पाँच वर्षमा मुद्दती निक्षेपमा पैसा राख्ने क्रम २७ प्रतिशतले बढ्यो



काठमाडौं । मानिसले आफूसँग भएको पैसा बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा राख्ने क्रम बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको बचतमा भन्दा मुद्दती निक्षेपमा पैसा राख्नेको संख्या बढी छ ।

राष्ट्र बैंकका अनुसार चल्ती, बचत तथा अन्य खालको तुलनामा मुद्दती निक्षेपमा पैसा राख्ने क्रम बढेको छ ।

विगत ५ वर्षको तथ्यांक हेर्दा बैंकको मुद्दती निक्षेपमा पैसा राख्ने क्रम २७.२१ प्रतिशतले बढेको छ । अन्य बचत भने घट्दो क्रममा छ ।

२०७६ असार मसान्तमा बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपको अंश ४६.३ प्रतिशत थियो । २०८० असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेपको अंश २७.२१ प्रतिशतले बढेर ५८.९ प्रतिशत पुगेको छ ।

यस्तै २०७७ असार मसान्तमा बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेप ४८.६ प्रतिशत थियो । २०७८ असार मसान्तमा यो क्रम केही घट्यो । २०७८ असार मसान्तमा भने ४७ प्रतिशत मात्रै थियो । २०७९ असार मसान्तमा मुद्दती निक्षेपमा पैसा राख्ने क्रम ह्वात्तै बढ्यो ।

२०७९ असार मसान्तमा बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपको अंश ५५.८ प्रतिशत थियो । २०८० असार मसान्तमा बढेर ५८.९ प्रतिशत पुगेको छ ।

मुद्दती निक्षेपमा पैसा राख्ने क्रम बढेसँगै बचतमा राख्ने पैसाको अंश भने घट्दै गएको छ । ५ वर्षको अवधिमा बचतमा पैसा राख्ने क्रम २१.३० प्रतिशतले घटेको छ ।

२०७६ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुमा बचतको अंश ३२.८ प्रतिशत थियो । २०८० असार मसान्तमा २१.३० प्रतिशतले घटेर २६.६ प्रतिशत रहेको छ । २०७६ असार मसान्तमा ३२.८ प्रतिशत रहेको बचतको अंश २०७७ असार मसान्तमा घटेर ३१.९ प्रतिशत थियो । तर, २०७८ मा भने यो क्रम बढेर ३४.२ प्रतिशत पुग्यो ।

२०७९ असार मसान्तमा भने पुनः १९.२९ प्रतिशतले घटेर २७.६ प्रतिशत रहेको थियो । २०७९ असार मसान्तको तुलनामा २०८० असार मसान्तमा बचतको अंश ३.६२ प्रतिशतले घटेर २६.६ प्रतिशतमा सीमित भएको छ ।

५ वर्षको अवधिमा चल्ती खाताको अंश २०.६१ प्रतिशतले घटेर ७.७ प्रतिशत रहेको छ । २०७६ मा चल्ती खाताको अंश ९.७ प्रतिशत थियो । २०७७ र २०७८ मा क्रमशः बढेर १० र १०.४ प्रतिशत रहेको चल्ती खाताको हिस्सा २०७९ मा भनेर घटेर ८.९ प्रतिशत रहेको थियो ।

यस्तै अन्य खालको बचत पनि ५ वर्षको अवधिमा ३९.२८ प्रतिशतले घटेर ६.८ प्रतिशत रहेको छ । २०७६ मा ११.२ प्रतिशत रहेको थियो । अन्य खालको बचत २०७६ यता हरेक वर्ष घट्दै गएको छ । २०७७ मा ९.५ प्रतिशत, २०७८ मा ८.४ प्रतिशत र २०७९ मा ७.७ प्रतिशत रहेको थियो ।

पछिल्लो वर्ष बैंकले ब्याजदरमा देखिएको उतार चढाबको प्रत्यक्ष प्रभाव मुद्दती निक्षेपमा देखिएको छ । बचतमाभन्दा बढी ब्याज मुद्दती निक्षेपमा पाइन्छ । बचत र मुद्दती निक्षेपको ब्याज अन्तर ५ प्रतिशत रहेको छ ।

बैंकिङ प्रणालीमा निक्षेप अभाव भएपछि बैंकहरुले धमाधम ब्याज बढाए । ब्याज बढाएपछि निक्षेपमा बढी ब्याज पाइने भएपछि निक्षेपकर्ताको आकर्षण बढ्यो । पछिल्लो केही समय यता बैंकिङ प्रणालीमा कर्जा प्रवाह नभएर तरलता बढ्दा मुद्दती निक्षेपको ब्याज केही घटेको छ । तै पनि बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपको अंश घटेको छैन ।

अहिले छोटो समयका लागि मुद्दती निक्षेपमा पैसा राख्न चाहनेको पनि संख्या पनि बढ्दै गएको बैंकर्सहरुको भनाइ छ । बैंकले ३ महिना, ६ महिना, १ वर्ष वा सोभन्दा बढी अवधिकाका लागि निक्षेपमा पैसा राख्दा ब्याजदर उस्तै-उस्तै पाउने भएपछि लामो धेरै समयका लागि भन्दा पनि छोटो समयका लागि निक्षेपमा राख्ने क्रम बढेको बताइन्छ ।

ब्याजदर बढेपछि बैंकमा मुद्दती निक्षेप बढेको छ । अहिले पनि कतिपय बैंकहरुले ३ महिना, ६ महिना, १ वर्ष वा सोभन्दा बढी अवधिको मुद्दती निक्षेप दिने ब्याजदर करिब–करिब उस्तै उस्तै दिने गरेका छन् । तीन महिनादेखि बढी अवधिका लागि मुद्दतीमा पैसा राखेर ब्याज पाउन सकिन्छ ।

अहिले बैंकहरुले मोबाइल एपबाटै आफुसँग भएको पैसा मुद्दती निक्षेप राख्न सक्ने व्यवस्था गरेका छन् । त्यसको प्रभाव पनि निक्षेपमा बढेको बताइन्छ । आफुसँग भएको थोरै पैसा केही समयमा लागि मुद्दती निक्षेपमा राख्नु परेका बैंकसँग पुग्न नपर्ने, मोबाइल एपबाट नै सम्भव भएकाले मुद्दती निक्षेपमा पैसा राख्ने क्रम बढेको छ ।


रवि धिताल