वर्ल्डलिंकले एकै वर्ष गर्‍यो साढे ९ अर्बको व्यापार



काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशनले एकै वर्ष साढे ९ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा ९ अर्ब ३९ करोड १० लाख रुपैयाँको व्यापार गरेको हो ।

सन् २०२० मा ६ अर्ब ५४ करोड ५० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले २०२१ मा ७ अर्ब ९५ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् १९९६ बाट निरन्तर इन्टनेट सेवा दिँदै आएको कम्पनी नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी हो । कम्पनीले ‘वर्ल्डलिंक’ ब्रान्डमा सेवा दिँदै आएको छ ।

कम्पनीअनुसार सन् २०२१ को तुलनामा सन् २०२२ मा ब्यापार १८.०७ प्रतिशतले बढेको छ । बजारमा इन्टरनेटको माग उच्च भई ग्राहक बढ्दा व्यापारमा उछाल आएको हो ।

सन् २०२२ मा ९ हजार ३९१ जना थप ग्राहक बनाएको कम्पनीले जनाएको छ । उक्त संख्या भनेको २९ प्रतिशतले वृद्धि हो । कम्पनीले सन् २०२२ मा ५.१० प्रतिशतले खुद नाफा कमाएको छ । सन् २०२१ मा ११.५२ प्रतिशत खुद नाफा कमाएको थियो ।

त्यस्तै, सन् २०२३ को ९ महिनाको अवधिमै ८ अर्ब २१ करोड रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले सन् २०२२ को सोही अवधिमा ६ अर्ब २७ करोड ४० लाख रुपैयाँ मात्रै आम्दानी गरेको थियो ।

वर्ल्डलिंको देशभर ६ लाख ६० हजार २०२ जना ग्राहक रहेको कम्पनीले जनाएको छ । दिलिप अग्रवाल अध्यक्ष रहेको कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ५ अर्ब १९ करोड १५ लाख रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीअनुसार दीर्घकालीन कर्जाका लागि २ अर्ब १८ करोड १५ लाख रुपैयाँ अर्थात् सिंगल ए र अल्पकालीन कर्जाका लागि ३ अर्ब १ करोड रुपैयाँ अर्थात् एटु प्लसको रेटिङ गराएको छ ।

कम्पनीमा ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टले १ अर्ब ८ करोड रुपैयाँ लगानी गरेको छ । त्यसैगरी कम्पनीमा डोल्मा इम्प्याक्ट फन्डले ९० करोड लगानी गरेको छ । कम्पनीअनुसार उक्त दुई कम्पनीले विदेशी लगानी भित्र्याएसँगै विदेशी कम्पनीको इक्वीटी इन्फ्यूजन ३ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ ।

कम्पनीले विदेशी लगानी भित्र्याएको रकम पूर्वाधार निर्माणमा खर्च हुने उल्लेख गरेको छ । सीडीसीले विश्वभर १५ सयभन्दा बढी आर्थिक क्षेत्रमा ८ अर्ब पाउन्ड लगानी गरिसकेको छ ।

डोल्मा इम्प्याक्ट फण्ड संस्थागत लगानीकर्ता हो । फण्डले नेपालमा उद्यमशीलता र व्यवस्थापन क्षमता भएका साना तथा मझौला उद्यमलाई उपलब्ध गराउने नेपालको पहिलो कमर्सियल इम्प्याक्ट फण्ड बनेको छ ।

वर्ल्डलिंकले नेपाली बजारको इन्टरनेट सेवाको २९ प्रतिशत हिस्सा ओगटेको छ । सन् २०२३ को अप्रिलसम्ममा ७ लाख ७२ हजार सब्स्क्राइबर पुगेका छन् । वर्ल्डलिंकले नेपालको ४० प्रतिशत हिस्सा इन्टरनेट ब्यान्डविथ ओगटेको छ । त्यस्तै, वर्ल्डलिंकले ७० भन्दाभन्दा बढी जिल्लामा र १० हजार बढी अफिस तथा अर्गनाइजेशनमा सेवा पुर्याएका छन् ।

वर्ल्डलिंकको देशभर ८८ वटा शाखा छ । त्यसैगरी सन् २०२३ मा १५० वटा नयाँ स्थानमा नेटवर्क पूर्वाधार निर्माण गरेका छन् भने आगामी वर्ष थप पूर्वाधार निर्माण गर्न योजना बनाएको छ ।

अहिले देशभर इन्टरनेट प्रयोगकर्ता २६ लाख ७१ हजार ४७१ पुगेका छन् । त्यसमध्ये फाइबर सेग्मेन्टमा मात्रै ३० प्रतिशत बजार हिस्सा ओगटेको छ ।

कम्पनीकाअनुसार सन् २०२२ मा प्रति युनिट औसत आम्दानी घटेको उल्लेख छ । वर्ल्डलिंकले सन् २०२२ मा आइएसी सेवामार्फत् ४२ प्रतिशत आम्दानी रिटेल ग्राहकबाट र ७ प्रतिशत कर्पोरेट ग्राहकबाट गरेको छ ।

नेपालको फाइबर कनेक्टीभीटीको पायोनियर बनेको वर्ल्डलिंक कम्पनी स्याटालाइट जडान गर्ने पहिलो निजी कम्पनी हो । त्यस्तै, आफ्नै वायरलेस ट्रङ्क नेटवर्क रहेको पहिलो कम्पनी पनि हो ।

वर्ल्डलिंकले धेरै अनुसन्धान गरेर सन् २०१२ मा फाइबर टु द होम (एफटीटीएच) सेवाको सुरुवात गरेको थियो । सन् २०१८ मा फिनिस मल्टीनेशनल आइटी इफ्रास्ट्रक्चर फम नोकियासँग सहकार्य गरेर एफटीटीएच सेवाको विस्तार गरी १० लाख नेपाली घरलाई सेवा प्रदा गरेको थियो । अहिले उक्त फाइबर नेटवर्कको सेवा देशभर १३ हजार ६४६ किलोमिटरमा जडान भएको छ ।

इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको नेपालमा उच्च प्रतिस्पर्धा छ । जसले गर्दा वर्ल्डलिंकले आफ्नो बजार हिस्सा गुमाउँदै गएको देखिन्छ ।

कम्पनीले सन् २०२० मा ३४ प्रतिशत बजार हिस्सा ओगटेको थियो भने सन् २०२३ को ९ महिनामा घटेर २९ प्रतिशतमा झरेको छ । त्यसोत सन् २०२० देखि २०२३ सम्ममा ७४ प्रतिशतले सब्स्क्राइबर बढेको कम्पनीले जनाएको छ ।

अहिले आइएसपीको मूल्य निरन्तर बढ्दै गएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले १० प्रतिशत इन्टरनेट सब्स्क्रिब्सनसहित १३ प्रतिशत भ्याटको व्यवस्था गरेको छ । जसले गर्दा उपभेक्ताले महंगो दरमा सेवा लिनुपर्ने बाध्यता रहेको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु