चिनी अभाव हुन नदिन उद्योगबाट सिधै बजारमा ल्याउने रणनीति, प्रतिकिलो ११५ रुपैयाँमा बेच्न निर्देशन



काठमाडौं । सरकारले चाडवाडको समयमा उपभोक्तालाई सस्तो मूल्यमा चिनी उपलब्ध गराउन व्यापारको विभिन्न चरणलाई हटाएको छ । व्यापारका विभिन्न चरण हटाएर उद्योगबाट चिनी ल्याएर सोझै खुद्रा विक्रेतामार्फत बिक्री गर्न लागिएको हो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनीको अस्वाभाविक मूल्य नियन्त्रण गर्न उद्योगबाट सिधै खुद्रा व्यापार संघमार्फत बिक्री गर्ने रणनीति कार्यान्वयनमा ल्याएको छ । यो रणनीतिमार्फत विभागले उपभोक्तालाई अधिकतम ११५ रुपैयाँ प्रतिकिलोका दरले चिनी उपलब्ध गराउनेछ ।

विभागका महानिर्देशक तीर्थराज चिलुवालले चिनी अभावको फाइदा उठाउँदै केही व्यापारीले लुकाएर राखेको चिनी प्रतिकिलो १५० रुपैयाँसम्ममा बिक्री गर्दै आएकाले मूल्य नियन्त्रण गर्न व्यापारका विभिन्न चरण हटाइएको जानकारी दिए ।

‘वैध बाटोमार्फत चिनी आयात नहुँदा अहिले चिनीको चर्को अभाव छ,’ उनले भने, ‘चिनी अभाव हुँदा अवैध बाटोमार्फत आएको चिनीलाई केही व्यापारीले मिलेमतो गरी अत्यधिक मूल्यमा बिक्री गर्दै आएको पाइएको छ ।’ बजारमा चिनीको आपूर्ति गरी उपभोक्तालाई सस्तो मूल्यमा उपलब्ध गराउन यो रणनीति कार्यान्वयनमा ल्याइएको उनले बताए ।

‘बजारमा तत्काल चिनीको उपस्थिति देखाउन र उपभोक्तालाई सस्तोमा उपलब्ध गराउन थोक विक्रेतालगायतको विभिन्न चरण हटाएर आपूर्ति हुने चिनी सोझै खुद्रा विक्रेता संघका सदस्यमार्फत प्रतिकिलो ११५ रुपैयाँमा बिक्री गर्ने व्यवस्था मिलाएका छौं,’ चिलुवालले क्लिकमान्डुलाई भने, ‘यो विषयमा स्वदेशी चिनी उद्योग र खुद्रा व्यापार संघसँग साकारात्मक छलफल टुङ्गिएको छ ।’

खुद्रा व्यापार संघका उपाध्यक्ष नरेशबाबु शाहीका अनुसार सोमबार स्वदेशी चिनी उद्योगी, खुद्रा व्यापार संघ र विभागबीच छलफल भएको थियो । छलफलले स्वदेशी चिनी उद्योगबाट प्राप्त हुने चिनी उपभोक्तालाई ११५ रुपैयाँ प्रतिकिलोमा १ देखि २ किलोसम्म उपलब्ध गराउने सहमति भएको छ ।

‘स्वदेशी उद्योगबाट प्राप्त हुने चिनीमा १ रुपैयाँमात्रै नाफा लिएर बिक्री गर्ने संघले निर्णय गरेको छ,’ शाहीले भने, ‘बजारमा कतैबाट चिनी आपूर्ति हुन नसकेको अवस्थामा सामाजिक उत्तरदायित्व जिम्मेवारी वहन गर्दै हामीले पनि न्यूनतम नाफामात्रै लिएर चिनी बिक्री गर्न सहमति जनाएका छौं ।’

