व्यापारीले चिनी लगायतको मूल्य बढाएपछि गोप्य ‘टास्क फोर्स’ परिचालन, १० वटा विशेष अनुगमन टोली
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबारदेखि बजारमा दुईवटा ‘टास्क फोर्स’ परिचालन गरेको छ । विभागले कर्मचारीको पहिचान नखुल्ने गरि गोप्य रुपमा यो टास्क फोर्स परिचालन गरेको हो ।
विभागका महानिर्देशक तीर्थराज चिलुवालका अनुसार पछिल्लो समयमा व्यापारीले आफूखुशी चिनीको उपभोक्ता मूल्य तोकेर महँगीको भार थपेको भन्दै विभागले गोप्य रुपमा अध्ययन गरि कारवाही गर्न यस्तो टास्क फोर्स परिचालन गरेको हो ।
‘कर्मचारीको परिचय नखुल्ने गरि टास्क फोर्समा कर्मचारीलाई आवद्ध गरि शुक्रबारदेखि परिचालन गरेका छौं,’ विभागका नवनियुक्त महानिर्देशक चिलुवालले भने,‘यो टास्क फोर्समा सहभागी भएका कर्मचारी ग्राहकको रुपमा पनि हुन सक्छन्, सफाइ कर्मचारीको रुपमा पनि हुन सक्छन् । कसैले चिन्न नसक्ने गरि परिचालन गरेका छौं ।’
विभागका अनुसार टास्क फोर्समा आवद्ध कर्मचारीलाई चिनीसहित चामल, तेल, दाललगायतका बस्तुको कारखाना, मुख्य गोदामहरु, थोक बिक्रेता तथा खुद्रा विक्रेतालाई निगरानी गर्न परिचालन गरिएको हो । विभागले कारखानादेखि खुद्रा व्यापारीसम्मको तहमा रहेको उपभोग्य बस्तुको भण्डारणको अवस्था र कुन तहमा कसले कति मूल्य वृद्धि गरिरहेको छ लगायतका विषयमा गोप्य रुपमा अध्ययन गर्न टास्क फोर्सलाई जिम्मेबारी दिएको छ ।
‘अहिलेसम्म हामीले यो टास्क फोर्समार्फत चिनीसहित अत्यावश्यक वस्तु लुकाएर स्टक राखेको र कुन तहमा कसले कति मूल्य वृद्धि गरेको बिषयमा करिब २० जना व्यापारी र फर्म पहिचान गरिसकेका छौं,’ चिलुवालले भने,‘पहिचान भएको स्थानमा निकट समयमै छापामा मारेर आवश्यक कारवाही अघि बढाउन लागेका छौं ।’
पछिल्लो समयमा बजारमा अराजक गतिविधि बढ्दै गएको बताउँदै विभागले उक्त बिषयमा गहन रुपमा अध्ययन गर्न शुक्रबार नै एउटा कार्यदलसमेत गठन गरेको छ । विभागको उपसचिव अच्युत रेग्मीको संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठन गरिएको हो । यो कार्यदललाई ५ दिनभित्र अध्ययन गरि प्रतिवेदन बुझाउन समयसीमा निर्धारण गरिएको छ ।
चिलुवालका अनुसार चिनीको कारखाना र कारखाना मूल्य, आयातकर्ताले आयात गर्दा आयातित मूल्य, थोक विक्रेताको मूल्य, खुद्रा विक्रेताको मूल्य र मौज्दात परिमाणको बिषयमा स्थलगत अध्ययन गरि प्रतिवेदन बुझाउने जिम्मेबारी उक्त कार्यदललाई दिइएको हो ।
‘कुन तहमा कसले बढि स्टक राख्ने र कसले कति मूल्य बृद्धि गर्दैआएका छन, त्यो बिषयमा अध्ययन गर्न यो कार्यदल गठन गरेका हौं,’ चिलुवालले भने ।
यसवाहेक शुक्रबारदेखि नै विभागले चाडवाड केन्द्रित १० वटा संयुक्त विशेष अनुगमन टोली बजारमा परिचालन गरेको छ । विभागले खाद्य प्र्रविधि तथा गुण नियन्त्रण विभाग, औषधी व्यवस्था विभाग, गुणस्तर तथा नापतौल विभाग, पशु सेवा विभाग, कृषि विभाग, राजस्व अनुसन्धान विभाग, जिल्ला प्रशासन कार्यालयलगायतको सहकार्यमा यो अनुगमन गर्न सुरु गरेको हो ।
यो टोलीलाई माछामासु, खाद्य पदार्थ, खानेतेल, पानी, दूध तथा दुग्धजन्य पदार्थ, लत्ताकपडा, औषधी, तरकारी, सिमेन्ट, रडलगायतको गुणस्तर, तौल, बिल बिजक, म्याद भए नभएको, बढि मूल्य असुल गरेको बिषयमा अनुगमन गर्न जिम्मेबारी दिइएको विभागले जनाएको छ ।
यस्तै विभागले शुक्रबार नै देशभरकै जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी र नगरपालिका र गाउँपालिकाका प्रशासकीय अधिकृतलाई बजार अनुगमन गर्ने अधिकार प्रत्योजन गरि पत्र पठाएको छ ।
प्रदेशस्थित उद्योग, वन, पर्यटन मन्त्रालयलाई पनि आ आफ्नो कार्य क्षेत्रमा कडाईका साथ अनुगमन गरिदिनका लागि आवश्यक टोली परिचालन गर्नसमेत विभागले प्रदेश मन्त्रालयहरुलाई पत्र पठाएर आग्रह गरेको छ ।
‘पछिल्लो समयमा व्यापारीहरुले आफूखुशी मूल्य निर्धारण गरि आम उपभोक्तालाई सास्ती दिएकाले विभाग त्यस्ता व्यापारीमाथि ऐनअनुसार निर्मम कारवाहीको दायरा बढाउन लागेको छ,’ उनले भने ।