ऋण तिर्न छोरीहरु ‘बेच्ने’ परिवारको कथा
एजेन्सी । बाढीका कारण भएको क्षतिको एक वर्षपछि पाकिस्तानस्थित बलुचिस्तानको चौकी जमाली क्षेत्रकी एक मजदुरले बीबीसी उर्दूका पत्रकार सहर बलोचलाई एउटा दुःखद् घटना सुनाए– अघिल्लो वर्ष मेरी श्रमतीको शल्यक्रिया हुनुपर्ने थियो । डाक्टरले कि त बच्चा बचाउन सकिने कि आमा बचाउन सकिने बताएका थिए । मैले साढे तीन लाख रुपैयाँ कर्जा लिएको थिए । छिट्टै अपरेसन गराउनुपर्ने थियो । तर, कर्जा दिनेले ब्याजसहित पैसा मागे । मैले साढे तीन लाखको सट्टा पाँच लाख रुपैयाँ तिर्नु पर्ने भयो । मैले के गर्ने भन्ने सोच्न नसकेर आफ्नी १० वर्षकी छोरीलाई एक किलोमिटर टाढा बस्ने छिमेकीलाई बेचिदिएँ ।
गत वर्ष आएको बाढीका बीच पत्रकार सहर बलुचिस्तानका कैयौं क्षेत्रहरुमा पुगेका थिए । त्यो बेला त्यहाँका धेरै ठाउँहरु पूर्णरुपमा क्षतिग्रस्त थिए । त्यस्ता क्षेत्रमध्ये चौकी जमाली पनि एक थियो । बलुचिस्तानको दूरदराजमा रहेको जाफराबाद जिल्लाको एक भाग भए पनि यो ठाउँ धेरैको नजरबाट ओझेलमा परेको ठाउँ हो ।
यो ठाउँमा सामान्यतया सरकारी अधिकारीहरुको आवतजावत हुँदैन । तर, २०२२ को बाढीपछि सरकारी संस्थाहरु चौकी जमाली र आसपासका अन्य क्षेत्रहरुमा उनीहरु आउन थाले । त्यसपछि यी ठाउँमा लुकेर बसेका कैयौं यथार्थहरु पनि बाहिर आउन थाले ।
बीबीसीका पत्रकार सहर २०२२ को बाढीको एक वर्षपछि त्यो ठाउँमा पुग्दा त्यहाँका परिवारहरु अहिले अति गरिबीको शिकार भएको देखेको बताउँछन् । जसकारण धेरै परिवारहरुले आफ्ना छोरीहरुलाई बेच्न बाध्य भएका छन् ।
चौकी जमालीको क्षेत्र सिन्ध र बलुचिस्तानको सीमामा रहेको छ । यहाँ करिब ५० हजार जनाको जनसंख्या रहेको बताइन्छ । यहाँ प्रायः किसान र दैनिक मजदुरी गरेर गुजारा गर्नेहरुको बसोबास रहेको छ ।
२०२२ मा बाढीका बीच पाकिस्तानकी पूर्वपर्यावरण मन्त्री शेरी रहमानले करिब ३२ लाख परिवार प्रभावित भएको बताएकी थिइन् । सबैभन्दा धेरै सिन्ध र बलुचिस्तान राज्यमा बाढीले असर गरेको थियो ।
स्थानीयकाअनुसार यसअघि यस्तै किसिमको ठूलो बाढी सन् १९७६ मा आएको थियो । त्यसपछि २०१० र २०२२ मा यस्तो बाढी आएको थियो ।
चौकी जमालीको अवस्था बाढीपछि निकै खराब भएको छ । यहाँका मानिसहरु कम उमेरका छोरीहरुलाई पनि बेच्न बाध्य हुनुपर्ने अवस्था सिर्जना भएको छ ।
कर्जाका कारण उत्पन्न बाध्यता
छोरीहरुलाई बेच्नुपर्ने बाध्यताको कारण भने कर्जा रहेको छ । स्थानीय एक शिक्षिकाकाअनुसार किसानहरुले ब्याजमा ऋण लिने र लाग्नुपर्ने ब्याजमा पनि थप ब्याज (मिटर ब्याज) लाग्दै जाँदा कर्जाको रकम धेरै हुने अवस्था सिर्जना हुने गरेको छ। यो कर्जा तिर्नकै लागि परिवारले आफ्ना कम उमेरकी छोरीहरु ४० देखि ६० वर्ष उमेरका पुरुषहरुलाई समेत बेच्नुपर्ने अवस्था आएको छ।
