निर्माणाधीन अन्तर्राष्ट्रिय चेन होटल ‘मर्क्युर काठमाडौं’को लागत ४५%ले बढेर २२६ करोड पुग्यो



काठमाडौं । व्यवसायी देशबन्धु बस्नेत, राजेन्द्र राउत र बिजय बहादुर मल्लको लगानीमा काठमाडौंको सुकेधारामा निर्माणाधीन लक्जरी अन्तरार्ष्ट्रिय चेन होटलको निर्माणकार्य ४३ प्रतिशत सकिएको छ । २ अर्ब २६ करोड ६३ लाख रुपैयाँ लगानीमा मेट्रोपोलिटेन होटल प्रालिले निर्माण गरिरहेको ‘मर्क्युर काठमाडौं’ होटल बनाएको हो ।

मर्क्युर काठमाडौंका अध्यक्ष बस्नेत नेपाल उद्योग वाणिज्य महासंघमा पर्यटन तथा हवाई यातायात समितिका अध्यक्षसमेत हुन् । मेट्रोपोलिटेन होटल प्रालिमा बस्नेतको ४५ प्रतिशत लगानी रहेको छ । कम्पनीमा उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष हुन् ।

२०२० बाट निर्माणका लागि काम सुरु भएको होटलको सफ्ट ओपनिङ २०२४ को फेब्रुअरीमा हुने बताइएको छ । सुरुवातमा १ अर्ब ५६ करोड ३० लाख रुपैयाँमा निर्माण गर्ने भनिएको परियोजनाको लागत विभिन्न कारणले ४५ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ ।

होटलमा १०६ वटा बेड, बार, मिटिंग रुप, फिटनेस सेन्टर, स्वीमिङ पुल, क्यासिनोलगायतका हुनेछन् । होटल निर्माणका लागि कम्पनीले १ अर्ब ९७ करोड ५० लाख रुपैयाँ ऋण लिने भएको छ । उक्त ऋणका लागि होटलले रेटिंग एजेन्सी इन्फोमेरिक्समा रेटिङ गराएको छ । रेटिंग एजेन्सीले १ अर्ब १७ करोड २० लाख रुपैयाँको दीर्घकालीन कर्जा सुविधा र ८० करोड ३० लाखको दीर्घकालन कर्जा सुविधाका लागि डबल बि माइनस रेटिंग र २० करोड ३ लाखको कर्जा सुविधाका लागि ए फो रेटिंग दिएको छ।

मेट्रोपोलिटेन होटल प्रालिले काठमाडौंमा ‘एएपिसि इण्डिया होटल म्यानेजमेन्ट प्रालि (अक्कोर होटल)’सँगको समझदारीमा उक्त होटलको निर्माण गरिरहेको हो । होटलको स्वामित्व मेट्रोपोलिटेन होटल प्रालिसँगै हुने र सञ्चालन तथा व्यवस्थापन भने अक्कोर होटलले आफ्नो ब्राण्डको नाम ‘मर्क्युर काठमाडौं’ अन्तर्गत चलाउने छ ।

दुई चरणमा निर्माण गरिने होटलको पहिलो चरणमा होटलको संरचना तथा अन्य सुविधाका लागि आवश्यक संरचनाहरु रहेका छन् । यसका लागि कुन लगानीको ८४ प्रतिशत रकम लाग्नेछ ।

त्यस्तै, दोस्रो चरणमा भने क्यासिनो र क्यासिनोसँग सम्बन्धित सुविधाहरुको काम रहेको छ, जुन पहिलो चरणको काम सएिपछि सुरु गरिने कम्पनीले जनाएको छ । २०२३ को जुलाईसम्ममा १ अर्ब २ करोड ९० लाख रुपैयाँ खर्च भइसकेको छ, जसमध्ये ८२ करोड १० लाख रुपैयाँ कर्जामार्फत र बाँकी लगानीमार्फत रहेको छ ।

हालसम्म होटलको काममा भने संरचनागत निर्माणलगायतका काममा ९८ प्रतिशतको प्रगति भएको छ भने इन्टेरियस, विद्युतीय तथा प्लम्बिङका कामहरु भइरहेको कम्पनीले जनाएको छ । कुल कामको ४३ प्रतिशत काम हालसम्म सकिएको छ।

यो होटलको व्यवस्थापनको जिम्मा यसअघि हिल्टन गार्डेन इनसँग सहकार्यमा हुने चर्चा थियो । तर, हिल्टनको होटल निर्माणाधीन अवस्थामा काठमाडौंमै रहेकाले पछि भारतीय अक्कोर कम्पनी बोर्डमा आएको हो ।


क्लिकमान्डु