आर्थिक संकुचनले सिमेन्ट र डण्डी उद्योगको व्यापारमा धक्का, आधाले घट्यो कारोबार



हालसम्म आर्थिक कारोबारको विवरण सार्वजनिक गरेका अधिकांश उद्योगको व्यापारमा कमी आएको छ । सर्वोत्तम स्टिल,  श्री स्टिल, विजयश्री स्टिल, सर्वोत्तम सिमेन्ट, शिवम् सिमेन्ट, पाल्पा सिमेन्ट, सर्वोत्तम सिमेन्ट, ब्रिज सिमेन्टलगायतका उद्योगको व्यापारमा आर्थिक संकुचनले प्रभाव पारेको छ ।

काठमाडौं । आर्थिक संकुचनका कारण विकास निर्माणले गति लिन नसक्दा निर्माण सामग्री उत्पादन गर्ने उद्योगको व्यापारमा धक्का पुगेको छ । आर्थिक संकुचनले विगतका वर्षहरुमा जस्तो निर्माण क्षेत्रले गति लिन नसक्दा त्यस क्षेत्रसँग सम्बन्धित अधिकांश उद्योगको व्यापारमा असर देखिएको हो ।

नेपालको पुँजीगत खर्च निकै कमजोर भएको अवस्थामा थप आर्थिक संकुचनले अधिकांश उद्योग सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेका छन् भने सञ्चालनमा रहेका उद्योग पनि नाजुक अवस्थामा छन् ।

कोरोनापछि आर्थिक गतिविधि चलायमान हुँदा उच्च व्यापार गरेको सिमेन्ट तथा डण्डी उद्योगमा अहिले आर्थिक संकुचनको प्रभाव परेको छ । सन् २०२३ मा सिमेन्ट तथा डण्डी उद्योगको व्यापार ह्वात्तै घटेको पाइएको छ ।

सन् २०२२ मा उच्च व्यापार गरी नयाँ रेकर्ड कायम गरेको सिमेन्ट तथा डण्डी उद्योगको व्यापार आर्थिक संकुचनसँगै निर्माण क्षेत्रले गति लिन नसक्दा व्यापारमा गिरावट आएको व्यवसायीहरुको भनाइ छ ।

हालसम्म आर्थिक कारोबारको विवरण सार्वजनिक गरेका अधिकांश उद्योगको व्यापारमा कमी आएको छ । सर्वोत्तम स्टिल,  श्री स्टिल, विजयश्री स्टिल, सर्वोत्तम सिमेन्ट, शिवम् सिमेन्ट, पाल्पा सिमेन्ट, सर्वोत्तम सिमेन्ट, ब्रिज सिमेन्टलगायतका उद्योगको व्यापारमा आर्थिक संकुचनले प्रभाव पारेको छ ।

कुन उद्योगको व्यापार कतिले घट्यो ?

वृज सिमेन्ट इन्डष्ट्रिजः केडिया अर्गनाइजेसनको वृज सिमेन्ट इन्डष्ट्रिजको व्यापार १९ प्रतिशतले घटेको छ । सन् २०२२ को १० महिनाको तुलनामा सन् २०२३ को सोही अवधिमा कम्पनीको व्यापार १९ प्रतिशतले घटेको हो ।

कम्पनीले सन् २०२३ को १० महिनाको अवधिमा १ अर्ब ६७ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा २ अर्ब ४९ करोड ९० लाख रुपैयाँ, सन् २०२१ मा २ अर्ब ९९ करोड ९० लाख रुपैयाँ र सन् २०२० मा २ अर्ब ८६ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । आर्थिक  संकुचनका कारण सिमेन्टको माग कम हुँदा व्यापारमा कमी आएको कम्पनीको भनाइ छ ।

कम्पनीले सिमेन्ट उत्पादन गरी नेपाली बजारमा बिक्री गर्दै आएको छ । कम्पनीसँग दैनिक १२ सय टन सिमेन्ट उत्पादन गर्ने क्षमता छ । कम्पनीमा पाँच जनाको स्वामित्व छ । जसमा केडिया अर्गनाइजेसनको ५० प्रतिशत हिस्सा छ भने बाँकी भारतीय कम्पनी शान्त सिमेन्ट प्रालिको छ । कम्पनीले ओपीसी सिमेन्ट दुईवटा ब्रान्डमा, पीपीसी सिमेन्ट पाँचवटा ब्रान्डमा र पोर्टल्यान्ड स्ल्याग एउटा ब्रान्डमा उत्पादन गर्दै आएको छ ।

सर्वोत्तम सिमेन्टः सिमेन्टको माग नहुँदा सर्वोत्तम सिमेन्टको व्यापार ३८ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२२ को ९ महिनाको अवधिको तुलनामा सन् २०२३ को ९ महिनामा ३८ प्रतिशतले घटेको हो ।

कम्पनीले सन् २०२२ मा ७ अर्ब ८८ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । तर, यो वर्ष सिमेन्टको मागमा कमी आउँदा ९ महिनाको अवधिमा ३ अर्ब ६४ करोड ९० लाख रुपैयाँको मात्रै व्यापार गरेको छ ।

