नेपाल बैंकको आधार दरमा २४ प्रतिशतको वृद्धि, १२ वटा बैंकको १० प्रतिशतभन्दा धेरै, कुनको कति ?



काठमाडौं । बितेको एक वर्षमा सबैभन्दा धेरै नेपाल बैंकले आधार दर बढाएको छ । नेपाल बैंकको आधार दर २०७९ असारको तुलनामा २०८० असारमा २४ प्रतिशतले बढेर ७.९९ प्रतिशतबाट ९.९२ प्रतिशत पुगेको हो ।

बैंकहरुले कर्जा प्रवाह गर्दा आधार दरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप्ने गर्छन् । नेपाल बैंकको आधारदर २४ प्रतिशतले बढ्दा ऋणीलाई ब्याजको भार पनि सोही अनुसार नै बढेको छ ।

वाणिज्य बैंकहरुले जारी गरेको गत वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार १२ वटा बैंकको आधार दर १० प्रतिशतभन्दा माथि छ । ती मध्ये कुमारी बैंकको आधारदर सर्वाधिक १०.९ प्रतिशत छ । दोस्रोमा हिमालयन बैंकको १०.८६ छ ।

त्यस्तै, लक्ष्मी बैंकको १०.७५, माछापुच्छ्रे र एबीआईको समान १०.७४, प्राइम कमर्सियल बैंकको १०.५७, सिटिजन्स बैंकको १०.५१, एमएमबीको १०.३७, ग्लोबल आईएमईको १०.२, प्रभुको १०.१६, सानिमाको १०.१५ र कृषि विकास बैंकको १०.०६ प्रतिशत आधार दर छ ।

वित्तीय विवरणअनुसार ८ वटा बैंकको आधार दर १० प्रतिशतभन्दा कम छ । एनआईसी एसियाको ९.९८, नेपाल बैंकको ९.९२, सिद्धार्थ बैंकको ९.९१, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ९.५७, नबिल बैंकको ९.५२, एभरेस्ट बैंकको ९.४७, स्ट्यान्डर्ड चार्टडको ९.०२ र राष्ट्रिय वाणिज्य बैंकको ब्याजदर ८.०२ प्रतिशत छ ।

२०७९ असारको तुलनामा सबै बैंकको आधार दर बढेको छ । सबैभन्दा धेरै आधार दर नेपाल बैंकको बढ्दा स्ट्यान्डर्ड चार्टर्डको सबैभन्दा कम २ प्रतिशत बढेको छ । अर्को सरकारी कृषि विकास बैंकको पनि १३ प्रतिशतले आधार दर बढेको छ भने एसबीआई र नेपाल इन्भेष्टमेन्ट मेगाको समान १२ प्रतिशतले बढेको छ ।

२०७९ चैतको तुलनामा असारमा सबै बैंकको आधार दर घटेको छ । चैतमा वाणिज्य बैंकहरुको औसत आधार दर १०.५३ प्रतिशत रहेकोमा असारमा १०.०७ प्रतिशतमा झरेको छ । २०७९ असारमा भने बैंकहरुको औसत आधार दर ९.२९ प्रतिशत थियो ।


रवि धिताल