दसैंमा पनि व्यापारीका लागि तातोपानी नाका खल्लो, रसुवामा भने छायो उल्लास



काठमाडौं । दसैं आइसक्दा पनि ठूला व्यापारीको हकमा तातोपानी नाका अझै सहज भएको छैन । नाका सहज नहुँदा दसैंमा अत्यधिक खपत हुने रेडिमेड कपडा, जुत्ता, ज्याकेटलगायतका सामान भित्रिन सकेन ।

तातोपातीस्थित भन्सार कार्यालयका प्रमुख दयानन्द केसीका अनुसार ठूला व्यापारीको हकमा अझै पनि नाका सहज बन्न सकेको छैन । भरपर्दो कूटनीतिक पहल नभएका कारण छोटो व्यापारिक मार्गबाट सामान भित्र्याउने व्यापारीको चाहना यो दसैंमा पनि पूरा हुन नसकेको हो ।

केसीका अनुसार दसैं लागिसक्दा पनि उक्त नाकाबाट फाट्टफुट्ट फलफूलका कन्टेनर आइरहेका छन् । सामान्य समयमा दैनिक ५ देखि ६ वटा कन्टेनर आउने उक्त नाकाबाट अहिले औसत १५ कन्टेनर भित्रिरहेका छन् ।

‘फलफूलबाहेक अन्य सामान आएको छैन,’ भन्सार प्रमुख केसीले भने, ‘दसैंमा खपत हुने रेडिमेड लुगाफाटा, जुत्ता, ज्याकेटलगायतका सामान यो नाकाबाट अहिले पनि भित्रिएको छैन ।’ उक्त नाकाबाट आँप, स्याउ, अंगुर, अनारलगायत फलफूलमात्र आयात भइरहेको छ ।

उक्त नाकाबाट दैनिक अहिले ३ देखि ४ करोड रुपैयाँ राजस्व असुली भइरहेको छ । छोटो दूरीका कारण ढुवानी भाडा पनि सस्तो भएको उक्त नाका विभिन्न वहानामा चीन सरकारले महाभूकम्पयता अवरुद्ध गरेको छ । 

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्कीले रसुवा नाकाजस्तै तातोपानी नाकामा पनि स्थानीय बासिन्दालाई मात्रै प्रवेश गर्न दिने गरी सिन्डिकेट कायम गरिएको बताए ।

‘जबसम्म नेपाली सवारी साधन र नेपाली ठूला व्यापारीलाई प्रवेश गर्न दिइँदैन, तबसम्म तातोपानी पूर्णरुपमा खुलेको भन्न सकिँदैन,’ उनले भने, ‘भूकम्पअघि जसरी नेपाली व्यापारी र सवारीसाधन खासासम्म जान पाएका थिए, त्यसरी नै जान पाउनुपर्ने हामी व्यवसायीको माग हो । यो व्यवस्था नभएसम्म तातोपानी नाका खुल्नुभन्दा नखुलेकै राम्रो । भन्नलाई तातोपानी नाका छ तर कुनै व्यावसायिक कारोबार गर्न पाइँदैन भने के अर्थ रह्यो ?’

२०७२ वैशाखमा गएको भूकम्पको समयदेखि तातोपानी नाका विभिन्न बहानामा पटक-पटक अवरुद्ध हुँदै आएको छ । कोभिड १९ महामारीसँगै चीनले ‘जिरो कोभिड पोलिसी’ अवलम्बन गरेपछि चीनबाट नेपालमा सहज रुपमा आयात भएको छैन ।

भूकम्पका कारण मितेरी पुल र भौतिक पूर्वाधार भत्केको भन्दै चीनले झन्डै ४ वर्षपछि २०७६ जेठ १५ देखि पुनर्निर्माणपश्चात् तातोपानी नाका पुन: सञ्चालनमा ल्याएको थियो । नेपालीहरुको ठूलो पर्व दसैं आइपुग्दा पनि यो नाका पूर्णरुपमा नखुल्दा व्यापारीलाई बढी दूरी र बढी ढुवानी खर्च गरी रसुवा नाकाबाट मालसामान आयात गर्नुपर्ने बाध्यता कायमै छ ।

स्थानीयलाई ७ हजार २६ पास प्रदान

चिनियाँ क्षेत्र लिपिङ, रमिते र खासाका पसलमा दैनिक किनमेल, ओहोरदोहोर र घुम्न जाने स्थानीयको हकमा बिहीबारसम्ममा ७ हजार २६ वटा निलो रंगका पास जारी भएका छन् । सीमा क्षेत्रबाट करिब ३० किलोमिटरको दूरीमा चीनको हिमाली बजार न्यालम पर्छ । पास लिएर लिपिङबाट न्यालमसम्म जान पाउने व्यवस्था पनि गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भ्रमणमा जानुअघि चीन सरकारले चीनको बजारमा किनमेल र घुम्न जान पाउने सिन्धुपाल्चोकबासीका लागि भदौ १५ देखि उक्त नाका खुला गरेको थियो । चीनको खासाबाट ठूलो परिमाणमा मालसामान खरिद गरी आयात गर्ने व्यापारीको हकमा भने यो नाका खुला भएको छैन ।

