‘नेप्से ३०’ प्रकाशनको अन्तिम चरणमाः इन्डेक्स व्यवस्थापन समिति बनाउन स्वीकृति, बजारमा कस्तो पर्ला प्रभाव ?



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सञ्चालक समितिले प्रस्तावित ‘नेप्से-३०’ इन्डेक्स प्रकाशनका लागि ‘इन्डेक्स व्यवस्थापन समिति’ बनाउन स्वीकृति दिएको छ । सोमबार बसेको नेप्से सञ्चालक समितिको बैठकले ‘नेप्से-३०’ इन्डेक्स प्रकाशनका लागि ‘इन्डेक्स व्यवस्थापन समिति’ बनाउन स्वीकृती दिएको हो ।

‘नेप्से-३०’ प्रकाशनमा आउनुपूर्व ‘इन्डेक्स व्यवस्थापन समिति’ छनोट हुन्छ । त्यो समितिले ‘नेप्से-३०’ हुने सबै विषयलाई समावेश गरेर नेप्से सञ्चालक समितिलाई सिफारिस गर्छ, समितिले गरेको सिफारिसका आधारमा ‘नेप्से ३०’ प्रकाशन हुने नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए । समितिले कानून, व्यवहारिक, प्राविधिक सबै विषयका बारेमा सुझाव सहित सिफारिस गर्ने छ ।

समितिको संयोजकमा नेप्सेका सञ्चालक हुनेछन् । समिति ५ सदस्यीय हुने छ । समितिमा संयोजकका साथै नेप्सेका सीईओ, विभागीय प्रमुख, अनुसन्धान शाखा प्रमुख लगायत रहनेछन् । सोमबारको बैठकले समिति बनाउने निर्णय गरेको छ । अब बस्ने नेप्सेको बोर्ड बैठकले उक्त समिति छनोट गर्ने छ । गठित समितिले दिएको रिपोर्टका आधारमा ‘नेप्से ३०’ प्रकाशन हुनेछ ।

नेप्सेले ‘नेप्से ३०’ का बारेमा धितोपत्र बोर्डलाई समेत जानकारी गराएको जनाएको छ । ‘नेप्से ३०’ प्रकाशनका लागि सूचकांक (इन्डेक्स) विकास, सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि-२०७९ समेत स्वीकृत भइसकेको छ । नेप्सेले प्रकाशनको तयारीमा रहेको ‘नेप्से ३०’ मा पर्ने कम्पनी तयार पारिसकेको छ । ‘नेप्से ३०’ मा ८ वटा वाणिज्य बैंक, ४ वटा जलविद्युत कम्पनी, ५ वटा बिमा कम्पनी, उत्पादन तथा प्रशोधन समूहका २ वटा, माइक्रोफाइनान्स ८ वटा अन्यमा ८ वटा कम्पनी रहेका छन् ।

प्रस्तावित ‘नेप्से ३०’ इन्डेक्समा प्रारम्भिक रुपले तय गरिएका इन्डेक्समा समावेशका लागि सूचीकृत संगठित संस्था छनोटका आधारहरु तथा इन्डेक्स गणना विधिलाई वास्तविक बनाउन यो प्रकाशन गर्न लागेको जनाएको छ । ‘नेप्से ३०’ प्रकाशनमा आएपछि बजारको उतारचढाबलाई वास्तविक बनाउने बताइएको छ ।

नेप्सेले दोस्रो बजार कारोबारलाई थप सुदृढ बनाउन सहयोग पुग्ने गरी सूचकांकहरुको विकास, सञ्चालन तथा व्यवस्थापन गर्ने उद्देश्यअनुरुप बजारमा तत्काल कारोबारयोग्य सेयरहरुलाई समावेश गरी बजार पुँजीकरणमा आधारित सूचकांकको रुपमा ‘नेप्से ३०’ इन्डेक्स ल्याउने जनाएको छ ।

उक्त सूचकांकले बजार कारोबार तथा उतारचढावलाई प्रतिबिम्बित गर्नुका साथै डेरिभेटिभ प्रकृतिको निश्चित अवधिको कारोबार उपकरण सञ्चालन, पोर्टफोलियो व्यवस्थापन, एक्सचेन्ज ट्रेडेड फण्ड सञ्चालन लगायतमा सघाउ पुर्याउने अपेक्षा रहेको नेप्सेले जनाएको छ ।