सरकारी अधिकारीहरुका अनुसार २०२२ को बाढीपछि यस्ता घटनाहरु थप बढेको पाइएको छ । स्थानीय एक मजदुरका अनुसार उनको दैनिक कमाई ५ सय रुपैयाँ रहेको छ । उनले आफ्नी १० वर्षकी छोरी ४० वर्षको पुरुषलाई बेचेको बीबीसीका पत्रकार सहरलाई बताएका थिए । लेखको सुरुवातको कथा सुनाउने मजदुर उनै हुन ।
गर्भवती श्रीमतीको शल्यक्रियापछि सन्तानको मृत्यु भए पनि आमा भने बाँचेकी थिइन् । श्रीमतीलाई बचाउनका लागि आफूसँग कुनै बाटो नभएको उनले सुनाए । बाढी आएको केही दिनपछि यस्तो हुँदा उनी न कुनै अस्पताल जान सक्ने अवस्था थियो न कुनै ठाउँमा गुहार्न सक्ने अवस्था । उनले भनेका छन्, ‘यस्तोमा लिएको कर्जा कसरी चुकाउने ? मैले त्यो बेला आफ्नी छोरीलाई तिमीले यहि मान्छेसँग विवाह गर्नुपर्छ भनेको थिएँ । बदलामा हामीले पैसा पाउँछौं र आमाको उपचार हुन्छ र उनले औषधी पाउँछिन् भनेर छोरीलाई सम्झाएँ ।’
बाढीको एक वर्षपछि अहिले मजदुरहरुको घरमा खानका लागि एक छाकको खाद्यान्नको पनि अभावको स्थिति छ । आँटाको खाली भाडातर्फ देखाउँदै गर्दै ती मजदुरले आफूसँग एक छाकका लागि पुग्ने रोटी बनाउने पनि अन्न नभएको बताए । उनले भनेका छन्, ‘त्यसले हामी हप्तामा तीन दिन मात्रै खाना खान्छौं । बाँकी चार दिन भोकै पेट बस्नुपर्छ ।’
हाल ती मजदुरकी छोरी उनकै घरमा छिन् । उनका श्रीमान आफ्नो घरायसी कुनै समस्यालाई समाधान गर्न गएका कारण छोरीलाई आफ्नो घरमा राख्न पाएको उनले बताए । यो समयमा उनी छोरीलाई स्कुल पनि पठाइरहेका छन् । तर, उनको श्रीमान शहरबाट फर्किने बित्तिकै उनी स्कुल पनि जान पाउनेछैनन् ।
३ देखि ५ लाखमा बेचिन्छन् छोरीहरु
चौकी जमाली क्षेत्रमा बेचिने छोरीहरुको मूल्य प्रायः तीनदेखि पाँच लाख हुन्छ । यो रकमबाट किसान र मजदूरहरुले आफ्नो कर्जा तिर्छन् । कतिपयले कराचीमा गएर उपचार गराउँछन् । पैसा बाँकी रहे छोराको पढाइमा खर्च गर्छन् ।
सहरले कुरा गरेका एक बुबाले बताएअनुसार उनले आफ्नी छोरी बेच्नुको कारण छोरीबाट भविष्यमा सन्तान हुने बताउँछन् । छोरालाई भने नबेचिने उनले बताएका छन् ।
छोरी नभएका चौकी जमालीमा कतिपय परिवारले घरमा रहेका सरसामान बेचेर बाढीपछि कर्जा तिरेका थिए । कतिपयले जमिनदार कहाँ काम गरेर कर्जा तिरिरहेका छन् ।
चौकी जमालीमा किसान तथा मजदुरले प्रायः दुई किसिमको कर्जा लिन्छन् । एक किसिमको कर्जा मजदुरले खेती गर्नका लागि लिन्छन् । उनीहरुले कम पैसामा कर्जा दिने साहुकोमा काम गर्नुपर्छ । सँगै उनीहरुले बाढीका कारण खेती गर्न योग्य नहुने जमिनको पनि कर्जा तिर्नुपर्ने हुन्छ ।
दोस्रो, किसिमको कर्जा भने उपचार वा घर खर्चका लागि लिने गरिन्छ । तर, समानता भने यी दुवै अवस्थामा आफ्नी छोरीहरुलाई बेचेर यो कर्जा तिर्ने गरिन्छ ।
एक स्थानीय शिक्षककाअनुसार धेरै घटनाहरुमा कम उमेरका बालिकाहरुलाई दुईदेखि तीन पटकसम्म बेचिन्छ । यस्तो तब हुन्छ जब पहिलो पटक बेचिएको ठाउँमा उनीहरु बस्न नसक्ने अवस्था सिर्जना भएको हुन्छ । कतिपय अवस्थामा आफू बेचिने कुरा सुनेर उनीर घरबाट पनि भाग्छन् । यस्तोमा उनीहरुको बहिनी भएमा कम उमेरकी बहिनीकै बिक्री हुन्छ र विवाह हुन्छ ।
