दसैंका लागि टिकट बुकिङ खुलाउने सरकारको तयारी, व्यवसायी भन्छन्- पहिले हाम्रो माग पूरा गर



फाइल तस्बिर

काठमाडौं । सरकारले लामो दूरीमा गुड्ने यात्रुवाहक बसको हकमा चाडवाड केन्द्रित अग्रिम टिकट काट्ने सुविधा खुलाउने तयारी गरेको छ ।

सरकारले असोज तेस्रो सातादेखि अग्रिम टिकटको बुकिङ खुलाउने आन्तरिक तयारी गरिरहँदा यातायात व्यवसायीले भने आफ्नो माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन् ।

चाडवाडको समयमा टिकटमा ठगी हुन नदिन र पहिलै नै बसको टिकट सुनिश्चित गर्न यातायात व्यवस्था विभागको सहकार्यमा यातायात व्यवसायीले अग्रिम टिकट काट्ने सुविधा खुलाउँदै आएका छन् ।

यातायात व्यवसायीहरुले २०७८ असारपछि वैज्ञानिक अध्ययनको आधारमा सार्वजनिक सवारी साधनको भाडादर निर्धारण नहुँदा तत्कालै अग्रिम टिकट बुकिङ सुविधा नखोल्ने बताएका छन् ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले यातायात व्यवसायीले उठाएका माग सम्बोधन नहुँदासम्म अग्रिम टिकट बुकिङ नखुल्ने बताए । यातायात व्यवसायीले बर्षेनी चाडपर्व आउनुपूर्व आफ्नो माग राखेर सरकारलाई गलाउने प्रयास गर्दै आएका छन् ।

सरकारले सार्वजनिक सवारी साधनको हकमा भाडा दर वृद्धि गर्दा दुई विषयलाई आधार लिँदैं आएको उनी बताउँछन् । इन्धनको मूल्य बढ्दा ३५ प्रतिशतसम्म मूल्य वृद्धि गरि भाडा दर समायोजन गर्ने व्यवस्था छ ।

यस्तै अन्य सूचकहरु (सबारी साधनमा लाग्ने पार्टपूर्जा, लुव्रिकेन्टस्, सबारी साधनमा काम गर्ने कर्मचारीको तलव भत्ता, मर्मतसम्भार, हस कट्टी, सञ्चालन नाफा, बैंक व्याजलगायतका बिषय) को मूल्य वृद्धि हुँदा ति सबैलाई जोडेर ६५ प्रतिशतसम्म मूल्य बढाएर भाडा समायोजन गर्ने व्यवस्था छ ।

पछिल्लो समयमा सरकारले अन्तर्राष्ट्रिय बजारसहित स्वदेशी बजारमा बढ्दै गएको इन्धनको मूल्यको आधारमा पटक पटक मूल्य समायोजन गरे पनि अन्य सूचकहरुको आधारमा २०७८ असारदेखि मूल्य समायोजन नगरेको आरोप यातायात व्यवसायीहरुले लगाएका छन् ।

‘अन्य सूचकहरुको आधारमा हरेक चैत मसान्तमा भाडा दर समायोजन गर्ने व्यवस्था भएपनि सरकारले पछिल्लो २ बर्षदेखि समायोजन नगरेकाले तत्कालै अग्रिम टिकट बुकिङ नखोल्ने हाम्रो भनाई हो,’ सिटौलाले भने,‘यो वाहेक विभिन्न प्रमुख सडक खण्डहरु ध्वस्त बनेको छ । त्यो सडक खण्डहरु दसैं अघिसम्म मर्मत सम्भार गर्नुपर्ने हाम्रो न्यूनतम शर्त हो ।’