यसबाट दोस्रो बजार कारोबारमा नयाँ आयाम थपिने र लगानीकर्ताले भविष्यमा थप कारोबार योग्य उपकरण प्राप्त गर्ने नेप्सेको दाबी छ । दीर्घकालीन महत्वको सूचकांकको गणना विधि तथा यसमा समावेशका लागि लिइने सूचीकृत संगठित संस्था छनोटको विधि पारदर्शी तथा विश्वसनिय बनाउने नेप्सेले जनाएको छ ।

‘नेप्से ३०’ इन्डेक्समा समावेशका लागि सूचीकृत संगठित संस्था (कम्पनी) छनोटका ६ वटा आधार तय गरिएको छ । जसमा प्रतिसेयर चुक्ता मूल्यभन्दा प्रतिसेयर कितावी मूल्य बढी हुनुका साथै विगत ५ आर्थिक वर्षमध्ये पछिल्लो आर्थिक वर्षसहित कम्तिमा ३ वर्ष नाफामा रहेको हुनुपर्ने छ ।

अघिल्लो आर्थिक वर्षमा प्रतिसेयर आम्दानी चुक्ता मूल्यको न्यूनतम १० प्रतिशत रही सोही वर्षको वार्षिक मुद्रास्फीति दरभन्दा बढी रहेको हुनुपर्ने छ । कम्पनीको कम्तिमा २५ प्रतिशत सेयर सर्वसाधारणमा जारी भएको वा कुल फ्रि-फ्लोट बजार पुँजीकरणमा सम्बन्धित कम्पनीको फ्रि–फ्लोट बजार पुँजीकरण एक प्रतिशत भन्दा बढी रहेको हुनुपर्ने छ ।

कम्पनी ‘नेप्से ३०’ मा पर्नका लागि सेयरधनीको संख्या कम्तिमा २० हजार हुनुपर्ने छ भने पछिल्लो ६ महिनाको अवधिमा दैनिक औसत २५ लाख वा सोभन्दा बढी रकमको कारोबार भई दैनिक औसत ५ हजार कित्ता वा सोभन्दा बढी कित्ताको कारोबार भएको र दैनिक औसत ४० वा सोभन्दा बढी पटक कारोबार भएको हुनुपर्ने छ ।

पछिल्लो ६ महिनाको अवधिमा उपलब्ध कारोबार दिनहरुमध्ये न्यूनतम ७५ प्रतिशत दिनहरुमा कारोबार भएको हुनुपर्ने आधार तय गरेको छ।

नेप्सेले प्रस्तावित ‘नेप्से ३०’ इन्डेक्सको गणना विधि पनि तयार पारिसकेको छ । मापदण्डहरुबाट छनौट भएका कम्पनीहरुको प्रारम्भिक सूची तयार गर्ने र प्रारम्भिक सूचीमा समावेश भएका सबै सूचीकृत संगठित संस्थाहरुको फ्रिफ्लोट बजार पुँजीकरण, पछिल्लो बर्षको प्रतिसेयर आम्दानी, कारोबार रकम, कारोबार संख्या तथा कारोबार कित्ताका आधारमा सबैलाई भार प्रदान गरी कुल भार गणना गरिने छ।

संगठित संस्थाहरुको संख्या ३० भन्दा बढी भएमा कुल भारमा कम भार भएका कम्पनीहरुलाई हटाई ३० कम्पनी कायम गर्ने र यसरी कम्पनी हटाउदा प्रत्येक समूहबाट कम्तीमा एक संगठित संस्था कायम गर्ने प्रस्ताव रहेको छ ।

संगठित संस्थाहरुको संख्या ३० भन्दा कम भएमा प्रत्येक समूहबाट ८ भन्दाबढी कम्पनी छनौट नहुने सबै कम्पनीको कुल भार गणना गर्ने र उच्चतम भार प्राप्त गर्ने कम्पनी थप गरी कम्पनीको संख्या ३० पुर्याउने व्यवस्था गरिएको छ ।

यो इन्डेक्स गणना गर्नका लागि आधार बजार पुँजीकरण २०७९ पुस ३० गतेको फ्रिफ्लोट बजार पुँजीकरणलाई लिईने छ । इन्डेक्सलाई प्रत्येक वर्ष भदौ महिनाको अन्तिम शुक्रबार र फागुन महिनाको अन्तिम शुक्रबार रिब्यलेन्सिङ गरी कम्पनी थपघट गरिने प्रस्तावमा उल्लेख छ ।


सोभित थपलिया