धितोपत्र दर्ता तथा निष्कासन नियमावली सशोधन, ग्रीन बण्डको बाटो खुल्यो, प्रिमियममा आईपीओ ल्याउन खुकुलो



काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा निष्कासन (सातौ संशोधन) नियमावली–२०८० सार्वजनिक गरेको छ । बोर्डले ल्याएको नयाँ नियमावलीले ग्रीन बण्ड निष्कासका लागि बाटो खुलेको छ ।

नयाँ नियमावलीका अनुसार संगसठत संस्थाले बोर्डबाट स्वीकृति प्राप्त गरी हरित ऋणपत्र (ग्रीन बण्ड) वा डिबेन्चर निष्कासन गर्न सक्नेछन् । संशोधित नियमावलीले प्रिमियममा धितोपत्र निष्कासन गर्न झनै सहज बनाएको छ । कम्तिमा एक अर्ब चुक्ता पुँजी भइ पछिल्लो २ वर्ष खुद नाफामा रहेको संस्थाले प्रिमियममा धितोपत्रको सार्वजनिक निष्कासन गर्न सक्नेछन् । यसअघि तीन वर्षसम्म खुद मुनाफामा गएको हुनुपर्ने व्यवस्था थियो । अहिले अवधि घटाएर सहज बनाइएको छ ।

यस्तै नियमावलीको ३८ मा रहेको नियमा पनि संशोधन गरिएको छ । ‘प्राइभेट इक्वीटि, भेच्नर क्यापिटल, हेज फण्ड वा यस्तै प्रकारको कोषको रुपमा बोर्डमा वा विदेशमा दर्ता भएको कोषको वा नेपालमा लगानी गर्न प्रचलित कानून बमोजिम स्वीकृति प्राप्त विदेशी सरकारको लगानी रहेको संस्थाको स्वामित्व रहेको धितोपत्र संगठित संस्थाले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन गरेर सेयर बाँडफाँट भएको मितिले १ वर्षको अवधि पुरा भएपश्चात बिक्री गर्न सक्नेछन’ भन्ने वाक्याशं राखिएको छ ।

नियमावलीमा नेपाल सरकार र गैर आवासीय नेपालीको संयुक्त लगानीमा प्राचलित कानून बमोजिम संस्थापना भएको इन्भेष्टमेन्ट कम्पनीले विदेशी नागरिकता वा कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमतिपत्र प्राप्त गैर आवासीय नेपालीको लागि मात्र नेपाल राष्ट्र बैंकको स्वीकृति लिई पूर्वाधारसम्बन्धी परियोजनाहरुमा सेयर, बण्ड र डिबेन्चरमा लगानी गर्न पाउने र विदेशी मुद्रामा समेत भुक्तानी हुने गरी नियमानुसार धितोपत्र निष्काशन गर्न पाउने र विदेशी मुद्रामा सेयर, बण्ड वा डिबेन्चरमा लगानी गर्ने गरी निष्कासन गरिएको धितोपत्रको कारोबार विदेशी नागरिकता प्राप्त वा कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमतिपत्र प्राप्त गैर आवासीय नेपालीबीच मात्र हुनेछ’ भन्ने उल्लेख छ ।


क्लिकमान्डु