तातोपानी नाका क्षेत्रका नेपालीलाई किनमेल गर्न र घुम्न दिनका लागि मात्रै यो नाका खुला गरिएको अध्यागमन कार्यालय कोदारीका प्रमुख रवीन्द्र पोखरेलले जानकारी दिए । ‘लिपिङ, रमिते र खासामा केही पसल छन,’ उनले क्लिकमान्डुसँग भने, ‘व्यावसायिक र व्यापारिक प्रयोजनका लागि भने खुला भएको छैन ।’ काठमाडौंमा व्यापार व्यवसाय गर्दै आएका व्यापारी र नेपाली नम्बर प्लेटका सवारी साधनलाई चिनियाँ क्षेत्रमा जान पाउने व्यवस्था खुला नभएको उनले प्रस्ट गरे ।

रसुवा नाकाबाट दैनिक डेढ अर्बको सामान आयात

दसैंतिहार, छठलगायतका चाडवाडका लागि आवश्यक मालसामान तातोपानी नाकाबाट आयात नहुँदा त्यसको चाप अहिले रसुवा नाकामा परेको छ । सामान्य समयमा दैनिक १० वटाको हाराहारीमा कन्टेनर भित्रिने उक्त नाकाबाट अहिले ५० वटासम्म कन्टेनर आइरहेको रसुवास्थित भन्सार कार्यालयका प्रमुख रामप्रसाद पाठकले जानकारी दिए ।

उनका अनुसार तातोपानी नाकाबाट फलफूलबाहेक सामान भित्रिन नसक्दा त्यसको चाप रसुवा नाकामा परेको हो । ‘अत्यधिक चाप परेको दिन ५० वटासम्म कन्टेनर आइरहेका छन्,’ उनले भने, ‘निकै कम भएको दिनमा पनि २५ वटा कन्टेनर भित्रिने गरेको छ । औसतमा दैनिक २५ वटा भित्रिरहेका छन् ।’

यो नाकाबाट अहिले चाडवाडमा अत्यधिक खपत हुने तयारी लुगाफाटो, विद्युतीय सवारी साधन र अन्य सवारी साधन, रबर, प्लास्टिकका जुत्ता चप्पल, लेडिज चप्पल, होजियरी कपडा, हाते झोला, ओखर, जडी बुट्टा, पट्टी इम्ब्राइडरी, जुत्ताको पार्ट्स, चश्मा, फर्निचर आयात भइरहेको छ ।

यस्तै विस्फोटक वा प्रेरकका  धुलो, किसमिस, अप्टिकल फाइबर केबल, शृंगारका सामान, लसुन, प्लास्टिकका सामान, फलामे संरचना र छालाका जुत्ता पनि आयात भइरहेको भन्सार प्रमुख पाठकले जानकारी दिए । ‘यसमध्ये पनि सबैभन्दा बढी विद्युतीय सवारीसाधन आयात हुन्छ, दोस्रोमा रेडिमेड लुगाफाटो र विद्युतीय समान हो,’ उनले भने । तातोपानी सुक्दै गएको अवस्थामा यो नाकामा उल्लास छाएको हो ।

३ महिनामै राजस्व लक्ष्यको करिब ५० प्रतिशत असुली

यो नाकाबाट मालसामान अत्यधिक परिमाणमा भित्रिन थालेपछि राजस्व पनि उल्लेख्य उठ्न थालेको छ । चालु आर्थिक वर्ष २०८०/८१ मा यो भन्सार कार्यालयका लागि राजस्व लक्ष्य ११ अर्ब ९४ करोड रुपैयाँ तोकिएको छ । तर साउनदेखि असोज २४ सम्ममा ५ अर्ब ८ करोड रुपैयाँ संकलन भइसकेको छ ।

असोज १ देखि २४ सम्ममा मात्रै ३ अर्ब ८४ करोड ८६ लाख रुपैयाँको विभिन्न सामान आयात हुँदा १ अर्ब ५८ करोड ८६ लाख रुपैयाँ राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ । आयात भएका सामानमध्ये बढी चाडपर्व लक्षित सामान र विद्युतीय सवारी साधन छन् । यो अवधिमा १ अर्ब २६ करोड ९० लाख मूल्यबराबरका ४५० वटा विद्युतीय सवारी साधन उक्त नाकाबाट आयात भएका छन् ।

यस्तै १ अर्ब ६३ करोड ७० लाख मूल्यबराबरको ७८ लाख ४३ हजार ८४३ वटा रेडिमेड लत्ताकपडा आयात भएको छ । त्यस्तै २९ करोड ९९ लाख मूल्यबराबरको जुत्ताचप्पल आयात भएको छ ।


राजेश बर्मा