बहालवाला महानिर्देशकले दावालाई सुन आएको तस्बिर पठाए, समाचार लुकाउन पत्रकारको संलग्नता: लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका सांसद रवि लामिछानेले ६० किलो सुन तस्करी प्रकरणमा संलग्न बिचौलियाको सूचना आफूसँग रहेको दाबी गरेका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा लामिछानेले सुन तस्करीसँग जोडिएको विषयमा आफूसँग सूचना रहेको र अनुसन्धान गर्ने निकायलाई उपलब्ध गराउने बताए ।

साउन २ गते पक्राउ परेको तस्करीको सुनबारे नेपाल सरकारका बहालवाला महानिर्देशकले नै अहिले सोही आरोपमा पक्राउ परेका दावा छिरिङ लामालाई दिएको उनको दाबी गरेका छन् ।

‘साउन २ गते जुन सनु बरामद भयो । उक्त सुनको तस्बिर नेपाल सरकारकै बहालवाला महानिर्देशकले अहिले समातिएका दावालाईसमेत पठाएको सूचना प्रहरीबाट आएको छ । यसमा संलग्न बिचौलियाको जानकारी पनि मसँग छ’ लामिछानेले भने ।

तस्करीको सुनबारेको समाचार लुकाउन पत्रकारको समेत संलग्नता रहेको उनको आरोप छ । ‘सुन आएको समाचार लुकाउन लामो समयदेखि पत्रकारिता गरिरहेका पत्रकारहरुको पनि संलग्नता छ। पूर्वप्रहरी अधिकारीसँग पनि दावाको कुरा भएको सूचना छ,’ लामिछानेले भने ।


क्लिकमान्डु