एकैवर्ष ७ लाख ७१ हजार नेपाली रोजगारीको खोजीमा बिदेसिए



काठमाडौं । वैदेशिक रोजगारीको खोजीमा एकै वर्ष ७ लाख ७१ हजार ३२७ जना नेपाली युवा बिदेसिएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा ७ लाख ७१ हजार नेपाली वैदेशिक रोजगारीको खोजीमा बिदेसिएका छन् ।

गत आर्थिक वर्षमा ७ लाख ७१ हजार बिदेसिँदा ६ लाख ९९ हजार १९३ जना पुरुष र ७२ हजार १३४ जना महिला बिदेसिएका छन् । सो अवधिमा ४ लाख ९४ हजार २२४ जना नयाँ श्रम स्वीकृति लिएर बिदेसिएका छन् भने २ लाख ७७ हजार १०३ जना पुनः श्रम स्वीकृति लिएका बिदेसिएका छन् ।

नेपालबाट आर्थिक वर्ष २०७४/७५ मा नेपालबाट ६ लाख १२ हजार ६८५, आव २०७५/७६ मा ५ लाख ८ हजार ८२८, आव २०७६/७७ मा ३ लाख ६८ हजार ४३३, आव २०७७/७८ मा १ लाख ६६ हजार ६९८ र आव २०७८/७९ मा ६ लाख २८ हजार ५०३ नेपाली कामका लागि बिदेसिएका थिए । 

चालु आर्थिक वर्षको सुरुदेखि नै वैदेशिक रोजगारीमा जानेको संख्या बढेको सरकारी तथ्यांक छ । गत साउनमा नेपालबाट ६३ हजार ३९, भदौमा ७६ हजार ४०३, असोजमा ६२ हजार ७०६, कात्तिकमा ७८ हजार ३७० र मंसिरमा ६८ हजार ५६४ जना बिदेसिएका थिए ।

त्यसैगरी, पुसमा ६५ हजार ४६४, माघमा ६४ हजार २८४, फागुनमा ६१ हजार ८४५, चैतमा ६१ हजार ४७८, वैशाखमा ५४ हजार ४५७, जेठमा ५९ हजार ४२२ र असारमा ५५ हजार २९९ नेपाली बिदेसिएका छन् ।

मलेसियामा मात्रै साढे २ लाख

गत आर्थिक वर्ष करिब ८ लाख मानिस बिदेसिँदा नेपालीहरुको मुख्य गन्तव्य मलेसिया बनेको छ । मलेसियामा मात्रै २ लाख ५९ हजार ५९४ जना रोजगारीको खोजीमा पुगेका छन् ।

त्यसमा २ लाख ५२ हजार २९५ जना पुरुष र ७ हजार २९९ जना महिला मलेसिया पुगेका छन् । सो अवधिमा २ लाख १९ हजार ३५७ जनाले नयाँ श्रम स्वीकृति र ४० हजार २३७ जनाले पुनः श्रम स्वीकृति लिएर बिदेसिएका छन् ।

मलेसियापछि कतार १ लाख ३३ हजार २६२ जना, यूएई १ लाख १६ हजार १५९ जना र साउदी अरब १ लाख १२ हजार ७७७ जना पुगेका छन् । त्यसैगरी, कुवेत ४३ हजार ५०७, बहराइन ७ हजार ६९०, क्रोएसिया ७ हजार ४४१, साइप्रस ५ हजार ३१७, जापानमा ९ हजार ६४४, जोर्डन १ हजार १९, इजरायल १ हजार ८४, माल्दिभ्स ४ हजार ८६५, माल्टा ६ हजार ३०३,  ओमन ५ हजार २९४ र ५ हजार ११२ जना पोल्यान्ड पुगेका छन् ।

गत वर्षमा बिदेसिएकामध्ये २ लाख २ हजार ६१६ जना अदक्ष युवा छन् । त्यसबाहेक ५ लाख ६ हजार ७४६ दक्ष कामदार बिदेसिएका छन् । त्यसैगरी, अर्धदक्ष ६० हजार ५५५ जना, प्रोफेसनल ११ सय ५३ जना र हाइ स्किल्ड २५७ जना नेपाली युवा बिदेसिएका छन् ।

रमिट्यान्स आप्रवाहमा नयाँ रेकर्ड

वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै विप्रेषण आप्रवाह बढेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । चालु आर्थिक वर्षको ११ महिनामा रेमिट्यान्स आप्रवाहमा नयाँ रेकर्ड कायम भएको छ । राष्ट्र बैंकका अनुसार ११ महिनाको अवधिमा ११ खर्ब १२ अर्ब ५२ करोड रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको छ ।

पाँच वर्षको तथ्यांक हेर्दा रेमिट्यान्स आप्रवाहमा हरेक वर्ष रेकर्ड कायम हुँदै आएको छ । नेपालमा आव २०७४/७५ मा ७ खर्ब ७६ अर्ब रुपैयाँ, आव २०७५/७६ मा ८ खर्ब ७९ करोड रुपैयाँ र आव २०७६/७७ मा ८ खर्ब ७५ अर्ब रेमिट्यान्स आप्रवाह भएको थियो ।

त्यस्तै, आव २०७७/७८ मा ९ खर्ब ६१ अर्ब रुपैयाँ र आव २०७८/७९ मा १० खर्ब ७ अर्ब रेमिट्यान्स आप्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।

गत साउनमा रोजगारीमा रहेका नेपालीले ९२ अर्ब २१ करोड रेमिट्यान्स पठाएका थिए । राष्ट्रको बैंकको तथ्यांकअनुसार भदौमा ९४ अर्ब ८३ करोड, असोजमा ९४ अर्ब १ करोड, कात्तिकमा ९६ अर्ब ९९ करोड र मंसिरमा १ खर्ब २ अर्ब ६६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

त्यसैगरी, पुसमा १ खर्ब ४ अर्ब ३८ करोड, माघमा १ खर्ब ४ अर्ब ८० करोड, फागुनमा १ खर्ब ४ अर्ब ४४ करोड, चैतमा १ खर्ब ९ अर्ब ७ करोड, वैशाखमा १ खर्ब १ अर्ब ७९ करोड र जेठमा १ खर्ब ७ अर्ब ३४ करोड रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको छ ।


क्लिकमान्डु