबाट ४० करोड ८२ लाख रुपैयाँ, भक्तपुरबाट ३१ करोड ३२ लाख रुपैयाँ, चावहिलबाट २९ करोड ६० लाख रुपैयाँ, कलंकीबाट २७ करोड ६८ लाख रुपैयाँ र मकवानपुर मालपोत कार्यालयबाट १६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।


क्लिकमान्डु