भारतबाट एकैवर्ष २२ अर्ब अमेरिकी डलरको हिरा निर्यात, नेपालले किन्यो ३ अर्ब रुपैयाँको



काठमाडौं । भारतले एकैवर्ष २२ अर्ब अमेरिकी डलरको हिरा (कट तथा पोलिस डाइमन्ड- सीपीडी) निर्यात गरेको छ । भारतले सन् २०२३ मा २२ अर्ब ४ करोड अमेरिकी डलरबराबरको हिरा निर्यात गरेको हो ।

भारत सरकारले सन् २०२२ मा २४ अर्ब ४३ करोड अमेरिकी डलरबराबरको हिरा निर्यात गरेको थियो । सन् २०२३ मा विश्वव्यापी रुपमा हिराको मूल्य बढ्दा त्यसको प्रत्यक्ष असर निर्यातमा परेको छ ।

सन् २०२२ बाट निरन्तर घटेको हिराको निर्यात सन् २०२४ मा झनै घट्ने अनुमान गरेको छ । वार्षिक रुपमा सीपीडीको निर्यात करिब १५ प्रतिशतसम्म घट्ने अनुमान गरेको छ । भारतले आगामी वर्ष १९ अर्ब अमेरिकी डलरबराबरको मात्रै हिरा निर्यात हुने अनुमान गरेको छ ।

सीपीडी डाइमन्डको निर्यात घटिरहेको अवस्थामा ल्याब ग्रोन डाइमन्ड (एलजीडी) सेग्मेन्टको डाइमन्डको निकासी भने बढ्दै गएको छ । एक अध्ययनअनुसार सन् २०२० देखि २०२३ सम्ममा  पोलिस एलजीडी डाइमन्डको निर्यात ४१ प्रतिशतले बढेको उल्लेख छ । भारत सरकारले सन् २०२६ सम्ममा ३ अर्ब अमेरिकी डलरको निर्यात हुने अपेक्षा गरेको छ ।

भारतमा एलजीडी डाइमन्ड उत्पादनका लागि व्यवसायीले मेसिनरी तथा सोलर पावर क्षमता बढाइरहेको छ । विश्वबजारमा सन् २०२२ मा डाइमन्ड ज्वेलरीको बजार ८० अर्ब अमेरिकी डलरको छ । त्यसमा पोलिस डाइमन्डको बजारमा मात्रै २६ अर्ब अमेरिकी डलर रहेको अध्ययनले देखाएको छ ।

सन् २०२१ मा वार्षिक ८७ अर्ब अमेरिकी डलरबराबरको माग हुँदै गएको डाइमन्डको ज्वेलरीको बजार खुम्चिँदै गएको पाइन्छ । सन् २०२२ मा ८० अर्ब अमेरिकी डलरको बजार रहेकोमा सन् २०२३ मा आइपुग्दा घटेर ७६ अर्ब अमेरिकी डलरको माग भएको उल्लेख छ ।

त्यस्तै, विश्वबजारमा पोलिस डाइमन्डको माग पनि घटेको छ । सन् २०२१ मा विश्वबजारमा पोलिस डाइमन्डको माग २८ अर्ब अमेरिकी डलर पुगेको थियो । तर, सन् २०२२ मा घटेर २६ अर्ब अमेरिकी डलर र सन् २०२३ मा २५ अर्ब अमेरिकी  डलरको मात्रै माग भएको अध्ययनले देखाएको छ ।

भारत हिरा प्रोसेसिङ गर्ने विश्वकै सबैभन्दा ठूलो देश हो । विश्वमा पोलिस डाइमन्डमा भारतले मात्रै ९५ प्रतिशत प्रशोधन गरी उत्पादन गर्ने गरेको पाइएको छ । भारतले हिरा प्रशोधन गरेर अमेरिका, यूएई, हङकङ र बेल्जियम निर्यात गर्दै आएको छ ।

भारतले ५० प्रतिशत हिरा अमेरिकामा मात्रै निर्यात गर्दै आएको छ । यसले पोलिस डाइमन्डमा अमेरिका भारतमा पूर्ण निर्भर रहेको देखाउँछ ।

