आधा खर्ब ऋणको किस्ता नियमित तिर्न नसकेको निगम ३ वटा जहाज किन्ने तयारीमा, स्रोत खोई ?



अन्तर्राष्ट्रिय उडानका २ न्यारोबडी र २ वाइडबडी जहाज किन्दा लागेको ऋणले निगम थला परिरहेको छ । वायुसेवा निगमले उक्त ऋणकै किस्ता नियमित तिर्न सकिरहेको छैन । समयमा ऋणको किस्ता तिर्न नसक्दा दायित्व बढेर करिब ५० अर्ब रुपैयाँ पुगिसकेको छ । कसरी जुट्छ नयाँ जहाज किन्ने पैसा ?

काठमाडौं । अन्तर्राष्ट्रिय उडानका ४ वटा जहाज किन्दा लागेको ४६ अर्ब रुपैयाँ ऋण तिर्न मुश्किल परिरहेको वायुसेवा निगम थप जहाज किन्ने तयारीमा छ । वायुसेवा निगम सञ्चालक समितिले साउन तेस्रो साता दुर्गम क्षेत्रमा उडान गर्ने ३ वटा जहाज किन्ने निर्णय गरेको छ ।

निगमको उक्त निर्णय कार्यान्यवनका लागि साउन २४ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रस्ताव पेस गरेको छ । जहाज किन्ने निर्णय मन्त्रिपरिषदबाट स्वीकृत गराउन निगमले पर्यटन मन्त्रालयसमक्ष सिफारिस गरेको हो । तर, निगमले जहाज किन्न आवश्यक स्रोत जोहो नगरी प्रस्ताव पठाएपछि छलफल गर्नुपर्ने भन्दै पर्यटन मन्त्रालयले रोकेर राखेको छ ।

सरकारले निर्णय गरेपछि निगमले जहाज किन्न सहज हुने र सोही जहाज उडाएर आन्तरिक उडान टिकाउने योजनामा निगम छ। तर, अन्तर्राष्ट्रिय उडानका २ न्यारोबडी र २ वाइडबडीसहित ४ वटा जहाज किन्दा लागेको ऋणले निगम थला परिरहेको छ । उक्त ऋणको किस्ता नियमित तिर्न सकिरहेको छैन । समयमा ऋणको किस्ता तिर्न नसक्दा दायित्व बढेर करिब ५० अर्ब पुगिसकेको छ ।

अन्तर्राष्ट्रिय उडानका लागि दुई न्यारोबडी र दुई वाइडबडी जहाज किन्दा निगमलाई ४६ अर्ब ४१ करोड २७ लाख रुपैयाँ ऋण लागेको हो । उक्त ऋणबाहेक निगमले थन्क्याएर राखेको ६ वटा चिनियाँ जहाज किन्दा लिएको ऋण पनि तिर्नै बाँकी छ ।

निगमले यसअघि क्यानेडियन जहाज किन्दादेखिकै दायित्वसमेत भुक्तानी गरिसकेको छैन । ऋण तिर्न नसक्दा थप लगानीका लागि दाताले पत्याउने अवस्था छैन । नयाँ जहाज किन्ने तयारी गरिरहेको निगमलाई नयाँ स्रोत जुटाउनै पनि समस्या छ ।

निगमले हाल उडानमा प्रयोग गरिरहेका ४ वटा जहाजमध्ये एउटा वाइडबडी र २ वटा न्यारोबडी कर्मचारी सञ्चय कोषबाट र अर्को एउटा वाइडबडी नागरिक लगानी कोषबाट ऋण लिएर खरिद गरेको हो ।

सञ्चय कोषका प्रवक्ता दामोदरप्रसाद सुवेदीका अनुसार निगमले जहाज किन्दा लिएको ऋणको साँवाब्याज समयमा भुक्तानी नगर्दा दायित्व बढ्दै गएको छ । निगमले सञ्चय कोषलाई मात्रै २८ अर्ब ५७ करोड ३४ लाख ७१ हजार रुपैयाँ तिर्न बाँकी छ ।

निगमले ए-३३०-२०० सिरिजको एउटा वाइडबडी जहाजका लागि हालसम्म जम्मा ४ अर्ब २१ करोड ५७ लाख ७० हजार ३३३ रुपैयाँ ऋणको साँवा र ब्याज भुक्तानी गरेको छ । सञ्चय कोषलाई वाइडबडीको मात्रै १७ अर्ब ८६ करोड ३६ लाख १२ हजार ९८७ रुपैयाँ तिर्न बाँकी छ ।