एभरेष्ट सुगर मिलबाट १ हजार टन चिनी आउँदै

विभागले सोमबार नै बजारमा चिनीको चर्को अभाव भएको र उपभोक्ताले अधिकतम मूल्य तिर्नुपरेको समस्याको विषयमा स्वदेशी चिनी उद्योगीसँग छलफल गरेको थियो । छलफलमा महानिर्देशक चिलुवालले स्वदेशी उद्योगसँग भएको चिनी बजारमा उपलब्ध गराउन सकिए तत्कालका लागि समस्या समाधान हुने धारणा राखेका थिए । तर, अधिकांश उद्योगीले आफूहरुसँग चिनी स्टक नरहेको दाबी गरेका थिए ।

छलफलका क्रममा महोत्तरीस्थित एभरेष्ट सुगर मिलका प्रतिनिधि मुन्ना सर्राफले आफ्नो उद्योगमा निक्कै कम परिमाणमा चिनी स्टक रहेको सुनाए । त्यसपछि विभागका महानिर्देशक चिलुवालले स्टक छ भने बजारको तत्कालको मागलाई सम्बोधन गर्न कम्तीमा ५ हजार टनसम्म चिनी उपलब्ध गराइदिन आग्रह गरेका थिए ।

जवाफमा सर्राफले ५ हजार टन नभए पनि १ हजार टनसम्म चिनी उपलब्ध गराउन सक्ने सहमति जनाएका थिए । यो सहमतिसँगै खुद्रा व्यापार संघले पहिलो चरणमा ४२० बोरा चिनी ल्याउने प्रक्रिया सुरु गरेको छ ।

संघका उपाध्यक्ष शाहीका अनुसार चिनी बिक्री गर्न तयार भएका संघका सदस्य व्यापारीहरुले मंगलबार आवश्यक परिमाणअनुसार रकम संकलन गर्दैछन् । संकलन भएको रकम साँझसम्म एभरेष्ट सुगर मिललाई जिम्मा लगाएर बुधबार रातिसम्म काठमाडौंमा उक्त चिनी भित्र्याउन लागिएको छ ।

यसरी निर्धारण गरियो मूल्य संरचना

यो सहमतिसँगै विभागले चिनीको कारखाना मुल्य, मूल्य अभिवृद्धि कर, महोत्तरीबाट काठमाडौंसम्मको ढुवानी खर्च, प्याकेजिङ खर्च, खुद्रा व्यापारीको ढुवानी, खुद्रा व्यापारीको नाफा र उपभोक्ता मूल्यको बारेमा छलफल गरेको थियो ।

एभरेष्ट सुगर मिलले ९५ रुपैयाँ प्रतिकिलोमा चिनी उपलब्ध गराउने सहमति जनाएको थियो । यो मूल्यमा मूल्य अभिवृद्धि कर, महोत्तरीदेखि काठमाडौंसम्मको ढुवानी खर्च र लोड अनलोड गरी १११ रुपैयाँ ३५ पैसामा काठमाडौंमा चिनी उपलब्ध गराउने विषयमा सहमति भयो ।

यसपछि काठमाडौं आइपुगेको चिनीको प्याकेजिङ, खुद्रा व्यापारीसम्मको ढुवानी र लोड अनलोड गरी थप प्रतिकिलोमा २ रुपैयाँ ६५ पैसा जोडेर प्रतिकिलो चिनीको मूल्य ११४ रुपैयाँ बनाइयो । यसमा खुद्रा विक्रेताको प्रतिकिलो १ रुपैयाँ नाफा जोडेर उपभोक्ता मूल्य ११५ रुपैयाँ निर्धारण गरिएको छ ।

अत्यधिक मूल्यका कारण साल्टले पनि चिनी ल्याउन सकेन

सरकारले चिनी आयात गर्न अनुमति दिएलगत्तै साल्ट ट्रेडिङ कर्पोरेसनले छोटो प्रक्रियामार्फत चिनी ल्याउने प्रक्रिया सुरु गरे पनि अन्तर्राष्ट्रिय बजारअनुसार निक्कै महँगो मूल्यमा प्रस्ताव परेपछि तत्कालका लागि यो चिनी पनि बजारमा आउन नपाउने अवस्थामा पुगेको छ ।