एक दशकयता विभिन्न देशले ल्याब ग्रोन डाइमन्ड (एलजीडी) र केमिकल भ्यापोरिस डिपोजिसन (सीपीडी) वा हाइ प्रेसर, हाइ टेम्प्रेचर टेक्नोलोजीमार्फत हिरा उत्पादन गर्दै आएको छ । जसमा हरेक वर्ष डबल डिजिटमा उत्पादन बढ्दै गएको अध्ययनमा उल्लेख छ । अध्ययनअनुसार हालसम्ममा विश्वभर प्रविधि प्रयोग गरेर उत्पादन गरेको हिरा करिब ८० लाख क्यारेट पुगेको छ ।

विश्वमा उक्त प्रकारको हिरा उत्पादन गर्नेमा पहिलो नम्बरमा चीन छ । चीनले मात्रै विश्वको ५० प्रतिशत एलजीडी डाइमन्ड उत्पादन गर्दै आएको जनाएको छ । त्यसपछि रुसले पनि सीभीडी प्रविधिको प्रयोगबाट हिरा उत्पादन गर्दै आएको छ ।

त्यसैगरी, भारतले सन् २०२२ मा १ अर्ब अमेरिकी डलरको एलडी निर्यात गरेको थियो भने सन् २०२३ मा १ अर्ब ६५ करोड अमेरिकी डलरको निर्यात गरेको छ ।

विश्वबजारमा प्रविधिको प्रयोगबाट उत्पादन भइरहेको हिराको हिस्सा करिब ८ प्रतिशत छ । अध्ययनमा सन् २०२१ सम्ममा उक्त प्रकारका हिराको बजार ६ अर्ब ९० करोड अमेरिकी डलर पुगेको थियो । 

त्यस्तै, अमेरिकामा सन् २०२१ मा प्रविधिको प्रयोगबाट उत्पादन भएको हिरा बजार ३ अर्ब ९० करोड अमेरिकी डलरको थियो । त्यसमा भारतको हिस्सा २० प्रतिशत थियो । जसमा भारतबाट मात्रै १५ लाख क्यारेट निर्यात गरेको थियो । साथै, भारतले आगामी सन् २०२६ सम्ममा ३ अर्ब अमेरिकी डलरको निर्यात गर्ने लक्ष्य लिएको छ ।

नेपालमा ३ अर्बको आयात

नेपालले गत आर्थिक वर्षमा मात्र ३ अर्ब रुपैयाँबराबरको हिरा आयात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आवमा नेपालले ३ अर्ब १ करोड १४ लाख रुपैयाँको ९४ हजार २७८ क्यारेट हिरा आयात गरेको हो । उक्त आयातित हिराबाट नेपालले ३ करोड रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ ।

नेपालले ३ अर्ब रुपैयाँबराबरको हिरा आयात गर्दा भारतबाट मात्रै २ अर्ब ८४ करोड १८ लाख रुपैयाँको आयात गरेको छ । त्यसबाहेक नेपालले १६ करोड रुपैयाँको यूएईबाट, ८२ लाख रुपैयाँको हङकङबाट र १० लाख रुपैयाँको थाइल्यान्डबाट आयात गरेको छ ।

त्यस्तै, नेपालमा सुनको मूल्य बढेर निरन्तर नयाँ रेकर्ड कायम गरिरहेको बेला हिराको व्यापार बढ्दै गएको छ ।  व्यवसायीहरुका अनुसार सुनको मूल्य निरन्तर उकालो लाग्दा हिराको कारोबार भने बढेको हो । सुनको मूल्यले एकपछि अर्को नयाँ रेकर्ड कायम गर्दा हिरामा आकर्षण बढेको नेपाल रत्न तथा आभूषण संघका अध्यक्ष ज्योत्स्ना श्रेष्ठ बताउँछिन् ।

उनका अनुसार सुनको मूल्य उच्च भएपछि हिरातर्फ मानिसको आकर्षण बढ्दै गएको हो । ‘केही वर्ष अघिसम्म नेपालमा हिरा खासै खपत हुँदैनथ्यो तर पछिल्ला दिनमा सुनसँगै हिरामा पनि आकर्षण बढ्दो छ,’ उनले क्लिकमान्डुसँग भनिन्, ‘अधिकांश मानिसले सुनसँगै हिराको प्रयोग गर्ने प्रचलन बढ्दै जाँदा व्यापार बढ्दो क्रममा छ ।’


क्लिकमान्डु