ऋण लिने कृषकको संख्या आधाले घट्यो, ५५ हजार किसानले अझै साहूबाटै ऋण लिन्छन्
काठमाडौं । सरकारले कृषिलाई प्रोत्साहन गर्न सस्तो ब्याजदरमै ऋण दिने व्यवस्था गरे पनि कृषि ऋण लिनेहरुको संख्या भने ह्वात्तै घटेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको ७औं राष्ट्रिय कृषि गणनाको नतिजामा यस्तो देखिएको हो ।
एक दशकको अवधिमा कृषि ऋण लिनेहरुको संख्या ५० प्रतिशत हाराहारीले कम देखिनुले कृषिमा सरकारले दिएको सहुलिय बालुवामा पानी सरह भएको छर्लङ्ग हुन्छ ।
कृषि गणना २०७८ काअनुसार १२ प्रतिशत कृषकले मात्रै कृषि ऋण लिएका छन् । जबकी, कृषि गणना २०६८ कृषि ऋण लिने कृषक परिवारको संख्या ८ लाख ३६ हजार थियो, जुन त्यो बेला कुल कृषक परिवारको २२ प्रतिशत थियो ।
कृषि ऋण लिनेहरुमध्येमा पनि ३९ प्रतिशतले सहकारीबाट ऋण लिएका छन् । यसअघिको कृषि गणना अर्थात २०६८ को गणनामा सबैभन्दा बढी कृषि ऋण लिने अर्थात् ३५ प्रतिशतले आफन्तबाट ऋण लिएको पाइएको थियो ।
कृषिको काममा ऋण आवश्यक छ भन्ने र ऋण लिनेहरुको हकमा थप ऋण आवश्यक छ भन्ने परिवारको संख्या १४ लाख १५ हजार रहेको गणनाले देखाएको छ । कुल कृषक परिवारको ३४ प्रतिशतले यस्तो आवश्यकता महशुस गरेको बताएका छन् । जसमध्ये पनि ३७ प्रतिशतले कृषि ऋण पशुपन्छी पालनका लागि आवश्यक भएको बताएका छन् ।
सार्वजनिक गरिएको तथ्याङक अनुसार १ लाख ८७ हजार परिवारले बचत तथा ऋण सहकारी संस्थाबाट ऋण लिने गरेका छन् । यस्तै साहु महाजनबाट भने ५५ हजार परिवारले कर्जा लिएर कृषि पेश गरेका छन् । तथ्याङक अनुसार वाणिज्य बैंकबाट २८ हजार, विकास बैंकबाट ५७ हजार, फाइनान्स र लघुवित्तबाट ६१ हजार, कृषक समूहबाट ६६ हजार परिवारले कर्जा लिने गरेका छन् ।
नेपालमा कूल ४१ लाख ३० हजार ७८९ कृषक छन् । उनीहरुले २२ लाख १८ हजार ४१० हेक्टर जमिनमा खेती गर्दै आएका छन्।