उत्तर कोरियाली नेता किम र रुसी राष्ट्रपति पुटिनबीच भेट, होला त हतियार सम्झौता ?



एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच साइबेरियाको अमुर क्षेत्रको रुसी अन्तरिक्ष केन्द्रमा भेट भएको छ । यो केन्द्र भ्लादिभोस्तकबाट करिब एक हजार किलोमिटर टाढा छ ।

नेता किम कालो लिमोजिनमा कस्मोड्रोमको रकेट प्रक्षेपण गर्ने भवनमा आइपुग्दा राष्ट्रपति पुटिनले स्वागत गरेका थिए । दुवै नेताले मुस्कुराउँदै हात मिलाए र केही शब्दहरू आदान प्रदान गरे । क्रेमलिनको आधिकारिक टेलिग्राम च्यानलमा पोस्ट गरिएको भिडियोमा दुई नेताले हात मिलाउँदै गरेको देखिन्छ ।

नेता किमले राष्ट्रपति पुटिनलाई उनको व्यस्त कार्यतालिकाका बाबजुद पनि भ्रमणका निम्ति निमन्त्रणा गरेकोमा धन्यवाद व्यक्त गरे । यसबाट उत्तर कोरिया र रुसबीचको रणनीतिक सम्बन्ध र दुवै देशका समान प्राथमिकता प्रतिबिम्बित भएका उनले उल्लेख गरे ।

यसअघि रुसी राष्ट्रपति पुटिन र उत्तर कोरियाका सर्वोच्च नेता किमबीच सन् २०१९ मा भेटवार्ता भएको थियो । आजको द्विपक्षीय वार्तामा हतियार र सैन्य प्रविधि सम्झौता हुने अपेक्षा गरिएको छ ।

अन्तर्राष्ट्रिय जगतले एक्ल्याएका नेताद्वयले हतियार सम्झौता गर्न सक्ने प्रबल सम्भावना रहेको सुरक्षा विश्लेषकहरूले बताएका छन् । उनीहरूका अनुसार आफ्नो अभेद्य रेल चढेर रुस भ्रमणमा आएका नेता किमले उत्तर कोरियाका वरिष्ठ सैनिक अधिकारीलाई साथमा ल्याउनुको अर्थ हतियार वार्ता हो भन्ने स्पष्ट हुन्छ ।

राष्ट्रपति पुटिनले पनि हतियारलगायत सबै विषयमा छलफल हुने पत्रकारहरूलाई एका छन् । हतियार आपूर्ति वा सैन्य–प्राविधिक सहयोगबारे छलफल हुन्छ कि भन्ने पत्रकारहरूको जिज्ञासामा उनले त्यस्तो जवाफ दिएका हुन् ।

रुसी रक्षामन्त्री सर्गेई सोइगु गत जुलाईमा प्योङयाङको भ्रमणमा थिए । त्यसबेला र हालै द्विपक्षीय संयुक्त नौसैनिक अभ्यासको प्रस्ताव गरिएको छ ।

दुई नेताबीचको वार्तामा खाद्यान्न सहायतालगायत विषयमा पनि छलफल हुने अपेक्षा गरिएको छ । नेता किमका साथ कोरियाली पिपुल्स आर्मी मार्सल पाक जोङ चोन र युद्ध पदार्थ उद्योग विभागका निर्देशक जो चुन योर्ङेलगायत उच्च सैन्य अधिकारी रहेकाले आपसी सैन्य सहयोग आदानप्रदानमा वार्ता केन्द्रित हुने प्रायः निश्चित रहेको विश्लेषकहरू बताउँछन् ।

युक्रेनविरुद्धको युद्धमा रुसलाई गोला बारूदलगायत हतियारको धेरै आवश्यकता परेको छ । विश्वका सबैभन्दा धेरै सैन्य सामर्थ्य भएका देशमध्येको एक उत्तर कोरियाले रूसलाई आफूसँग भएका तोप, गोली र रकेट प्रस्ताव गर्ने सम्भावना छ ।

प्योङयाङले पुराना क्षेप्यास्त्र पनि प्रदान गर्नसक्ने विश्लेषकहरू बताउँछन् । उत्तर कोरियाको हतियार भण्डारमा रुसलाई चाहिने यथेष्ट उपकरण छन् किनभने उत्तर कोरियाले सन् १९५३ मा कोरियाली युद्ध समाप्त भएयता कुनै युद्ध लडेको छैन ।

यसैबीच, उत्तर कोरियाली नेता रुसमा रहेका बेला दक्षिण कोरिया र जापानले उत्तर कोरियाको पूर्वी तटबाट प्योङयाङले छोटो दुरीका दुई वटा क्षेप्यास्त्र प्रक्षेपण गरेको बताएका छन् ।


क्लिकमान्डु