पछिल्ला दुई महिनामा सेयर कर्जा बढ्यो
काठमाडौं । सेयर बजारमा देखिएको उतार चढाब सेयर धितोमा जाने कर्जामा पनि देखिएको छ । विगत चार महिनाको तथ्यांकलाई हेर्दा सेयर धितोमा जाने कर्जामा केही घटबढ देखिएको छ ।
वैशाखको तुलनामा साउनमा सेयर धितोमा जाने कर्जा १ अर्ब ४७ करोड ८३ लाख रुपैयाँले बढेको छ । वैशाखमा ७४ अर्ब ९३ करोड ५१ लाख रुपैयाँ रहेकामा साउनमा ७६ अर्ब ४१ करोड ३४ लाख रुपैयाँ पुगेको छ ।
यता जेठमा सेयर धितोमा जाने कर्जा ७४ अर्ब ६९ करोड ९३ लाख रुपैयाँ रहेको थियो । असार यो बढेर ७६ अर्ब ३० करोड ८३ लाख रुपैयाँ रहेको छ ।
साउन महिनामा असारको तुलनामा सेयर धितोमा जाने कर्जा १० करोड ५१ लाख रुपैयाँले बढेर ७६ अर्ब ४१ करोड ३४ लाख रुपैयाँ पुगेको छ ।
यो अवधिमा १ करोडभन्दा बढी र ५० लाख देखि १ करोडसम्मको सेयर धितो कर्जा घटेको छ भने २५ देखि ५० लाख र २५ लाख रुपैयाँभन्दा कम सेयर धितो कर्जा बढेको छ ।
असारमा १ करोडभन्दा बढीको कर्जा ४४ अर्ब ७१ करोड ६१ लाख रुपैयाँ रहेकामा साउनमा ४० करोड ७२ रुपैयाँले घटेर ४४ करोड ३० लाख ८९ हजार रुपैयाँमा सिमित भएको छ ।
यस्तै ५० लाख देखि १ करोड रुपैयाँसम्मको कर्जा असारमा ११ अर्ब ७७ करोड ४५ रुपैयाँ रहेकोमा साउनमा ७९ करोड ८५ लाख रुपैयाँले घटेर १० अर्ब ९७ करोड ६० लाख रुपैयाँमा सिमित भएको छ ।
यता २५ लाखदेखि ५० लाखसम्म जाने कर्जाभने असारको तुलनामा साउनमा बढेको छ । असारमा यस्तो कर्ता १२ अर्ब ७८ करोड १९ लाख रुपैयाँबाट १ अर्ब ३० करोड ५४ लाख रुपैयाँले बढेर १४ अर्ब ८ करोड ७३ लाख रुपैयाँ पुगेको छ ।
यस्तै २५ लाख रुपैयाँ भन्दा कम रकमको सेयर धितोकर्जा असारको तुलनामा साउनमा ५३ लाख रुपैयाँले बढेर ७ अर्ब ४ करोड १२ लाख रुपैयाँ पुगेको छ । असारमा ७ अर्ब ३ करोड ५९ लाख रुपैयाँ रहेको छ ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका अधिक तरलता भएपनि सेयर धितोमा जाने कर्जा बढ्न सकेको छैन । नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल राष्ट्र बैकले लगाएको १२ करोड नीतिका कारण सेयर धितोमा कर्जा बढ्न नसकेको बताउँछिन् । बैंकसँग अधिक तलरता भएपनि राष्ट्र बैंकको नीतिका कारण लगानीकर्ता कर्जा लिन सक्ने अवस्थमा नरहेको उनको भनाइ छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट सहजै कर्जा पाउन नसकिने उनको गुनासो छ ।
के हो सेयर कर्जा ?
उद्यमी व्यवसायीहरुले उद्योग व्यवसायका लागि अन्य धितोसँगै सेयर समेत धितो राख्न चाहेमा सेयर धितो राखी कर्जा लिन पाइने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ ।
बैंक तथा वित्तीय संस्थाले व्यवसायीक प्रयोजनको लागि प्रवाह भएको कर्जाको लागि अन्य सम्पत्ति धितो राखे सरह अतिरिक्त धितोको रुपमा सेयर समेत धितोको रुपमा राख्न सक्छन् । अन्य संस्थाको सेयर किन्ने प्रयोजनदेखि बाहेकका व्यावसायिक प्रयोजनको लागि सेयर धितो राखी प्रवाह भएको कर्जामा मार्जिन प्रकृतिको कर्जामा जस्तो एकल ग्राहक कर्जा सीमाको रुपमा रहेको एउटा इजाजतपत्रप्राप्त संस्थाबाट अधिकतम १२ करोड रुपैयाँको सीमा लागू हुँदैन ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत ५० लाखसम्मको सेयर धितोमा जाने कर्जाको थ्रेस होल्ड घटाएको छ । ५० लाखसम्मको सेयर कर्जामा थ्रेसहोल्ड १५० बाट १०० प्रतिशत कायम गरिएको छ । यसअघि २५ लाखसम्ममा १०० प्रतिशत लागू थियो ।