डाक्टरमाथि कुटपिटको बिरोध: देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
काठमाडौं । आज देशभरका सम्पूर्ण अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द हुने भएको छ ।
मकवानपुरको हेटौँडास्थित सन्चो अस्पतालका डाक्टरमाथि भएको आक्रमणका दोषीलाई सरकारले कानुनी दायरामा नल्याएको भन्दै नेपाल चिकित्सक सङ्घले आन्दोलनको घोषणा गर्दै आकस्मिक बाहेकका सेवा पूर्णरुपमा बन्द गर्ने जनाएको हो ।
संघले एक विज्ञप्ति जारी गर्दै आइतबार देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरू पूर्ण रूपमा बन्द गर्ने जनाएको हो ।
सन्चो अस्पतालमा कार्यरत डा विकास थापा र डा प्रशान्त बिडारीमाथि भदौ २७ गते बिरामीको विषयलाई लिएर आक्रमण भएको भएपनि दोषीमाथि कारबाही नभएको भन्दै संघ आन्दोलनमा उत्रिएको हो ।
संघले घटनामा संलग्न सम्पूर्ण दोषीहरूको अविलम्ब छानबिन गरी फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानुनी कारबाहीको सुनिश्चितता हुनुपर्ने माग गरेको छ ।
जारी विज्ञप्तिमा देशभरका स्वास्थ्य संस्थाहरूमा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गरी भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था अविलम्ब मिलाउन समेत माग गरिएको छ ।
हेटौँडा अस्पताल घटनाका दोषीहरूलाई पक्राउ गरी कानुनी कारबाही चलाउनुको सट्टा स्थानीय सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयका जिम्मेवार व्यक्तिहरूले मेलमिलाप गराउने भनी घटनालाई निस्तेज पार्न खोजिएको आरोप लगाउँदै सम्बन्धित निकाय माथि आवश्यक छानबिन गरी कानुन बमोजिम कारबाही गर्न संघले माग गरेको छ । साथै भावी दिनमा यस्ता प्रकारका घटनामा मौनता नसाध्ने गरी लिखित प्रतिबद्धता समेत जनाउन माग गरेको छ ।