उनकाअनुसार सडक विस्तार र बाढिका कारण नारायणघाटदेखि बुटवल सडक खण्ड, कलंकीदेखि नारायणघाट, पूर्व पश्चिम सडकमार्ग अन्तर्गत प्रदेश नम्बर २ र १ को सडक खण्ड पूर्ण रुपमा जिर्ण भएको छ । यस्तै कोहलपुर–लमही, अरनिको राजमार्गमा समेत धेरै स्थानमा पहिरो र बाढिका कारण खाल्डा खुल्डी भएका छन् । यो राजमार्गमा धेरै स्थानमा अहिले डायभर्सन निर्माण गरिएको छ ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत विभिन्न सडक खण्डहरु संघीय सरकारले अहिले ४ लेनमा विस्तार गर्न सुरु गरेको छ । यसअन्तर्गत नारायणगढ–बुटवल, कमला–कञ्चनपुर, काँकडभिट्टा–लौकही, नारायणघाट–पथलैया, बुटवल–गोरुसिङगे, कमला–ढल्केवर–पथलैयालगायतका सडक चौडा र फराकिलो बनाउन लागिएको छ । यस्ता सडक खण्डहरुमा ठूलाठूला खाल्डो बनेकाले यातायात व्यवसायीको सबारी साधनको मर्मत खर्च अत्याधिक बढेको छ ।

‘हामीले अग्रिम टिकट काट्ने सुविधा सुरु गर्नुअघि नै उक्त सडक खण्डहरु पूर्ण रुपमा मर्मत सम्भार गरिसक्न भनेका छौं,’ सिटौलाले भने,‘जीर्ण सडक मर्मत सम्भार र भाडा दरको आधार लिइएको अन्य सूचकको आधारमा भाडा दर समायोजन नहुँदासम्म अग्रीम टिकट बुक गर्ने परिस्थितिमा हामी छैनौं ।’

यातायात व्यवस्था विभागले भने अग्रिम टिकट काट्ने सुविधाको विषयमा सरोकारवाला निकायसँग छलफल भइरहेको जनाएको छ ।

विभागका सूचना अधिकारी ईश्वरीदक्त पनेरुका अनुसार अग्रिम टिकट बुकिङका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले गत शुक्रबार नै यातायात क्षेत्र व्यवस्थित गर्न विभागका महानिर्देशक उद्धव रिजालको संयोजकत्वमा कार्यदल गठन गरेको छन् । कार्यदललाई आवश्यक अध्ययन गरि प्रतिवेदन वुझाउन जिम्मेबारी दिइएको छ ।

कार्यदललाई जीर्ण सडकको अवस्थाको पहिचान, मर्मत सम्भार गर्नुपर्ने सडकहरु, यातायात व्यवसायीको माग, अग्रिम टिकट काट्नका लागि आवश्यक संयन्त्र निर्माणको तयारी, यात्रुलाई ठगी हुन नदिन अपनाइने प्रणालीलगायतका विषयमा खाका बनाउन जिम्मेबारी दिइएको छ ।

‘दसैंअगावै संघीय सरकारअन्तर्गतको मुख्य सडक खण्डहरु मर्मतसम्भार गरिसक्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रीबाट सडक विभागलाई निर्देशन दिने काम भइसकेको छ,’ पनेरुले भने, ‘सडक विभागले पनि आफ्नो कार्य क्षेत्रमा गर्नुपर्ने सुधारको कामलाई प्राथमिकतामा राखेर मर्मत सम्भारको काम सुरु गरिसकेको छ । अब रह्यो ६५ प्रतिशतको आधारमा भाडा दर समायोजन । यो बिषयमा पनि छलफल भइरहेको छ । यो विषय मिलेलगत्तै अग्रिम टिकट काट्ने सुविधा सुरु गर्छौं ।’

पनेरुकाअनुसार दसैं मनाउन घटस्थापनापछि काठमाडौं, भक्तपुर र ललितपुरमा बसोबास गर्दै आएका सर्वसाधारण उपत्यका छाड्न सुरु गर्छन् ।

चाडवाडको समयमा घटस्थापनादेखि अष्टमीसम्म उपत्यकाबाट दैनिक करिब साढे ५ हजारको संख्यामा ठूला साना सबारी साधन बाहिरिने गरेको छ । यो वेला करिब २० देखि २२ लाख सर्वसाधारण चाडवाड बनाउन गृह जिल्ला फर्कने गरेको विभागले जनाएको छ ।


राजेश बर्मा