कम्पनीले सन् २०२१ मा ८ अर्ब ९५ करोड, २०२० मा ७ अर्ब ३७ करोड ५० लाख र सन् २०१९ मा ७ अर्ब ४ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २०१० मा स्थापना भएको कम्पनी सन् २०१९ मा पब्लिक कम्पनीमा परिणत भएको थियो । कम्पनीले नेपाली बजारमा ‘सर्वोत्तम’ ब्रान्डको सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आएको छ ।

कम्पनीले क्लिङ्कर र ग्रान्डिङ सिमेन्ट दुबै उत्पादन गर्दै आएको छ । सौरभ ग्रुपद्वारा सञ्चालित कम्पनीसँग वार्षिक १० लाख मेट्रिक टन क्लिङ्कर र ग्रान्डिङ सिमेन्ट उत्पादन गर्ने क्षमता छ ।

कम्पनीले अहिले ओपीसी र पीपीसी ब्रान्डको सिमेन्ट उत्पादन गरी व्यापार गर्दै आएको छ । कम्पनीका देशभर १३ सय डिलर छन् । यो वर्ष कोइलाको मूल्य उच्च बढेकाले पनि कम्पनीको नाफामा प्रभाव परेको उल्लेख छ । बजारमा माग नहुँदा कम्पनीको उत्पादन क्षमता ६४ प्रतिशतले कमी आएको छ ।

अम्बे सिमेन्टः निर्माण क्षेत्रको गतिविधि सुस्त भई निर्माण सामग्रीको माग नहुँदा अम्बे सिमेन्टको व्यापारमा पनि कमी आएको छ।

कम्पनीको सन् २०२२ को ६ महिनाको तुलनामा सन् २०२३ को सोही अवधिमा उत्पादन भएको क्षमताको उपयोग १५ प्रतिशतले घटेको छ भने व्यापार ५८.७९ प्रतिशतले घटेको छ । कम्पनीले सन् २०२३ को ६ महिनाको अवधिमा २७ करोड ४० लाख रुपैयाँको मात्रै व्यापार गरेको छ ।

आर्थिक मन्दीले माग कम हुँदा व्यापारमा कमी आएको कम्पनीले जनाएको छ । सन् २००४ देखि ग्रान्डिङ सिमेन्ट उद्योग स्थापना गरी व्यापार गर्दै आएको कम्पनीसँग दैनिक १ हजार मेट्रिक टन ग्रान्डिङ सिमेन्ट उत्पादन गर्ने क्षमता छ ।

कम्पनीले सन् २०२१ मा २ अर्ब ४ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२२ मा ५८ प्रतिशतले घट्दा कम्पनीले १ अर्ब ३६ करोड ३० लाख रुपैयाँको मात्रै व्यापार गरेको छ । कम्पनीको उत्पादन क्षमता भने ४१ प्रतिशतले घटेको छ । कम्पनीले सन् २०२० मा १ अर्ब ७८ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २०२२ मा माग नहुँदा कारोबार घटेकोमा सन् २०२३ मा पनि यसले निरन्तरता पाएको छ ।

कम्पनीले सिमेन्ट उत्पादनका लागि आवश्यक कच्चा पदार्थ आन्तरिक तथा आयातित दुबै प्रयोग गर्दै आएको छ । कम्पनीले क्लिङ्कर स्वदेशी उद्योगको खपत गर्दै आएको छ भने स्ल्याग, फ्लाई यास र जिपसमजस्ता कच्चा पदार्थ भारतबाट आयात गरी सिमेन्ट उत्पादन गर्दै आएको छ ।

शिवम् सिमेन्ट लिमिटेडः शिवम् सिमेन्टले सन् २०२३ को ३ महिनाको अवधिमा डेढ अर्बभन्दा बढीको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ को तीन महिनाको अवधिमा १ अर्ब ५३ करोड ५० लाख रुपैयाँ (अपरिष्कृत) को व्यापार गरेको हो ।

कम्पनीले सन् २०२२ मा ९ अर्ब २६ करोड, सन् २०२१ मा ९ अर्ब ६१ करोड ५० लाख र सन् २०२० मा ९ अर्ब ९० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०१३ मा सञ्चालनमा आएको शिवम् सिमेन्ट सन् २०१५ मा आइपीओ जारी गरी लिमिटेड कम्पनी भएको छ ।

लक्की ग्रुप, शारडा ग्रुप र गोयल ग्रुपको संयुक्त लगानी रहेको कम्पनीले सिमेन्ट उत्पादन गरी ओपीसी सिमेन्ट ‘शिवम् सिमेन्ट’ ब्रान्डमा बिक्री गर्दै आएको छ । कम्पनीका चारवटा चुनढुंगा खानी छन् । कम्पनीले सोही खानीबाट क्लिंकर उत्पादन गरी सिमेन्ट उत्पादन गर्दै आएको जनाएको छ ।

कम्पनीमा ८८ प्रतिशत सेयर शिवम् होल्डिङ प्रालिको छ । कम्पनीमा नेपालको सबैभन्दा ठूलो उद्योगका रुपमा स्थापित होङ्सी सिमेन्ट प्रालि जोइन्ट भेन्चरको रुपमा रहेको छ ।