कर्पोरेसनले ग्लोबल टेन्डरमार्फत चिनी आयात गर्न असोज ५ गते १५ दिने छोटो अवधिको सूचना सार्वजनिक गरेको थियो । टेन्डरमा सहभागी भएका प्रस्तावक कम्पनीहरुले प्रतिकिलो चिनीको खरिद मूल्यमात्रै १६० देखि १७० रुपैयाँ प्रस्ताव गरेका छन् ।

‘हामीले सोचेभन्दा निक्कै महँगो मूल्य प्रस्तावकबाट प्राप्त भएको छ,’ कर्पोरेसनका एक अधिकारीले भने, ‘यति महँगो मूल्यमा खरिद हुने चिनीमा फेरि ढुवानी, प्याकेजिङ, लोड अनलोडलगायतका खर्च जोड्दा करिब ३ सय रुपैयाँ प्रतिकिलो पर्ने भएकाले तत्कालका लागि यो मूल्यमा नल्याउने निष्कर्षमा पुगेका छौं ।’

कर्पोरेसनले सबै प्रक्रिया सकेर दसैंअघिसम्म चिनी ल्याउने तयारी गरेको थियो । तर, अत्यधिक मूल्यका कारण चिनी ल्याउने प्रक्रियाबाट पछि हटेको हो । ग्लोबल टेन्डरमार्फत चिनी आउने अवस्था नभएपछि कर्पोरेसनले स्थानीय उद्योगबाट आपूर्ति गराउने उद्देश्यले ५ हजार टन खरिद गर्न असोज २७ गते टेन्डर आह्वान गरेको छ ।

साल्ट ट्रेडिङ र खाद्य व्यापार तथा व्यवस्था कम्पनीले अहिले विभागले उपलब्ध गराएको ७० हजार किलो चिनी उपभोक्तालाई प्रतिकिलो ९७ रुपैयाँमा बिक्री गरिरहेको छ । विभागले असोज ४ गते कुलेश्वरस्थित गृहेश्वरी ट्रेड लिंकको गोदामबाट १४ सय बोरा (७० हजार किलो) बरामद गरेको थियो ।

व्यावसायिक घराना सन्तोष खेतानको नाममा उक्त व्यापारिक फर्म दर्ता छ । बरामद गरिएको चिनी विभागले कर्पोरेसनलाई  सुपथ मूल्य पसलमार्फत बिक्री गर्न उपलब्ध गराएको थियो ।

खाद्य संस्थानको चिनी ३ महिनापछि

सरकारी स्वामित्वको खाद्य व्यापार तथा व्यवस्था कम्पनीले पनि आवश्यक प्रक्रिया पूरा गरी चिनी आयात गर्न कम्तीमा ३ महिना लाग्ने जनाएको छ । दसैं, तिहार र छठको समयमा खपत हुने चिनीका लागि सरकारले कम्तीमा ३ महिनाअगावै आयात गर्न अनुमति दिनुपर्ने थियो ।

तर, सरकारले दसैंको मुखमा चिनी आयात गर्न ५० प्रतिशत भन्सार छुटमा खाद्य व्यापार तथा व्यवस्था कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलाई १०-१० हजार टन चिनी आयात गर्न भदौ २७ गतेमात्र अनुमति दिएको थियो ।

‘निक्कै ढिलो गरी आयात गर्न अनुमति पाउँदा लामो प्रक्रियाका कारण तत्कालै यो चिनी आउन सक्दैन,’ कम्पनीका प्रवक्ता शर्मिला न्योपाने सुवेदीले भनिन्, ‘सबै प्रक्रिया सकिएर चिनी आउन कम्तीमा ३ महिना लाग्छ ।’ अर्थ मन्त्रालयले चिनी आयात गर्न अनुमति दिएपछि खाद्यले असोज १० गते ग्लोबल टेन्डर आह्वान गरेको थियो ।


राजेश बर्मा