उपप्राध्यापक डा. रविन्द्र श्रेष्ठले गरे खारेज भएको प्राध्यापक पदको दुरुपयोग



काठमाडौं । गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरका उपप्राध्यापक डा. रविन्द्रप्रसाद श्रेष्ठले खारेज भएको प्राध्यापक पदको दुरुपयोग गर्दै काम कारबाही गरेको भेटिएको छ । उपप्राध्यापक एवं अर्थोपेडिक डाक्टर श्रेष्ठले चिकित्सा शास्त्र अध्ययन संस्थानको लापर्बाहीबाट प्राप्त प्राध्यापक पद खारेज भइसक्दा पनि दुरुपयोग गरिरहेको पाइएको हो ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र अमृतबहादुर बस्नेतको संयुक्त इजलासबाट २०८० जेठ ४ गते प्राध्यापक पद खारेजीका विरुद्ध परेको रिट निवेदन खारेज भए पनि डा. श्रेष्ठले गण्डकी मेडिकल कलेजको प्राचार्यको हैसियतमा लगातार सोही पदको दुरुपयोग गरिरहेका छन् ।

कलेजले ‘स्नातकोत्तर तहका विद्यार्थीलाई क्लिनिकल अभ्यास गराउने’सम्बन्धी पत्रमा साउन १२ गते प्राचार्य श्रेष्ठले प्राध्यापकको हैसियतमा हस्ताक्षर गरेका छन् । श्रेष्ठले चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगन्जलाई ३ जना विद्यार्थीको एनेस्थेसियाको क्लिनिकल अभ्यासका लागि लेखेको पत्रमा प्राध्यापक पद उल्लेख गरेका छन् ।

गण्डकी मेडिकल कलेजका अर्थोपेडिक डा. श्रेष्ठ र एनेस्थेसिया डा. टुलमाया घलेलाई तत्कालीन डिन प्राध्यापक डा. राकेशकुमार श्रीवास्तवले २०७१ साउन ४ गते उपप्राध्यापक पदबाट सिधै प्राध्यापक पदमा बढुवा गरिदिएका थिए ।

जबकि, त्रिभुवन विश्वविद्यालय शिक्षक नियुक्तिका आधार कार्यसम्पादन मूल्यांकन तथा कार्यक्षमता अंक विभाजन तथा सिफारिससम्बन्धी प्रक्रिया २०५२ को दफा १ अनुसार प्राध्यापक हुनका लागि सम्बन्धित विषयमा एमडी, एमएस, एमएस्सी, एफआरसीएस या चिकित्साशास्त्र विषयको ब्याचलर डिग्री प्राप्त गरी उत्तीणर् गरेको एमपीएच डिग्री वा सो सरहमा मास्टर डिग्री प्राप्त तथा सह-प्राध्यापक तहमा क्याम्पस या महाविद्यालयमा कम्तीमा ५ वर्ष पढाएको अनुभव हुनुपर्छ ।

तर, श्रेष्ठले २०७० जेठ १ गते तथा घलेले २०७० वैशाख ३० गते उपप्राध्यापकको नियुक्ति पाएका थिए ।

डा. श्रेष्ठ र घलेको बढुवाका विषयमा प्रश्न उठेपछि चिकित्सा शास्त्र अध्ययन संस्थान डिनको कार्यालयले २०७९ भदौ २२ गते दुवैको प्राध्यापक पद खारेज गरी उपप्राध्यापक कायम गरेको थियो ।


रवि धिताल