बाह्य क्षेत्रमा थप सुधार, आन्तरिक अर्थतन्त्र अझै समस्यामा

एक वर्षको वस्तु आयात धान्न सक्ने अवस्थामा विदेशी मुद्रा सञ्चिति, चालु खाता साढे २३ अर्बले बचतमा



काठमाडौं । अर्थतन्त्रको बाह्य क्षेत्रमा लगातार सुधार हुँदासमेत आन्तरिक अर्थतन्त्र भने अझै चलायमान हुन सकेको छैन । सरकारको आयात निरुत्साहित गर्ने नीति र राष्ट्र बैंकको कर्जा वृद्धिमा सुस्त हुने नीतिका कारण आयातमा गिरावट आएर विदेशी मुद्रा सञ्चिति लगातार बढ्दा आन्तरिक अर्थतन्त्र भने अझै चलायनमान हुन नसकेको हो ।

साउनदेखि नै रेमिट्यान्स आप्रवाहमा उच्च वृद्धि हुँदासमेत बजारमा माग बढ्न सकेको छैन । एलसी खुल्ने क्रम अझै नबढेको बैंकहरुले बताएका छन् । आयात नबढ्दा समग्र अर्थतन्त्र चलायमान हुन अझै समय लाग्ने देखिएको छ । सरकारले पुँजीगत खर्च बढाउन नसक्दा र निर्माण व्यवसायीको भुक्तानी पनि दिन नसक्दा अर्थतन्त्र चलायमान हुन थप कठिन भएको छ ।

भदौमा विदेशी मुद्राको सञ्चितिमा उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार भदौ मसान्तसम्ममा विदेशी मुद्राको सञ्चिति १५ खर्ब ९८ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । साउन महिनामा विदेशी मुद्राको सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ थियो ।

चालु आर्थिक वर्षको दुई महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १२ महिना ६ दिनका लागि वस्तु आयात र १० महिना ३ दिनका लागि वस्तु तथा सेवा आयात धान्न पुग्ने देखिन्छ ।

भदौसम्म शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोडले बचतमा छ । आर्थिक तथा वित्तीय स्थितिअनुसार अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २० अर्ब ८० करोडले घाटामा थियो ।

त्यस्तै चालु खाता भदौमा २३ अर्ब ५० करोड रुपैयाँले बचतमा गएको छ । साउनमा चालु खाता १२ अर्ब ९९ करोड रुपैयाँले बचतमा थियो । गत वर्ष भदौमा भने चालु खाता ३६ अर्ब ८० करोड घाटामा थियो ।

सरकार महँगी नियन्त्रण गर्न भने असफल भएको छ । भदौमा सरकारको लक्ष्यभन्दा महँगी बढी देखिएको हो । सरकारले बजेटमार्फत महँगी ६.५ प्रतिशतभित्र राख्ने लक्ष्य लिए पनि चालु आर्थिक वर्षको दुवै महिनामा महँगी बढ्दो क्रममा छ । साउनमा ७.५२ प्रतिशत रहेको मुद्रास्फीति भदौमा ८.१९ प्रतिशत पुगेको छ ।

राष्ट्र बैंकका अनुसार चालु आवको दुई महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (महँगी) ८.१९ प्रतिशत छ । गत वर्षको सोही अवधिमा मुद्रास्फीति ८.६४ प्रतिशत थियो ।

भदौमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.७४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.९९ प्रतिशत छ । भदौमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ४५.४६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १७.८६ प्रतिशत, तरकारीको १४.५१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.३८ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको १२.६० प्रतिशत छ ।

समीक्षा अवधिमा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ९.८३ प्रतिशत, तराईको ७.०३ प्रतिशत, पहाडको ८.०९ प्रतिशत र हिमालको ११.३२ प्रतिशत छ । २०७९ भदौमा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ७.६२ प्रतिशत, ९.३३ प्रतिशत, ८.८२ प्रतिशत र ६.६८ प्रतिशत थियो ।

२०८० भदौमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ४.७८ प्रतिशत छ । गत वर्ष भदौमा यस्तो मुद्रास्फीति १४ प्रतिशत थियो । समीक्षा अवधिमा निर्माण सामग्रीको थोक मुद्रास्फीति ०.०३ प्रतिशतले घटेको छ ।

भदौमा साउनको तुलनामा ४ अर्ब रुपैयाँ कम रेमिट्यान्स आप्रवाह भएको छ । राष्ट्र बैंकका अनुसार साउनमा १ खर्ब १६ अर्ब २ करोड विप्रेषण आप्रवाह भएको थियो । उक्त रकम हालसम्मकै उच्च हो । भदौमा १ खर्ब १२ अर्ब रुपैयाँ मात्रै रेमिट्यान्स आप्रवाह भएको छ ।

विप्रेषण आप्रवाह अघिल्लो वर्षको तुलनामा २२.१ प्रतिशतले वृद्धि भई दुई महिनाको अवधिमा २ खर्ब २८ अर्ब ३७ करोड आप्रवाह भएको छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई १ अर्ब ७३ करोड पुगेको छ ।

दुई महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या २८.३ प्रतिशतले कमी आई ७४ हजार ४५५ कायम भएको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या सोही अवधिमा १८.३ प्रतिशतले कमी आई ३२ हजार ४ कायम भएको छ ।


क्लिकमान्डु