ती शिक्षककाअनुसार किसानले काम गर्ने जमिनदारहरुले पनि कम उमेरका किसानका छोरीहरुमाथि व्यभिचारको आरोप लगाउने धेरै सम्भावना हुन्छ । त्यसैले पनि बदनामी हुने डरले आमाबुबाले हतारमा नै कम उमेरका छोरीहरुको विवाह गरिदिन्छन् ।
यस्तो परिस्थितिबाट गुज्रिने कम उमेरकी युवतीहरुलाई ‘क्लाइमेट ब्राइड्स’ शब्दले चिनाइन्छ । बलुचिस्तानमा जलवायु परिवर्तनमाथि काम गर्ने संस्था ‘मदद कम्युनिटी’ले बताएअनुसार यी राज्यहरुमा जलवायु परिवर्तन र बाढीका कारण खेती गरेर कमाउन निकै कठिन अवस्था छ । प्रायः खेतीमा नै आधारित परिवार भएकाले यस्ता समस्याले अन्त्यमा छोरीहरुलाई बेच्नुपर्ने अवस्था सिर्जना गराएको छ ।
उक्त संस्थाकी सञ्चालक मरियम जमालीकाअनुसार प्रायः मध्यम वर्गीय मानिसहरु पलायन भएका छन् । गरिब किसानहरु भने कुनै विकल्प नभएका कारण कतै जान सक्दैनन । अन्त्यन्तै गर्मीका कारण भोकमारी र बाढी दुवैको सम्भावना पनि बढेको उनले बताइन् । यसले अन्ततः सामाजिक रुपमा नै असर गरिरहेको छ ।
यो क्षोत्रमा बस्नेहरुका अनुसार पहिले पनि कम उमेरका युवतीहरुको विवाह हुन्थ्यो । तर, पछिल्लो समय यसमा धेरै वृद्धि भएको छ ।
प्राकृतिक विपदको क्षेत्रमा काम गर्ने संस्था पीडीएमए (प्रोविन्शियल डिजास्टर म्यानेजमेन्ट अथोरिटी) ले अगस्ट २०२२ मा बलुचिस्तानका १४ जिल्लाहरुको सर्वेक्षण गरेको थियो ।
उक्त सर्वेक्षणमा कम उमेरको विवाहका कारण बच्चाहरु बेच्ने घटनामा १३ प्रतिशतले वृद्धि भएको पाइएको थियो ।
बलुचिस्तानको एक विद्यालयकी प्राध्यापिका सादियाले बताएअनुसार कम उमेरमा विवाह भएका कारण हिंसा पनि बढेको छ । उनी पढाइले केही फरक पारेको भए पनि आमाबुबालाई छोरीहरु बेच्नबाट रोक्न नसकिएको बताउँछिन् ।
चौकी जमालीकै स्वास्थ्य केन्द्रमा रहेकी महिला स्वास्थ्यकर्मी शहजादीले बताएअनुसार हरेक दुई तीन दिनमा कम उमेरमा गर्भवती भएका कारण मृत्यु हुने घटनाहरु देखा पर्न थालेका छन् । उनी कम उमेरमै गर्भवती हुने छोरीहरु रुने कराउने गरेको दैनिक देख्नुपर्ने बताउँछिन् ।
आफूहरुले यो विषयमा निरन्तर बोलिरहेको भए पनि घरकी महिलाले केही गर्न नसक्ने स्थिति रहेको उनले बताइन् । छोरीलाई बेच्ने निर्णय घरको पुरुषको भएकाले आमाहरुले केही गर्न नसक्ने अवस्था रहेको उनले सुनाइन् ।
महिला आयोगकी अध्यक्ष फौजिया शाहीले बताएअनुसार बलुचिस्तानमा कम उमेरमा हुने विवाहका घटनाहरु बढेको छ । तर, यस विषयलाई लिएर विवाह रोक्ने कुनै प्रभावकारी कानुन छैन ।
यो क्षेत्रमा विवाह र कम उमेरका छोरीहरु बेच्नुपर्ने कारण कैयौं बताइन्छ । तर, वास्तविकता यहाँ वातावरणीय प्रभावका कारण भएको बाढीजस्तो प्राकृतिक विपदले निम्त्याएको कारण हो । यसको मूल्य भने कम उमेरका छोरीहरुले चुकाउनु परिरहेको छ ।