तस्बिरमा हेर्नुस् सिजी धाममा बागेश्वर सरकारको प्रबचन सुन्नेको भीड



चितवन । देशकै ठूलो व्यावसायिक घराना ‘चौधरी ग्रुप’का प्रबन्ध निर्देशक बरुण चौधरीको निमन्त्रणामा नेपाल आएका बहुचर्चित गुरु धीरेन्द्रकृष्ण शास्त्री ‘बागेश्वर सरकार’ को हनुमान प्रवचन सुन्न हजारौंको भीड लागेको छ ।

नवलपरासीस्थित चौधरी समूहले निर्माण गरेको ‘सिजी धाम’मा शनिबारदेखि बागेश्वर सरकारको हनुमान प्रबचन चलिरहेको छ । शनिबार र आइतबार उनको प्रबचन सुन्न हजारौंको संख्यामा सिजी धाम परिसरमा भीड लागेको छ ।

पाण्डालभित्र प्रवेश सम्भव नभएकाहरूलाई बाहिरबाट सुन्न सकिने व्यवस्थासमेत मिलाइएको छ । प्रबचन सुन्न आउनेहरुको भीडले पूर्व–पश्चिम राजमार्गको सिजी धाम परिसरको ट्राफिक व्यवस्थापन पनि निकै सकसपूर्ण छ ।

शनिबार काठमाडौं आएका बागेश्वर सरकारलाई लिएर नेपाली कांग्रेसका केन्द्रिय सदस्यसमेत रहेका सांसद विनोद चौधरी, उनकी श्रीमति सारिका चौधरी शनिबार नै चितवन पुगेका थिए । शनिबारदेखि शुरु भएको प्रबचन ३ दिनसम्म चल्नेछ ।

देशभरबाट लाखौंको संख्यामा प्रबचन सुन्न आउनेहरुको भीड रहेको प्रत्यक्षदर्शीहरु बताउँछन् ।

ललितपुरको टिकाभैरबबाट शास्त्रीको प्रबचन सुन्न सिजी धाम पुगेका कृष्णप्रसाद तिम्सिनाले आफूले यतिधेरै भीड होला भनेर अनुमानसमेत नगरेको बताए ।

‘बागेश्वर सरकारसँग नजर जुधाउने अबसर पाइन्छ कि भनेर शनिबारै यहाँ आएको थिएँ, तर अत्याधिक ठूलो भीडका कारण त्यो संभव भएन,’ तिम्सिनाले क्लिकमान्डुसँग भने, ‘नेपालमा उहाँको क्रेज यतिधेरै छ भनेर मैले अनुमानसमेत गरेको थिइँन ।’

नेपालीमात्रै नभएर भारतका विभिन्न प्रदेशबाटसमेत प्रबचन सुन्नेहरुको भीड लागेको तिम्सीनाले बताए ।

‘यतिखेर सिजी धाम परिसरमा लाखौंको संख्यामा प्रबचन सुन्नेहरुको भीड छ,’ उनले भने ।

यो प्रबचन कार्यक्रमले नवलपरासीको धार्मिक पर्यटन विकासमा ठूलो टेवा पुर्याउने स्थानीहरु बताउँछन् ।

‘आफ्नो देशमा यति ठूलो कार्यक्रम हुनु गौरवको कुरा हो, बागेश्वर सरकारलाई नेपाल ल्याउने चौधरी ग्रुपलाई विशेष धन्यवाद,’ स्थानीय सन्तोष पौडेलले भने, ‘नवलपरासीको इतिहासमा एकैपटक सबैभन्दा धेरै मानिस जम्मा भएको क्षण हो ।’

बागेश्वर सरकारको प्रबचनको समाचार संकलन गर्न भारतीय सञ्चालमाध्यमहरुको पनि बाक्लो उपस्थिति छ । उल्लासमय वातावरणमा धार्मिक पर्यटनको मेला लागेको छ । कडा र व्यवस्थित सुरक्षाको प्रतिबन्ध गरिएको आयोजकले जनाएको छ ।
प्रत्यक्ष उपस्थित हुन नसक्नेका लागि सामाजिक सञ्जाल र डिजिटल डिस्प्लेमार्फत कथा सुन्ने व्यवस्था मिलाइएको छ ।


क्लिकमान्डु