विश्वका शीर्ष गाडी उत्पादकविरुद्ध किन भइरहेको छ आन्दोलन ?



काठमाडौं । झण्डै एक महिनाअघि युनाइटेड अटो वर्कर्स (युएडब्ल्यु)ले विश्वका शीर्ष तीन गाडी उत्पादक कम्पनीहरुविरुद्ध आन्दोलन सुरु गरेका थिए । सेप्टेम्बरको दोस्रो हप्ता सुरु भएको आन्दोलन महिना दिन हुन लाग्दा पनि रोकिने देखिएको छैन ।

सन् १९३५ मा स्थापना भएको युनाईटेड अटो वर्कर्स मुख्य गरि अमेरिकाका तीन ठूला गाडी उत्पादक फोर्ड, जिएम र क्राईस्लेर (हालको स्टेल्लेनटिस)का कामदारहरुको संगठन हो । उक्त संगठनले अहिले यी तीनैवटा कम्पनीहरुको विरुद्धमा आन्दोलन गरिरहेको छ । कम्पनीलाई थप पारिश्रमिक दिन र श्रम सम्झौतामा सुधारहरु ल्याउनुपर्ने मुख्य माग राख्दै उनीहरुले आन्दोलन गरिरहेका छन् ।

अटोमोबाइल क्षेत्रको योगदान अमेरिकी अर्थतन्त्रमा ३ प्रतिशत छ । विश्वभरमा नै गाडीको मूल्यदेखि यसको बजारलाई पनि प्रभाव पार्न सक्ने किसिमका कम्पनीहरु अमेरिकामा रहेका छन् । जसमध्ये फोर्ड, जिएम र स्टेल्लेनटिस प्रमुख मानिन्छन् ।

आन्दोलनमा रहेको युएडब्ल्युमा अहिले ४ लाखभन्दा धेरै सक्रिय कामदारहरु रहेका छन्, जो यीनै तीन कार कम्पनीसँग अन्य क्षेत्रा पनि काम गर्छन् । यी तीन गाडी निर्माता कम्पनीमा काम गर्ने १ लाख ४० हजारभन्दा धेरै कामदारहरु संगठनमा रहेका छन्।

संगठनले १५ सेप्टेम्बरबाट आन्दोलन सुरु गरेको थियो । मुख्य गरि तीन कारखानामा काम गर्ने १२ हजार ७ सय कामदारहरुले काम बन्द गरेर विरोध सुरु गरेका थिए । जिएमको मसुरीस्थित एसेम्ब्ली प्लान्ट, फर्डको मिसिगनस्थित कारखना र ओहायोमा रहेको स्टेल्लेनटिसको कारखानामा काम गर्ने कामदारहरुले विरोध सुरु गरेका थिए ।

एक सातापछि संगठनले विरोधलाई विस्तार गर्दै विभिन्न ३८ वटा वितरण केन्द्रका ५६ सय जना कामदारले काम रोक्ने अवस्था आयो । यसरी काम रोकेर गरिएको बिरोधले कम्पनीहरुको गाडीको उत्पादनमा केही हदसम्म असर गरेको छ भने बिक्रीमा ४० प्रतिशतसम्म असर गर्ने देखिन्छ ।

कामदारले काम बन्द गर्नुको कारणको सुरुवात भने २०१९ मा संगठन र यी तीन कम्पनीहरुबीच भएको श्रम सम्झौता अवधि सकिएपछि हो । १४ सेप्टेम्बरमा यो श्रम सम्झौता एक्सपायर भएको थियो ।

संगठन र कम्पनीहरुबीच पारिश्रमिक, बिदा र जीविकोपार्जनका खर्चको विषयलाई लिएर छलफल भईरहेको थियो । तर, कुनै बिन्दुमा पुग्न भने सकेका थिएनन् । संगठनले चार वर्षका लागि हुने सम्झौतामा ४० प्रतिशतको वृद्धि पारिश्रमिकमा हुनुपर्ने भन्दै छलफल गरिरहेको छ । संगठनका अध्यक्ष स्वान फैनकाअनुसार यो लडाई अर्बपतिहरु र आर्थिक न्याय चाहनेहरुका बीच भइरहेको छ ।

सन् २०१९ मा पनि सम्झौतालाई पुनः अद्यावधिक गर्नका लागि ६ हप्तासम्म आन्दोलन भएको थियो । हालको विरोध पनि महिना दिन पुग्न लागेको छ । रोयटर्सकाअनुसार जिएमले गत शाता संगठनसँग सम्झौता गर्ने प्रयास गरेको थियो । तर, त्यो पनि असफल भएको छ । अक्टोबर ११ मा पनि जिएमसँग संगठनका वार्ता भएको थियो ।

संगठनले गरिरहेको आन्दोलन कुनै निष्कर्षमा आउन सकेको छैन । यसबीच यी शिर्ष कम्पनीहरुको उत्पादन र बिक्रीमा प्रभाव परिरहेको छ । हाल भने संगठनले आफ्नो आन्दोलनलाई फोर्डको सबैभन्दा ठूलो कारखानामा विस्तार गरेको छ ।

अमेरिकाको केन्टक्कीमा रहेको फोर्डको विश्वभरकै सबैभन्दा ठूलो कारखानालाई बन्द गरेर विरोध गर्ने संगठनले आकस्मिक निर्णय लिएको छ । उक्त कारखानामा काम गरिरहेका संगठनका ८ हजार ७ सय सदस्यहरुले पनि बुधबारबाट काम बन्द गरेर विरोध सुरु गरेका छन् ।


क्लिकमान्डु