सञ्चय कोषबाटै ए-३२०-२०० सिरिजको २ वटा न्यारोबडी जहाज किन्दा लिएको ऋणको दायित्वसमेत अझै घटेको छैन । कोषका अनुसार निगमले न्यारोबडी जहाजको पनि गत असार मसान्तसम्ममा ८ अर्ब २८ करोड ५८ लाख २३ हजार ८४८ रुपैयाँ मात्रै साँवाब्याजबापतको रकम तिरेको छ । यसबाहेक अझै न्यारोबडीको मात्रै १० अर्ब ७० करोड ९८ लाख ५८ हजार ८३३ रुपैयाँ तिर्न बाँकी छ ।

त्यस्तै २०७४ मा नागरिक लगानी कोषसँग लिएको १२ अर्ब रुपैयाँ ऋणको साँवा र ब्याज गरेर अझै १७ अर्ब ८३ करोड ९३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

नागरिक लगानी कोषका सूचना अधिकारी उद्धव सिलवालका अनुसार गत असारमा २५ करोड रुपैयाँ तिरेको निगमले कहिले किस्ता तिर्ने र कहिले नतिर्ने गर्दै आएको छ । नियमित किस्ता नतिरेकै कारण ऋण घट्नुको साटो बढिरहेको उनले बताए । सिलवालका अनुसार हरेक महिना ऋणका लागि फलो गर्ने काम मात्रै भइरहेको छ तर निगमले यथासक्य छिटो भन्नेबाहेक केही जवाफ दिएको छैन ।

आन्तरिक स्रोतबाटै जहाज किन्ने तयारी

जहाज खरिद गर्ने स्रोत फेला पर्न नसकेको, सरकारले उपलब्ध गराउने छाँट नदेखिएको र दातृ निकायले पनि थप ऋण लगानीका लागि चासो नदेखाएपछि आन्तरिक स्रोतबाटै जहाज किन्ने तयारीमा निगम छ ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी ३ वटा आन्तरिक उडानका साना जहाज किन्ने निर्णय निगमले गरिसकेको र सरकारले स्वीकृति दिनासाथ खरिद प्रक्रिया अगाडि बढ्ने बताउँछन् । ‘निगमले छोटो दूरीको उडान तथा अवतरण गर्ने (एसटीओएल) जहाज किन्न लागेको हो । त्यसका लागि आवश्यक व्यवस्थापन आन्तरिक स्रोतबाटै हुन्छ,’ उनले भने ।

वायुसेवा निगम सेवामूलक संस्था भएकाले अन्तर्राष्ट्रिय उडानबाट नाफा कमाउने र त्यसबाट सहुलियत दिएर आन्तरिक उडानमा यात्रु सेवा दिने गर्छ । निगमको आन्तरिक उडान कमजोर छ । जहाज अभावमा कहिले उडान हुने र कहिले नहुने समस्याका कारण निगमले आन्तरिक उडानमा ट्विनअटर प्रकृतिका ३ वटा जहाज थप गर्न खोजेको हो ।

यसअघि सरकारले चिनियाँ ऋणमा खरिद गरेको वाई-१२ र एमए-६० नामका चिनियाँ जहाज उपयुक्त नभएको भन्दै निगमले २०७७ साउनदेखि ती जहाज थन्क्याएको छ । ६ वटा चिनियाँ जहाजमध्ये एउटा २०७६ को वैशाखमा दुर्घटनामा परेपछि कामै नलाग्ने भएको छ भने अरु ५ वटा चिनियाँ जहाज ३ वर्षदेखि विमानस्थलमै घाम तापेर बसिरहेका छन् ।

वायुसेवा निगमका प्रवक्ता रमेश पौडेल जहाज किन्ने निर्णय बोर्डले गरे पनि तालुक निकाय पर्यटन मन्त्रालयबाट स्वीकृत नभएको बताउँछन् । उनका अनुसार अन्तर्राष्ट्रिय उडानका जहाजले कमाउँदै ऋण तिर्दै गए भने आन्तरिक उडानमा पनि जहाज किनेर आम्दानी बढाउने योजना बनाइएको छ ।

नयाँ जहाज खरिदका लागि सरकारले स्वीकृति दिएपछि निगमले प्रस्ताव आह्वान गर्ने, प्रकृति छनोट गर्ने र लागत तय गर्नेछ । त्यसका लागि करिब ३ अर्ब रुपैयाँ खर्च हुने अनुमान निगमले गरेको छ । उक्त रकम निगमको सञ्चित कोषमा रहेको र सोही रकम प्रयोग गरेर जहाज किन्ने योजना बनेको पनि पौडेलले बताए । जहाज थप गर्न निजी वाणिज्य बैंकहरू र अन्तर्राष्ट्रिय संस्थाहरुसँग पनि छलफल भइरहेको पनि पौडेलले जानकारी गराए ।


राजु बास्कोटा