कम्पनीका अनुसार विश्वव्यापी रुपमा गत वर्षको तुलनामा यो वर्ष कोइलालगायत अन्य कच्चा पदार्थको मूल्य अत्यधिक बढेको छ । जसले गर्दा नाफामा निकै असर परेको देखिन्छ । कम्पनीले सन् २०२२ को तीन महिनाको अवधिमा १२.५ प्रतिशतले नाफा कमाएकोमा यो वर्षको सोही अवधिमा ६.४ प्रतिशतमा खुम्चिएको छ ।

श्री स्टिल प्रालिः श्री स्टिल प्रालिको व्यापारमा पनि कमी आएको छ । सन् २०२३ को ६ महिनामा कम्पनीले ३ अर्ब २ करोड ४० लाखको कारोबार गरेको छ ।

कम्पनीले २०२२ मा ६ अर्ब १३ करोड ८० हजार रुपैयाँको व्यापार गरेको थियो । सन् २०२० मा कम्पनीले ३ अर्ब २५ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२१ मा कम्पनीको व्यापारमा उछाल आउँदै ७ अर्ब ४६ करोड ७० लाख रुपैयाँको व्यापार भएको थियो ।

सन् २०२२ मा भने कम्पनीको व्यापारमा १ अर्बले कमी आएको थियो । सन् २०१६ मा सुरु भएको श्री स्टिल्स प्रालि नेपाली स्टिल उत्पादनको क्षेत्रमा नयाँ नाम हो । सिद्धार्थ ग्रुप, केडिया ग्रुप र मुरारका ग्रुपको संयुक्त लगानी रहेको यो कम्पनीले स्टिलका सामान उत्पादन गर्छ । कम्पनीको उत्पादन कारखाना रुपन्देहीको रोहिनी-४ मा छ । कम्पनीमा सिद्धार्थको ५० र अन्य दुई ग्रुपको २५-२५ प्रतिशत स्वामित्व छ ।

विजयश्री स्टिल प्रालिः विजयश्री स्टिलले सन् २०२३ को ६ महिनाको अवधिमा ८९ करोड ४० लाख रुपैयाँको मात्रै व्यापार गरेको छ । कम्पनीले सन् २०२२ को सोही अवधिमा २ अर्ब ५० करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । आर्थिक संकुचनले गर्दा बजारमा माग नहुँदा व्यापारमा उच्च गिरावट आएको कम्पनीको भनाइ छ ।

कम्पनीले विशेषगरी भारतबाट स्पन्ज आइरन र पिग आइरन आयात गरी डण्डी उत्पादन गर्दै आएको छ । कम्पनीले गरेको व्यापारमध्ये ९४ प्रतिशत हिस्सा कच्चा पदार्थको छ ।

कम्पनीले सन् २०२१ मा ५ अर्ब ३४ करोड ९० लाख, सन् २०२२ मा कम्पनीले ४ अर्ब ७१ करोड ८० लाख र सन् २०२० मा ३ अर्ब ९५ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२२ मा डण्डीको माग कम हुँदा व्यापारमा असर पुगेको कम्पनीले जनाएको छ, जसले गर्दा नाफा पनि प्रभावित भएको छ ।

सन् २०१७ मा कपिलवस्तुमा उद्योग स्थापना गरी टीएमटी बार उत्पादन गर्दै आएको कम्पनीले दैनिक ७ सय मेट्रिक टन टीएमटी बार र सीसीएम उद्योगबाट दैनिक ४ सय मेट्रिक टन बिलेट उत्पादन गर्दै आएको छ ।

कम्पनीले सन् २०१८ देखि व्यापार गर्न सुरु गरेको थियो । तर, सीसीएमसी अर्थात् विलेटको व्यापार भने सन् २०२३ को फेब्रुअरीबाट सुरु गरेको छ । सिमेन्ट क्षेत्रमा देशभर चार वटा डिलर रहेको कम्पनी विजय ग्रुपद्वारा सञ्चालित छ ।

सर्वोत्तम स्टिलः शौरभ ग्रुपद्वारा सञ्चालित सर्वोत्तम स्टिलको व्यापार पनि ह्वात्तै घटेको छ । सन् २०२२ मा ८ अर्ब ९३ करोड ३५ लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२३ को ८ महिनाको अवधिमा ४ अर्ब ७७ करोड  ४३ लाख रुपैयाँको मात्रै व्यापार गरेको छ ।

वार्षिक २ लाख ६४ हजार मेट्रिक टन बिलेट र २ लाख ३५ हजार मेट्रिक टन टीएमटी बार उत्पादन गर्दै आएको कम्पनीको अध्यक्ष विष्णुप्रसाद न्यौपाने हुन् । शौरभ ग्रुप र अग्रवाल परिवारको स्वामित्वमा रहेको कम्पनीको व्यापारमा सन् २०२३ मा माग कम हुँदा धक्का पुगेको छ ।


अरिष्मा मोक्तान