बढ्यो तल्लो अरुण जलविद्युत परियोजनाको क्षमता, डिजाइनमा पनि परिवर्तन



काठमाडौं । तल्लो अरुण जलविद्युत आयोजनामा विभिन्न परिवर्तन हुँदा विद्युतीय क्षमता र लागत पनि वृद्धि भएको छ ।

आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनको पुरक प्रतिवेदनअनुसार आयोजनाको जडित क्षमता ४७४.२५ मेगावाटबाट बढाएर ६६९ मेगावाट हुने गरी डिजाइनलगायतमा परिवर्तन भएको छ ।

एसएलपीडीसी प्रालिले निर्माणको प्रस्ताव गरेको परियोजनाको ईआईए सन् २०२२ मा स्वीकृत भएको थियो । सोही प्रतिवेदनको पुरक प्रतिवेदनअनुसार आयोजनामा विभिन्न परिवर्तन हुने भएका छन् ।

आयोजनामा यसअघि ५५ मिटर अग्लो बाँधसहितको इन्टेक रहेकोमा हाल त्यसलाई हटाउन प्रस्ताव गरिएको प्रतिवेदनमा उल्लेख छ । विद्युत गृहलाई भूमिगतबाट सतही बनाउन तथा सुरुङको अडिट संख्या २ वटाबाट ६ वटा पुर्‍याउन प्रस्ताव गरिएको छ । सुरुङको लम्बाई पनि १२.४ किमिबाट १७.४ किमि पुगेको छ ।

आयोजनामा विभिन्न परिवर्तन गर्दा प्रभावित हुने घरधुरीको संख्या २०७ बाट ४४४ पुगेको छ । डाइभर्सन निर्माण गर्नु नपर्ने र माछालाई असर नपर्ने किसिमले आयोजनाको रिडिजाइन प्रस्ताव गरिएको छ ।

जलविद्युत आयोजनाको डिजाइन र अवयवमा परिवर्तन गर्दा जग्गाको क्षेत्रफल र कटान गर्नुपर्ने रुखको संख्यालगायतमा पनि परिवर्तन भएको छ ।

यसअघिको डिजाइनअनुसार आयोजना निर्माण गर्दा ७ वर्षको अवधि र ९२ अर्ब १२ करोड ५ लाख रुपैयाँ लाग्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

डिजाइनमा परिवर्तनसहित निर्माण गर्दा ९२ अर्ब ६७ करोड ७९ लाख रुपैयाँ पुगेको छ । जलविद्युत आयोजना निर्माण सुरु भएको ५ वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित प्रस्ताव गरिएको छ ।


रवि धिताल